चिहानसँग बिहे

शुक्रबार, २१ मङि्सर २०७५, ०४ : ०९ शुक्रवार
चिहानसँग बिहे

जेसिकाको यो तस्बिर पहिलो पटक झट्ट हेर्दा अन्य सामान्य बिहेको एल्बम जस्तै देखिन्छ । यहाँ रोइरहेका बाबुआमा छन्, साथीभाइ छन्, खेलिरहेका बालबालिका देखिन्छन्, डराइरहेजस्ती दुलही देखिन्छिन् । दुलहीलाई बिहेका लागि मज्जैले सजाइएको छ । तर गहिरिएर हेर्ने हो भने एउटा कमी भने देखिन्छ । 

केन्डल मर्फी दुलाहा बन्नुपर्ने थियो तर नौ महिना पहिले नै उनको एउटा दुर्घटनामा मृत्यु भयो । यसपछि दुलही जेसिका एक्ली भइन् । गएको अक्टोबरमा जेसिका र केन्डल दुवैको बिहे गर्ने अघिल्लै वर्ष तय भइसकेको थियो तर अचानक केन्डलको दुर्घटनामा मृत्यु भयो ।

पहिले नै तय भएअनुसार जेसिकाले बिहे रोक्न चाहिनन् । जेसिकाले बिहेकै पहिरन लगाइन् तर यस पटकको बिहेमा दुलाहा भने चिहानमा थिए । जेसिका पेजेटले बिहे गरिन्, चिहानसँग ।

केन्डल र जेसिकाको परिचय कलेज पढ्दाताका नै भएको थियो । अर्को वर्ष बिहे गर्ने पक्का गरेका जेसिका र केन्डल एक हुनै नपाई केन्डलको मृत्यु भयो । जेसिका त्यो बेला २५ वर्षकी थिइन् ।

केन्डल असाध्य असल व्यक्ति भएकाले जेसिका उनको प्रेममा मुग्ध थिइन् । कतिसम्म भने कुनै गरिब देख्यो भने उसलाई लगाएको लुगा दिनसमेत पछि पर्दैनथे ।  

यति असल मानिस अचानक मृत्यु भएपछि केन्डललाई लाग्यो, यति असल मानिससँग बिहे रद्द गर्नु हुँदैन । त्यसपछि गएको २९ सेप्टेम्बरमा बिहेको निधो गरिन् र साथीभाइलाई बिहेको निमन्त्रणा दिइन् ।
अमेरिकाको इन्डियानामा भएको यो अनौठो बिहेको आइडिया जेसिकालाई सुरुमा आएको भने होइन । बिहेको मितिको केही दिनअघि उनलाई बुटिकबाट फोन आयो, ‘तपाईंको बिहेको गाउन तयार छ ।’

यसपछि जेसिकाको दिमागमा धेरै कुरा खेल्यो । उनलाई लाग्यो, ‘केन्डलको मृत्युपछि पनि उसले सोचेजस्तै बिहे गर्दा उसको आत्माले शान्ति पाउला ।’ जेसिका केन्डलको सम्झना जीवनभर जोडेर राख्न चाहन्थिन् ।

परिवारका सदस्यले जेसिका र केन्डलको बिहेका लागि मज्जैले खर्च गरिसकेका थिए । बिहेको पहिरन लिन जाउँजस्तो उनलाई लागेको थिएन । जोसँग बिहेको सपना उनले देखेकी थिइन्, ऊ नै थिएन ।

बिहे भए पनि यो फोटोसुटमा एउटी युवा दुलहीको हिम्मत र दुःख दुवै एकसाथ देख्न सकिन्थ्यो । उनी भन्छिन्, ‘म त्यो बेला भित्रैबाट टुटेकी थिएँ, मेरो छेउमा मेरो दुलाहा थिएन । एक्लै उभिनु र बिहे गर्नुको दुःख मलाईभन्दा बढी कसलाई पो थाहा होला ?’

बिहेको दिन सम्झँदै जेसिका भन्छिन्, ‘बिहेको परम्परा अघि बढाउँदै जाँदा मेरो नजर बाबासँग जुध्यो । मैले आफूलाई सम्हाल्नै सकिनँ र ग्वाँग्वाँ रोएँ । मैले यस्तो बिहे गरेँ, जहाँ मेरा बाबा खुसीले नाच्न पनि सक्नु भएन ।’

त्यसो त यो बिहेका केही क्षण यस्तो पनि देखियो, जहाँ केही पलका लागि पूरै परिवार खिलखिलाएर हाँस्यो । ‘त्यहाँ त लामखुट्टेको पूरै ग्याङ रहेछ,’ हाँस्दै जेसिका भन्छिन्, ‘मलाई तिनले टोक्दा माहोल रमाइलो बन्यो ।’

बिहेमा केन्डलका सहकर्मीहरु पनि आएका थिए । जुन दिन केन्डलको मृत्यु भएको थियो, उनीहरु सँगै थिए । केन्डल वारुण यन्त्रमा काम गर्थे । केन्डल अरु कसैलाई बचाउन गएका थिए, आफैँ दुर्घटनाको शिकार बन्न पुगे ।

फोटोग्राफरले यो अनौठो बिहेको तस्बिर फेसबुकमा हाले, भाइरल हुन पुग्यो । भाइरल तस्बिरकी नायिका जेसिका भन्छिन्, ‘मलाई कयौँले सन्देश पठाए । फेसबुकमा कयौँले आफ्ना अनौठा बिहे सम्झना सेयर गरेका थिए र साथमा मेरो बहादुरीको प्रशंसा पनि गरेका थिए । तिमीले यस्तो हिम्मत देखाएर अरुलाई पनि यस्तै केही अनौठो काम गर्ने प्रेरणा दियौ भन्नेहरुको ठूलो पंक्ति देखेँ ।’

‘यी तस्बिर देख्दा मलाई मेरो केन्डल यतै कतै नजिकै छ कि भन्ने लागिरहन्छ,’ जेसिका भन्छिन्, ‘ऊ आज पनि मेरो मुटुमा छ, म यो महसुस गर्न सक्छु ।’
 

Leave A Comment