डरलाग्दो ठाउँमा बिहे

शुक्रबार, २१ मङि्सर २०७५, ०४ : १२ शुक्रवार
डरलाग्दो ठाउँमा बिहे

हरकोही आफ्नो बिहे केही फरक र रोमाञ्चक होस् भन्ने चाहन्छ । कतिसम्म भने गएको वर्ष भएको यो बिहेका बारेमा पढेर तपाईंको पसिना छुट्न सक्छ ।

अमेरिकाको युटाहास्थित मोआब भन्ने ठाउँमा एउटा ठूलो खोंचमाथि एउटा प्लास्टिकको नेट बाँधेर त्यही एउटा जोडीले बिहे गर्यो ।

खासमा उनीहरुको बिहेको तस्बिर हेर्ने हो भने पूरै रिँगटा नै चल्छ । बिहेथलो यति अग्लो ठाउँ तर तल पूरै खाडी !

गएको वर्ष नोभेम्बरमा बिहे भए पनि बिहेको मौसम भएकाले त्यो तस्बिर सामाजिक सञ्जालमा पुनः भाइरल हुन थालेको छ ।

पहिले केही भाइरल साइटहरुले यो बिहेको भिडियो सेयर गरेका थिए । पछि त पूरै इन्टरनेटमा यो बिहेको हल्ला मच्चिहाल्यो ।

दुलाहा र दुलही दुवै व्यावसायिक स्लाकलाइनर (डोरीमा हिँड्ने व्यक्ति) हुन् । त्यसैले उनीहरुले आफ्नो बिहेलाई विशेष बनाउन खोंचमाथि डोरी तानेर त्यही बिहे गर्ने ठाने ।

दुलहीको नाम हो, किम्बर्ली वेग्लिन । उनले फेसबुकमा आफ्नो यो अनौठो बिहेका बारेमा लेखेकी थिइन् । उनले लेखेकी छन्, ‘बिहेको दिन हाम्रो डोरीभन्दा केही तल एरियल आर्टिस्टहरुले सिल्क र फाइबरमा टेकेर नृत्य गरिरहेका थिए । अन्य युवतीहरुले प्यारासुटमा गुलाबका थुँगाहरुले वर्षा गरे र ब्याले नृत्य गरे ।’
यति मात्र होइन, उनीहरुका साथी चारैतिर डोरीमा उभिएका थिए । 

यो त भयो बिहेथलोको कुरा । पछि यो जोडीले पार्टी दिँदा जुन ठाउँमा दिए, त्यो पनि कम रोमाञ्चक थिएन । उनीहरुले एउटा विशाल मरुभूमिमा बिहेको पार्टी दिएका थिए ।किम्बर्ली र उनका पति रायन जेङ्क्सले आफ्ना साथी र परिवारजन सुरक्षित राख्न पूर्ण रुपमा व्यवस्था गरेका थिए ।

त्यसो त यस्तो डरलाग्दो ठाउँमा बिहे गर्ने रहर गर्ने किम्बर्ली र रायन मात्र एक्लो पात्र होइनन् । यस्तो डरलाग्दो ठाउँमा बिहे गर्ने रहर गर्ने अर्को एउटा जोडी अमेरिकाको जर्जियास्थित अटलान्टाको समुद्रमुनि गएर बिहे गरेका थिए । उनीहरुको बिहे थलो सार्कजस्ता डरलाग्दा मांसाहारीको डुल्ने क्षेत्र हो ।
बिहेकै दिन पनि समुद्रमुनि उनीहरुलाई चारैतिरबाट सार्कले घेरिरहेका थिए ।

हुन त सार्कले सामान्यतः मानिसमाथि आक्रमण गर्दैनन् । उनीहरुको विशाल दाँत र मुखका कारण यी अलि बढी नै डरलाग्दा देखिन्छन् । र पनि, सार्कको सम्मेलनकै ठाउँमा यिनको बिहेको रहर भने अचम्मैलाग्दो छ ।

सन् २००९ मा एउटा जोडीले त ‘जिरो ग्राभिटी’ बिहे गरेका थिए । न्युयोर्क सहरको यो जोडीले एउटा विशेष तरिकाले डिजाइन गरिएको बोइङ प्लेन भाडामा लिएर माथिबाट हाम्फालेका थिए । 
माथिबाट हाम्फाल्दा उनीहरु जुन ठाउँमा झरेका थिए, त्यो मेक्सिकाको खाडीभन्दा हजारौँ फिटमाथि थिए र त्यहाँ जिरो ग्राभिटी होस् र त्यसको प्रभाव देखियोस् भनेर पाइलटले विशेष तयारी गरेका थिए ।

यस्ता बिहेमा निकै खतरा हुने गर्छ तर पूरा तयारीका साथ यस्ता बिहे गरियो भने सधैँसधैँका लागि यादगार पनि हुन्छ । यस्तै याद सँगाल्नका लागि मानिसहरु खतरनाक ठाउँमा बिहे गर्छन् र गरिनैरहन्छन् ।
 

Leave A Comment