वियोगमा संयोगः एउटा यस्तो प्रेम

बुधबार, १२ साउन २०७३, ११ : ४६ शुक्रवार , Kathmandu
वियोगमा संयोगः एउटा यस्तो प्रेम

आफ्नो छोरोको मृत्यु संस्कारमा ७१ वर्षीया अल्मेडा इरेल शोकाकुल थिइन् । तर, त्यही दिन उनको जिन्दगीले अनौठो मोड लियो । छोरालाई अन्तिम बिदाइ गर्न पुगेकी उनले सोचेकी पनि थिइनन्, समवेदना व्यक्त गर्न आएका १७ वर्षीय गेरी हार्डविकसँग उनले लगनगाँठो कस्नेछिन् । उनीहरू अहिले वैवाहिक जीवनमा छिन् । अल्मेडा आफ्नो नातिसँग नयाँ श्रीमान्सहित बसिरहेकी छिन् । उनका नाति गेरीभन्दा तीन वर्ष जेठा छन् ।
‘म जवान पुरुषको खोजीमा त थिइनँ,’ एक सुपरमार्केटमा काम गर्ने अल्मेडाले भनिन्, ‘तर, गेरीसँग यसै भेट भयो । पहिलो नजरमै म ऊसँग प्रेममा परेँ ।’
वियोगमा संयोग थियो त्यो । चार बच्चाकी आमा अल्मेडाले श्रीमान्, जेठो छोरो रोबर्ट गुमाएकी थिइन् ।
‘सन् २०१३ मा मेरा श्रीमान् डोनाल्ड डायबेटिजका कारण बिते । ४३ वर्ष लामो वैवाहिक जीवनपछि मैले आफूलाई नितान्त एक्लो पाएँ,’ अल्मेडाले भनिन्, ‘मेरा आँखा त्यसै–त्यसै भिजिरहन्थे । साथीहरू ‘सधैँ दुःखी भएर निर्वाह चल्दैन’ भन्थे । म भित्रभित्रै आत्मीय साथीको खोजीमा थिएँ ।’ अल्मेडा त्यतिखेर ४५ वर्षीय छोरो रोबर्टको गिर्दाे स्वास्थ्यका कारण पनि हतास थिइन् ।
‘रोबर्टकी श्रीमती लिजाले उसको जीवन अब धेरै बाँकी नरहेको बताएपछि त म टुटेर चकनाचुरै भएँ,’ अल्मेडाले भनिन् ।
उता, गेरी आफूभन्दा जेठी महिलाहरूसँग आकर्षित हुन्थे । आठ वर्षकै उमेरमा एकजना शिक्षिकासँग आफू आसक्त भएको र त्यही बेलादेखि बढी उमेरका महिलासँग आकर्षित हुन थालेको उनले बताए । अल्मेडाअघि उनी ७७ वर्षीया एक वृद्धासँग सम्बन्धमा थिए । उनी त्यस सम्बन्धमा उदास थिए, बन्दीजस्तो महसुस गरिरहेका थिए र त्यसबाट मुक्ति खोजिरहेका थिए ।
‘हामी सधैँ झगडा गथ्र्याैं,’ गेरीले भने, ‘मलाई उदासी रोग नै भइसकेको थियो । म त्यस परिस्थितिबाट मुक्त हुन खोजिरहेको थिएँ ।’ त्यत्तिकैमा उनलाई लिजाले रोबर्टको मृत्यु संस्कारमा सहभागी हुन निम्तो दिइन् ।
‘मायालु मुस्कान भएको गेरीले पहिलो नजरमै मेरो मन हरे,’ अल्मेडाले सम्झिइन्, ‘उनी चर्चको अर्काे छेउमा थिए । मेरा आँखा उनमै गएर अडेका थिए । दुःखमा एउटा प्रकाश भेटेजस्तो लाग्यो ।’ गेरीले अल्मेडालाई समवेदना व्यक्त गरे ।
