गाउन जान्दिनस् भनेर माइक खोसियो

बिहिबार, ०६ मङि्सर २०७५, ०६ : ५७ शुक्रवार
गाउन जान्दिनस् भनेर माइक खोसियो

ढाडे बिरालो, साँढे गोरु, चोर बिरालो पल्क्यो , मच्चायो धमाका, कनाइ देउन वाई जस्ता गीत गाएर चर्चामा आएकी श्रीदेवी देवकोटाले दोहोरीसाँझमा गाउँदाको अनुभव शुक्रवारकर्मी भोला अधिकारीसँग यसरी साटेकी छन् ।   

गायिका बन्न दोहोरीसाँझमा गाएँ । 

पढाइको साथै मेरो गायिका बन्ने इच्छा भएकोले केही समय भोकल सिकेँ । गायिका बन्न त्यति सजिलो थिएन । भोकल सिक्नका लागि मैले रकम खर्च गर्नैपर्ने थियो । काठमाडौंमा आफूलाई टिक्नु पनि थियो । एकजना दिदी दोहोरीसाँझमा गाउनुहुन्थ्यो । त्यसैले उहाँलाई मैले दोहोरी साँझमा गाउँछु नि भनेर अनुरोध गरँे । उहाँले तिमी गाउन सक्छौ त ? सवालको जवाफ फर्काउन जान्नुपर्छ भन्नुभयो ।  मैले सक्छु भनेँ । उहाँले दोहोरीका सञ्चालकहरुसँग भनेर मलाई काम  मिलाइ दिनुभयो ।  पहिलोपटक स्टेजमा चढेर गीत गाउन निकै अप्ठ्यारो लाग्यो । त्यो बेलामा कता कता डर पनि लागेको थियो ।

गाउन जान्दिनस् भनेर माइक खोसियो

जसले  मलाई दोहोरीसाँझमा लगिन् उनले स्टेजमै यस्ताले पनि गीत गाउँछन् भनेर माइक खोसिन् । मलाई स्टेजमा मान्छेको अगाडि मुख देखाउन कस्तो लाज लाग्यो । त्यो मेरा लागि पहिलो तीतो भोगाइ भयो । मनमनै भनेँ, हेर ! तेरो अगाडि तँ भन्दा जान्ने बनेर देखाउँछु म एक दिन, तर मुखले केही भनिन चुप लागेर बसँे । जसले मलाई त्यहाँ लग्यो उसैले यस्तो व्यवहार ग¥यो । मलाई साह्रै रुन मन लाग्यो र भित्रभित्रै मन रोयो । 

मैले सोचेँ अब यसको अगाडि गरेरै देखाउँछु भन्ने मनमा ईख लिएर दोहोरीसाँझबाट राति १२ बजेपछि घरमा आएँ ।  सबैजना सुतिसकेका थिए । घरमा पुगेर ओछ्यानमा ढल्किएँ तर निद्रै लागेन । त्यो  रात मेरो  सोचाइमै उज्यालो भयो  । घरमा एक्लै बस्दा आफैँ गाउने आफँै फर्काउने गर्न थालेँ अनि बेलुका दोहोरी साँझमा जान्थँे किनभने खर्च पनि त जोहो गर्नु थियो । 
 
प्रत्यक्ष सवालजवाफमा आधारित  दोहोरीसाँझ मजस्तै लोक दोहोरी कलाकारका लागि ज्ञानको मन्दिर हो भन्ने लाग्यो । मैले दोहोरीसाँझमा गाउन छोडिनँ । यो ठाउँ भनेको  अनुभव बटुल्ने कर्मथलो हो । दोहोरीसाँझमा मेरो प्रस्तुतिलाई सबैले रुचाउन थाले  । बिस्तारै–बिस्तारै पाहुनाबाट मलाई गाउन अनुरोध आउन थाल्योे । म सानो पातलो शरीरको भएकोले अनुरोध पेपरमा पातलीले गाउने भनेर टेबुलका पाहुनाले लेखी पठाउँथे । हुन त गाउने अरु केटीहरु पनि थिए तर धेरैले मेरो गायनलाई मन पराउँथे ।  पहिलो  महिनामै मलाई ४ हजार  तलब दिइएको थियो ।  

ग्राहक नाचेको नाचै
दोहोरीसाँझमा धेरै प्रकारका ग्राहक आउँछन् । कोही आफैँ दोहोरी गाउँछन् । कोही आनन्दले सुनेर मस्तसँग वियर खादैँ बस्छन् । कतिपय त वियर पिएपछि गीत गाउँदा नि नाच्छन्, नगाउँदा नि नाच्छन् । रातभरि नाचेको नाचै गर्छन् । कोही मातेर टेबुलमै निद्रा पु¥याउने गर्थे । 

साथी साथीबीच झगडा 
दोहोरीसाँझमा सबै मान्छे राम्रो आउँछन् भन्ने छैन । कतिपय पिउने र झगडा गर्ने स्वभावका हुन्छन् । कोही कोही भने साथीसाथीबीच वादविवाद परेर एक आपसमा हानाहान गर्ने र एकपटक त झगडाले ठूलै रूप लिएको थियो । पछि प्रहरीलाई खबर गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाइएको थियो ।  दोहोरी साँझमा प्रायः परिवारसहित आउनेहरुबीच भने भगडा हुँदैनथ्यो । तर जो अर्कै नियत बोकेर आउनेहरुबीच झगडा हुने गथ्र्यो । दोहोरीसाँझमा गाउन आउनेहरुबीच पनि कहिलेकाहीँ मनमुटाव हुने गर्दथ्यो । यतिखेर आफू जोगिन निकै गाह्रो हुन्थ्यो । 

डान्सबार जाने रुट नै परेन

डान्सबार जान मन त लागेको थियो । राति दोहोरीसाँझबाट निस्कँदा एक्लै परिने । यसरी एक्लै जान डर लाग्ने के हो के हो डान्सबार कहिल्लै गएको छैन । डान्सबार पनि हाम्रो जस्तै त हो नि भन्ने लागेको छ । तर जाने मौका पाएकी छैन । त्यसैले दोहोरीबाहेक डान्सबारतिर गइएन  । यसमा जाने भन्ने एउटा रुट हुँदो रहेछ । हाम्रो रुट बढी दोहोरीतिरै पथ्र्यो । अहिले दोहोरी साँझमा कार्यरत नभए तापनि बेला–बेलामा परिवारसँग दोहोरीसाँझ गइरहेकी हुन्छु । व्यावसायिक हिसाबले जाने गरेकी  भने छैन । 

मैले दोहोरीसाँझमा भने गाउन छाडेकी हैन । अहिले आफ्नै व्यस्तताको कारणले समय दिन नपाएको मात्र हो । दोहोरी साँझमा गाएर नै स्थापित भएकी गायिका भएकाले दोहोरीप्रति आस्था छ ।


गाएर नै मास्टर डिग्री 
दोहोरीसाँझमा गाउदागाउदै पढाइमा मास्टर डिग्री सकाएकी छु । धेरै दुःख गरेँ मैले आफ्नो अध्ययनलाई रोकिन । मैले दोहोरीसाँझमा काम गर्दै पढ्नु चानचुने कुरा थिएन । रातभरि दोहोरीसाँझमा गाएको मान्छे । बिहान सबेरै कलेज जानु पर्ने । निद्रा नै पुग्दैनथ्यो । कहिलेकाहीँ कलेजमै निदाउँथेँ ।  


 

Leave A Comment