निश्चलकाे घैंटोमा घाम लाग्यो रे !

शुक्रबार, ०७ मङि्सर २०७५, ०४ : ३० शुक्रवार
निश्चलकाे घैंटोमा घाम लाग्यो रे !

भनिरहनु नपर्ला, निश्चल बस्नेत दर्शकमाझ अभिनेताभन्दा पनि निर्देशकका रुपमा प्रिय भएका हुन् । ‘लुट’ निर्देशन गरेपछि उनी धेरैको नजरमा परे । ‘टलकजंग भर्सेस टुल्के’बाट पनि थोरबहुत तारिफ बटुले । तर दर्शकको अपेक्षा पूरा गर्न नसक्दा ‘लुट–२’बाट भने आलोचना खेपे । हालसालै आफू अभिनित ‘प्रसाद’ फिल्मको प्रेसमिटमा उनले ‘लुट–२’बाट आफ्नो घैँटोमा घाम लागेको प्रतिक्रिया दिए । अरुलाई भन्दा आफूलाई चित्त बुझेको चिज मात्रै लिएर आउने धारणा राखे ।

निर्देशनका मामिलामा त उनले आफ्नो कमजोरी ढिलै भए पनि स्वीकारे तर उनले खेपिरहेको अर्को आलोचना अभिनयबाट पनि छ । फिल्म निर्देशन छाडेर अभिनयमा पनि उनको बढ्ता नै झुकाव देखिन्छ । ‘कबड्डी कबड्डी’ गर्दैखेरी सौगात मल्लले उनलाई सुझाएका थिए रे, ‘निश्चल तिमी निर्देशन गर्ने हो, त्यसमै केन्द्रित हौँ । दायाँबायाँमा समय खेर नफाल ।’ त्यसो त उनको अभिनयलाई समीक्षकले तारिफ गरेको पनि पाइँदैन । उनले अभिनय गरेको ‘दुई रुपैयाँ’ले पनि सोचेजस्तो व्यापार गर्न सकेन । अभिनयका मामिलामा भने निश्चलको घैँटोमा घाम कहिले लाग्ने हो, कुन्नी ? 

 

 

विचरी सञ्चिता !
एउटा समय थियो, जतिबेला अभिनेत्री सञ्चिता लुइँटेललाई न फिल्मको कमी थियो, न दर्शकको । तर समय सधैँ आफूसँगै कहाँ हुँदो रैछ र ! नपत्याए, अहिले उनलाई हेरे पुग्छ । पछिल्लो समय न उनीसँग न पर्याप्त फिल्म छ, न भएका फिल्म हलमा चलिरहेका छन् । गत साता मात्रै उनी अभिनित फिल्म ‘गुनगुन’ हलमा लाग्यो । तर विडम्बना शुक्रबार लागेको फिल्म कतिपय हलबाट शुक्रबार नै ओर्लियो ।

काठमाडौंको अष्टनारायण हलले त विज्ञप्ति नै निकालेर शुक्रबार बिहानी सोमा दर्शक नपाएर सो बन्द गर्नुपरेको र ११ः३० बजेको सोमा १२ जना मात्रै दर्शक आएपछि फिल्म उतारेको जानकारी गरायो । जसरी ओरालो लागेको मृगलाई बाछाले समेत खेद्छ, त्यसैगरी ओरालो लागेको कलाकारलाई त दर्शकले समेत हेप्दारैछन् । विचरी सञ्चिता !

 

Leave A Comment