को हुन् नाङ्गै दौडिने यी व्यक्ति ?

बिहिबार, १० माघ २०७५, ०३ : १२ शुक्रवार
को हुन् नाङ्गै दौडिने यी व्यक्ति ?

तपाईंले कुनै खेलकुद कार्यक्रम हेरिरहनु भएको बेला एउटा अधवैंशे मानिस नाङ्गै रङ्गशालामा दौडिरहेको र उसको पछिपछि प्रहरी उसलाई खेद्न थालेको भिडियो हेर्नु भएको छ ? छ भने सम्भवतः ती व्यक्ति मार्क रोबर्ट्स होलान् । ५३ वर्षे मार्कले यसरी नाङ्गै दौडिएको २५ वर्ष भइसक्यो र यतिञ्जेल उनले ५६० वटा कार्यक्रममा नाङ्गिइसकेका छन् । उनी भन्छन्, ‘तपाईंले अब म नाङ्गै दौडिने कार्यक्रम रोक्छु होला भन्ठान्नु भएको भए तपाईं गलत हुनुहुन्छ । मेरो जीवनको उद्देश्य नै नाङ्गै दौडने हो । मलाई नाङ्गै दौडन पुगेको छैन ।’

उनी आफूलाई ‘पर्फमेन्स आर्टिस्ट’का रुपमा चिनाउन रुचाउँछन् । उनका तीन सन्तान सबै टिनएजर भइसके । बाउ नाङ्गै दौडिएको देख्दा उनीहरुलाई पक्कै पनि दिक्क लाग्दो हो नि ! तर उनलाई कुनै मतलब छैन । छोराछोरीले चासो दिएर हेर्ने सुपर बउल, ओलम्पिक, च्याम्पियन लिगको फाइनल र युसेन बोल्टको सय मिटर दौड सबैमा उनी नाङ्गिएर जग हँसाइसकेका छन् ।

हुँदा हुँदा उनी एउटा कुकुरको सौन्दर्य प्रतियोगितामा समेत नाङ्गिन भ्याइसके भने क्यान्स फिल्म फेस्टिभलमा २०११ मा पनि नाङ्गै दौडिएर फिल्म निर्देशक र कलाकार हँसाए । संसारका २४ वटा मुलुकमा ५६८ पटक उनी नाङ्गिइसकेका छन् । जसमध्ये २५ वटा घटनामा प्रहरीले पक्राउ गरेका छन् ।

उनी आफूलाई ‘स्किन बेयरिङ स्पोर्ट्स् लभर’ अर्थात् उदाङ्गो छाला देखाउने खेलको प्रेमीका रुपमा चिनाउने गर्छन् । उनको मुख्य काम भनेको घरमा रङ लगाउने वा सजाउने हो । उनी भन्छन्, ‘मलाई फुर्सद हुनेबित्तिकै त्यस्ता कार्यक्रममा गएर नाङ्गिन्छु । संसार हँसाउन मलाई मनपर्छ तर कहिलेकाहीँ संसार हँसाउन खोज्दा अप्ठेरोमा पनि पर्छु तर त्यसलाई मैले सामान्य रुपमा लिने गरेको छु ।’

सन् २००६ मा भएको विन्टर ओलम्पिक्समा उनले यस्तो अनौठो कपडा लगाएर एउटा स्केटिङको क्षेत्रमा छिरे कि मान्छेहरु हाँसेर हुरुक्कै भए । स्केटरहरु पनि स्केटिङ गर्न छाडेर उनलाई हेर्न थाले ।
‘धेरैले के सोच्छन् भने म नाङ्गै दौडिन आएको हुँ तर त्यस्तो होइन,’ उनले स्काई न्युजसँगको भेटमा भने, ‘म मानिसलाई हँसाउन चाहन्छु र नाङ्गै दौडेर हात हल्लाउँदै गर्दा हाँसेनन् भने उनीहरुलाई हाँस्ने मौका दिलाउन अनेकन कर्तब गरिरहेको हुन्छु ।’

एक चोटि इटालीमा यसरी नै नाङ्गै दौडिँदा त्यहाँका प्रहरीले भने, ‘तिमी अहिले तत्काल देश छाड्न तयार हुन्छौ भने तिमीलाई कुनै पनि आपराधिक मुद्दा चलाउँदैनौँ तर यहाँ बस्छौ भने मुद्दा चल्न पनि सक्छ ।’ उनी त्यहाँ हँसाउने उद्देश्यले छिरेका थिए, पूरा भएपछि देश फर्किहाले ।

उनका कर्तब हेरिरहेका केही प्रदर्शनबाजहरु भने उनको कार्यलाई सकारात्मक नै लिन्छन् । प्रदर्शनबाज भनेको उनीजस्तै नग्न रुपमा प्रदर्शित हुनेहरुको समूह हो । उनीहरु भन्छन्, ‘यी दाइले कहिल्यै पनि खेल भइरहेको बेलामा भाँजा हाल्ने गरी दौडिएका छैनन् । ब्रेकको बेलामा, खाली समयमा, खेललाई बाधा नपर्ने गरी दौडिरहेका हुन्छन्, जुन राम्रो कुरा हो ।’

उनी पनि यसलाई स्वीकार्छन्, ‘खेलको फाइनल भइरहेको हुन्छ । फाइनलमा पुग्न उनीहरुले मज्जैले वर्षौंसम्म अभ्यास गरिरहेका हुन्छन् । त्यस्तो गम्भीर खेललाई बिगार्नु त अपराधै हुन्छ । त्यसैले म जहिले पनि कार्यक्रमको मध्यान्तरमा मनोरञ्जन दिलाउन छिर्ने गर्छु ।’