त्यसको केही महिनासम्म अल्मेडाका आँखामा गेरी छाइरहे । तर, यो भावना दुईतर्फी थियो । गेरीले आफ्नी प्रेमिकासँग सम्बन्ध टुंग्याउनेबित्तिकै लिजालाई आफू अल्मेडासँग प्रेमासक्त भएको बताए । ‘अल्मेडालाई देखेकै दिनदेखि म उनको प्रेममा परेँ,’ गेरीले भने, ‘उनका चम्किला नीला आँखामा भुतुक्कै भएको थिएँ । लिजाले हाम्रो मिलन गराइदिने वचन दिइन् ।’
त्यसपछि लिजाले यी दुईलाई पारिवारिक जमघटमा बोलाइन् । उनले नौ वर्षीया छोरी एभलिनको जन्मदिवसमा एक रेस्टुरेन्टमा सानो पार्टी राखेकी थिइन् । रेस्टुरेन्टमा गेरी र अल्मेडा सँगै बसेका थिए । उनीहरूबीच प्रेमको आगो दन्किरहेको थियो ।
‘उसको मुस्कान र चम्किलो अनुहारको जादुले म लट्ठ थिएँ,’ अल्मेडाले सम्झिइन्, ‘हामी दुवै नर्भस थियौँ । केही खान सकिरहेका थिएनौँ ।’
भर्खरै आफ्ना जीवनका अनुभवहरू समेटेर ‘दिस इज हू आई एम’ नामक किताब गेरीले त्यो साँझ सम्झँदै भने, ‘हामीले घण्टौँ कुरा ग¥यौँ । हाम्रा रुचि, अभिरुचि समान थिए । हामी दुवैलाई लोकगीत र इटालियन खाना मन पर्छन् ।’
अल्मेडाले गेरीलाई एउटा प्रश्न सोध्नु जरुरी थियो । उनले सम्झिइन्, ‘मैले गेरीलाई भनेँ, ‘हेर, म ७१ वर्षकी, तिमी १७ वर्षको । तिम्रा लागि म बूढी भइनँ र ?’ गेरीले मेरो हात समात्यो र हाँस्दै भन्यो, ‘उमेर भनेको अंक न हो ।’ त्यस रात गेरीले उनलाई रातो गुलाब र एउटा चुरा उपहार दिए । अनि, उनीहरूले जुनेली रातमा एउटा बेन्चमा बसेर पहिलो चुम्बन गरे । ‘मैले पुनः किशोरी भएको महसुस गरेँ,’ अल्मेडाले सम्झिइन् ।
त्यसपछि उनीहरू हरेक साँझ भेट्न थाले । दुवैका परिवार र आफन्तले उनीहरूको प्रेमलाई मान्यता दिएका थिए । गेरीका आमा ४८ वर्षीया टामी र हजुरआमा ७१ वर्षीया क्यारोलिन पनि यस प्रेमसम्बन्धमा खुशी थिए । उनीहरूको प्रेममा आपत्ति जनाउने नभएका होइनन् । ‘मलाई नातिजस्तो केटोसँग प्रेम गर्ने पागल पनि भने,’ अल्मेडाले सम्झिइन्, ‘तर, भन्नेहरू भनिरहन्छन् भनेर मैले वास्तै गरिनँ ।’
पहिलो डेटको दुई हप्तापछि गेरीले फोनबाट अल्मेडालाई विवाहको प्रस्ताव राखे । अल्मेडाले स्विकारिन् र त्यसको छ दिनपछि उनीहरूले बिहे गरे ।
‘अल्मेडा मनदेखि यति जवान छिन् कि उमेर हाम्रा निम्ति कुनै विषय नै होइन,’ गेरीले भने, ‘उनी मेरो जीवनमा आउनु मप्रति ईश्वरको अनुकम्पा हो ।’ उनले छातीमा अल्मेडा र आफ्नो नामको ट्याटू खोपेका छन् । उनीहरू टेनिजीस्थित सेभिएरभिलमा बस्छन् ।

 

Leave A Comment