अंश के हो ?

मङ्गलबार, ०८ माघ २०७५, ०८ : ३७ स्वीकृति बराल
अंश के हो ?

अंश शब्दको अर्थ ‘भाग’ अथवा ‘हिस्सा’ हो । कुनै पनि कुरामा आफ्नो भाग खोज्नु भनेको नै आफ्नो अंश खोज्नु हो, यद्यपि कानुनी भाषामा अंश भन्नाले सगोलको सम्पत्तिबाट आफूले पाउने सम्पत्ति भनेर बुझ्नु पर्छ ।

यस अर्थमा परिवारका सदस्यबीच सगोलमा रहेको सम्पत्ति बाँडफाँड गर्ने प्रक्रियालाई अंशवण्डा भनिन्छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को पच्छिेद १० मा अंशवण्डासम्बन्धी व्यवस्था गरिएको छ ।

मान्छे त्यतिबेला कानुनी आधार खोज्छ, जब उसलाई आफू अन्यायमा परेको आभाष हुन्छ । अंशवण्डा पनि कानुनले दिएको अधिकार हो । सगोलमा सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई इज्जत आमदअनुसार खानलाउन दिन र आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था नगरे वा आफूले गर्नुपर्ने दायित्व पूरा गर्न नसके अंशियार आफ्नो अंश लिई छुट्टिन पाउने कानुनी व्यवस्था छ । 

एकै परिवारका सदस्यहरु अंशका हकदार हुन्छन् र अंशका हकदारलाई अंशियार भनिन्छ । प्रत्येक अंशियार अंशको समान हकदार हुन्छ । जस्तै, एकै घरका बुबा, आमा, छोरा, छोरीबीच अंशवण्डा गर्नु परेमा उनीहरुको सगोलमा भएको सम्पत्तिमा हरेक परिवारका सदस्यको समान हक अधिकार हुन्छ । 

कानुन त न्यायका लागि यतिसम्म चनाखो रहन्छ कि यसले गर्भमा भर्खर आएको बच्चा समेतलाई अन्याय नपरोस् भन्ने उद्देश्यले गर्भमै रहेको अवस्थामा पनि बच्चा अंशियार हुने र उसको समेत अंश छुट्याउनु पर्ने प्रावधान राखेको छ ।

अंशियारहरु बीच आपसी समझदारी भएमा निजहरु जहिलेसुकै अंश लिई भिन्न भई बस्न सक्नेछन् तर त्यसो गर्नका लागि अंशियार कानुनबमोजिम उमेर पुगेको हुनुपर्छ ।

पत्नी, छोरा र छोरीले आफ्नो पति वा बुबाको भागबाट मात्र अंश पाउँछन् र अंशवण्डा नहुँदै बुबा वा पतिको मृत्यु भएमा मृतकले पाउने अंश उनकै पत्नी वा छोराछोरीले पाउने व्यवस्था मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले गरेको छ । 

कुनै व्यक्तिको एकभन्दा बढी श्रीमती भएमा निजहरुले पतिको भागबाट मात्र अंश पाउने व्यवस्था गरे पनि मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १७५ ले भने एउटा विवाह भैसकेको र सो विवाहको सम्बन्धविच्छेद नभएको वा अंश लिई छुट्टी भिन्न नबसेको अवस्थामा विवाह गर्न गराउन नहुने र त्यस्तो विवाह स्वतः बदर हुने प्रावधान स्पष्ट रुपमा राखेको छ । 

यो व्यवस्थाअनुसार परिवारसँग लुकाएर अन्यत्र राखेका पत्नी वा निजबाट जन्मेका सन्तानले पति वा बाबु मरेपछि अंश दाबी गर्न पाउने छैनन् । विधवाको सन्दर्भमा उनले पाएको अंश उनले अर्को विवाह गरेमा आफ्नो पहिलो पतितर्फ सन्तान भए त्यस्ता सन्तानलाई र नभएमा निज आफैँले लिन पाउने कानुनी व्यवस्था छ । 

अंशवण्डा गर्दा कसैलाई पनि अप्ठ्यारो नपर्ने गरी असल कमसल मिलाई अंशियारहरुको मन्जुरी बमोजिम गर्नुपर्छ र सम्पत्तिसगैँ सगोलको ऋण पनि घटिबढी नहुने गरी भाग लगाउनु पर्ने कानुनी प्रावधान छ । जो आफूलाई सम्पत्तिको हकदार ठान्छ ऊ ऋणको जिम्मेबारीबाट पनि पन्छिन पाउँदैन । सगोलको सम्पत्तिमा सबैको हक लाग्ने हुनाले त्यस्तो सम्पत्ति सबै अंशियारको मन्जुरी बिना कुनै एक अंशियारलाई मात्र दिन पाइँदैन र सहमतिमा दिइएको छ भने पछि अंशवण्डा गर्दा निजले पाउने अंशमा हिसाब गरी अन्य सम्पत्ति बण्डा गर्नुपर्छ ।

कानुनको उद्देश्य सबैलाई न्याय दिलाउनु हो । न्याय दिलाउने नै उद्देश्यले अंशवण्डा गर्दा फाँटबारी खुुलाउने प्रावधान राखिएको हुन्छ । फाँटबारीको अर्थ सम्पत्तिको सम्पूर्ण विवरण हो । 

सम्पत्तिको सम्पूर्ण विवरण माग्नुको उद्देश्य सबैलाई बराबर रुपमा सम्पत्तिको भाग लगाइदिनु हो, जसले गर्दा कुने पनि अंशियारलाई मर्का नपरोस् । यसरी विवरण माग्दा कसैले अंशवण्डा गर्नुपर्ने सम्पत्ति लुकाएको कुरा पछि ठहरेमा त्यसरी सम्पत्ति लुकाउने अंशियारले सो सम्पत्तिको भाग पाउँदैन । 

-कानुनसम्बन्धी कुनै जिज्ञासा भए infoshukrabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

Leave A Comment