यिनले जीवनमै पहिलो पटक सन् १९९३ मा हङकङ सेभेन रग्बी टुर्नामेन्टका बेला नग्न दौडिएर सबैलाई हँसाएका थिए । ‘त्यहाँ दौडँदा मलाई यस्तो स्वतन्त्र महसुस भयो कि के भनूँ !’ उनले थपे, ‘६५ हजार दर्शकले भरिभराउ रंगशालामा दौडँदा त म उत्साहले भरपूर हुन पुगेँ । त्यो बेला दर्शकको चिच्याहट २५ वर्ष पुग्दा पनि ज्यूँदै पाउँछु ।’

त्यो बेला चार वर्षदेखि उनी सुजीको प्रेममा थिए । उनले सुजीसँग बिहे गर्नका लागि औँठी पनि दिएका थिए । सुजीले नाङ्गै दौडिएको देख्दा के भन्लिन् भन्ने नलागेको पनि होइन तर मार्क रोबर्ट्स्को हृदयदेखिको काममा उनले कुनै व्यवधान पु¥याइनन् । पछि त बिहेसमेत गरिन् । 

पछि उनका सन्तान हुर्कंदै गर्दा टिभीमा बाउ नाङ्गै दौडिएको देखेर अचम्म मान्थे र सोध्थे, ‘बा, तपाईं किन नाङ्गै किन दौडिएको ?’

उनको जवाफ हुन्थ्यो, ‘मन लागेर, तिमीहरु पनि त बच्चामा नाङ्गै दौडिएका थियौ नि !’
‘मेरा साथीका बाउ र तिम्रा साथीले पनि टिभीमा तपाईं नाङ्गै दौडिएको देख्नुभएको कुरा सुनाए,’ छोराछोरीको प्रतिक्रिया हुन्थे । अनि उनले उल्टै सोध्थे, ‘अनि तिनले के भने त ?’
छोराछोरीको उत्तर हुन्थ्यो, ‘हाँसेर तिम्रा बाउको काम गज्जब छ मात्र भन्नु भयो । त्यस्तो नराम्रो दृष्टिकोण पाइनँ ।’

मार्कले छोराछोरीलाई भन्थे, ‘तिमीहरु पनि नराम्रो नमान्नू किनभने मैले संसारलाई हँसाउन मात्र यस्तो काम गरेको हो । कसैलाई हानि पुर्याउन होइन ।’

यतिबेला उनका छोरीहरु ३० र २१ वर्षका छन् भने छोरा २५ वर्षका । यतिबेलासम्म त बाउको ‘क्रियाकलाप’ उनीहरुलाई अचम्म नै लाग्न छाडेको छ न त छिमेकी न त उनीहरुका नजिकका कोही आफन्तले नै चासो लिन्छन् ।

मार्क भन्छन्, ‘अहिले त उनीहरु बाउ नाङ्गै दौडिएको देखेर रमाइलो नै मानिरहेका छन् । किनभने उनीहरुलाई मेरो उद्देश्य के हो, म केका लागि नाङ्गिरहेको छु भन्ने थाहा भइसक्यो ।’
उनी पहिला नाङ्गै दौडन्थे किनभने त्यो बेला नग्नतामा एक किसिमको सहनशीलता थियो । ‘हिजोआज नग्नताप्रति असहिष्णु जमात बढ्न थालेको छ,’ उनको गुनासो छ । त्यसैले पनि चीनको बेइजिङमा भएको ओलम्पिकमा उनी कपडा लगाएरै ‘मनोरञ्जन’ दिलाउन कस्सिएका थिए ।

उनी नाङ्गै दौडिएका कार्यक्रममा विश्व पौडी च्याम्पियन बार्सिलोना (१९९३), वल्र्ड स्नूकर च्याम्पियनसिप फाइनल (२००४) र राइडरकप २०१० थिए ।

उनको नग्न दौड कतिपय कम्पनीलाई यति मन प¥यो कि प्रायोजनसमेत गर्न थाले । अनलाइन जुवा खेलाउने कम्पनी गोल्डेन प्यालेसले त उनलाई मज्जैले प्रायोजन गरिदिएको थियो । उनले पाएको रकम एक पैसा पनि आपूmले राखेनन्, दान गरिदिए किनभने उनलाई यस्तो कार्यबाट पैसा कमाउनु थिएन । सन् २००४ को अमेरिकाको टेक्सस राज्यमा भएको सुपरबल सबैभन्दा खतरनाक कार्य थियो ।

किनभने उनले सुरक्षाकर्मी छक्याएर मैदानमा छिर्नु थियो र लगाएको लुगा एक–एक गर्दै फुकाल्नु पर्ने थियो, जसमा उनी सफल पनि भए । त्यहाँ उनले रिभर डान्स देखाएका थिए, मानिसहरु हाँसेर मस्त भए । तर प्रहरीले पछि उनलाई एक हजार डलर जरिवाना तिराएको थियो ।

उनी यस्ता कार्यक्रममा ११ पटक पक्राउ परे भने जम्मा तीन पटक मात्र जरिवाना तिर्ने अवस्थामा परे । उनले एक पटक पक्राउ पर्दा जम्मा एक सय डलर जरिवाना तिरेका थिए । ‘कसैलाई हानि पु¥याउने उद्देश्य नभएकाले म अरुको तुलनामा कमै जरिवानामा परेको हुँ,’ उनले प्रस्टीकरण दिए ।

Leave A Comment