रुँदै गए रुनी

शुक्रबार, ०७ मङि्सर २०७५, ०४ : ११ शुक्रवार
रुँदै गए रुनी

इङ्ल्यान्डका चर्चित स्ट्राइकर वायने रुनीले रुँदै आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रा टुंग्याएका छन् । उनले आफ्नै देशको वेम्ब्ली स्टेडियमबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअर टुंग्याए । अमेरिकाविरुद्ध च्यारिटी म्याचमा उनी १० नम्बर जर्सी लगाएर जेजे लिङ्गार्डको स्थानमा उत्रिएका थिए । रुनीले सो प्रतियोगितामा इङ्ल्यान्डलाई ३–० ले जिताउँदै बिदा भए । 

आफ्नो बिदाइ म्याच सकिएपछि उनी रुँदै मैदानबाट बाहिरिएका थिए । बिदाइ म्याचका क्रममा प्रतिक्रिया दिँदै रुनीले विश्वकपको सेमिफाइनलसम्म पुगेको इङ्ल्यान्डका लागि युवा खेलाडीले अबको केही वर्षमा विश्वकप जिताउन सक्ने विश्वास व्यक्त गरेका थिए । 

अमेरिकाको डिसी युनाइटेडबाट व्यावसायिक फुटबल खेलिरहेका एभर्टन र म्यानचेस्टर युनाइटेडका ३३ वर्षीय पूर्वस्ट्राइकरले इङ्ल्यान्डका लागि १ सय २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ५३ गोल गर्दै इङ्ल्यान्डका लागि सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएका छन् । 

रुनीले यसअघि सन् २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । फुटबल एसोसिएसनले उनलाई अमेरिका विरुद्धको च्यारिटी म्याचमा बोलाएर गार्ड अफ अनर दिँदै बिदाइ गर्यो ।
 

Leave A Comment