कुप्रचारमा अब्बल कमरेड

बिहिबार, १७ माघ २०७५, ०६ : ५२ शुक्रवार
कुप्रचारमा अब्बल कमरेड

पार्टीको प्रचार विभागको नेतृत्व सम्हाल्दा कुतर्क गरेरै भए पनि बचाउ गर्नु उनको धर्म थियो । कतिपय घटनामा उनले गोयबल्स शैलीमै कुप्रचार गराएर पार्टीको खराब कामको बचाउ गरेका पनि हुन् । सबैले उनको यो गतिविधिलाई पार्टीको जिम्मेवारीको रुपमा लिए । 

अहिले योगेश भट्टराई पार्टीको सांसद र केन्द्रीय समितिमा सीमित छन् तर गोविन्द केसीविरुद्ध उनको श्रृंखलाबद्ध कुप्रचारले जिम्मेवारीमा हुँदा निभाएको भूमिकालाई पनि माथ खुवाएको छ ।

उनकै पार्टीका नेता सबै माग पूरा गर्न सकिएन भनिरहँदा उनी भने कहिले केसीको सबै माग पूरा भएको भन्दै कुप्रचार गर्छन् त कहिले केसी कम्युनिस्टविरोधी भएकाले उनले भनेझैँ अक्षर–अक्षर राखेर चिकित्सा शिक्षा विधेयक पारित गरेको भए पनि केसी अनशनमै बस्ने भनेर मानमर्दन गर्न सक्रिय छन् । केसी अनशन बस्दा अर्का एक युवा विजय थापा पनि अनशनमा बसेका थिए ।

गोविन्द केसीको काउन्टर माग राखेर थापालाई अनशन बसाउने मास्टरप्लानमा उनै भट्टराईको नाम जोडिएको थियो । थापाको आपराधिक पृष्ठभूमि छरपष्ट भएपछि अहिले गायब छन् । उनलाई गायब बनाउने काम उनलाई जसले अनशनमा राख्यो हो, उसैको हो भन्न कुनै खोज गरिरहनुपर्ने विषय रहेन ।

पार्टीले चाहेअनुसार विधेयक पारित भयो । यसले पार्टीलाई हुने क्षतिको लेखाजोखा आगामी निर्वाचनमा त भइहाल्छ । आम नागरिकको प्रत्यक्ष सरोकार रहेको माग लिएर ज्यानको बाजी थाप्दै अनशनमा बसेका डा. केसीको मानमर्दनमा सक्रिय भएका भट्टराईको सकारात्मक छवि पनि धुमिल भयो । आशावादी युवा नेताको परिचय अवसरवादी युवा नेतामा रुपान्तरण भइसक्यो ।

मन्त्री बनाउँछु भनेर लोप्पा ख्वाएपछि एक समय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग प्रतिपक्षझैँ व्यवहार गर्दै आएका भट्टराईले त्यस्तो के आश्वासन पाए र यसरी सत्याग्रहीको चिरहरणमा खुलेआम सक्रिय भए ?
छक्क पार्ने प्रश्न यही हो । 

 

माननीय मनाङे
२०७५ माघ १५ दीपक मनाङे उर्फ दीपक गुरुङका लागि विशेष बन्यो । १५ गते सोमबार मध्याह्नसम्म गुण्डा नाइकेको रुपमा परिचित उनको नामसँगै अर्को पदवीसमेत जोडियो, प्रदेश सभाको माननीय ।
एक वर्षअगाडि मनाङको प्रदेश ख बाट विजयी भए पनि सपथ खानु अगाडि नै उनको जेल यात्रा शुरु हुँदा उनी वैध माननीय बन्न पाइरहेका थिएनन् । 

अदालत दाहिना हुँदा जेलबाहिरै बसेर कानुनी लडाईं लड्ने छूट पाएर मुक्त भएपछि वैध माननीय बन्ने संघर्ष शुरु भयो उनको । केही अवरोधझैँ देखियो पनि तर ती अवरोध फगत नाटक थियो । नाइँ नाइँ भन्दै उनलाई सांसदको लोगो लगाइदिने तयारी भित्रभित्रै भइसकेको थियो । 

तत्कालीन एमालेको समर्थनमा निर्वाचन जितेका उनका लागि सपथ खाएर प्रदेश सभामा प्रवेश गर्न त्यत्ति गाह्रो विषय थिएन । प्रदेश सरकार उनकै समर्थक थियो, सभामुख पनि त्यतैको । प्रदेश समामुखले सपथ खुवाउने कुरा नाटक मात्र त थियो ! भयो त्यही । आखिरमा उनले सांसदको लोगो पाए र गुण्डा नाइके मनाङेको परिचय माननीय मनाङेमा रुपान्तरण भयो ।

सांसद भएको पहिलो दिनमै उनले आफ्नो रुप पनि देखाइदिए, मधेसको शैलीमा । पोखरामा भइरहेको अधिवेशनमा चट्ट भारत बिहारको गाडीको प्रदेश सभा भवनस्थल शयर गरे ।

जनताको प्रतिनिधि भएर संसद् गएपछि नेताले गर्ने काम अनुभवकै आधारमा हो । मनाङेको अनुभव विभिन्न अदालतको ढड्डामा रहेको आपराधिक मिसिलले देखाउँछ नै । 

अब माननिय मनाङेले प्रदेश सांसदको रुपमा खेल्ने भूमिका पनि उही पुरानै अनुभवका आधारमा त होला नि, हैन त माननस्य ?


वाक्य बसेको कांग्रेस
नेपाली कांग्रेस अहिले देशव्यापी आन्दोलनमा होमिएको छ । उसका भातृ संगठनका नेताहरु बाँसका भाटा जम्मा पारेर प्रधानमन्त्रीको फोटो टाँस्दै, बाल्दै जाडो भगाउन सक्रिय छन् ।

वाइड बडी खरिद घोटाला सार्वजनिक भएसँगै चर्को स्वरमा भ्रष्टाचारीलाई कार्बाही गर भन्दै कुर्लिने पार्टी, त्यस विषयमा भने मौन पो छ ! यसो र उसो भन्दै टुइट गरेर पत्रकारलाई समाचारको खुराक दिने प्रवक्ता विश्वप्रकाशको बोलीमा समेत वाइड बडी हराइसक्यो ।

अहिले डा. गोविन्द केसीको अनशन अनि आफ्ना पूर्व दुई सभापतिको नामको अस्पताल हराउने चिन्तामा देखियो । यस्तो हुनुको कारण मुद्दा बढी भएर प्राथमिकीकरणको प्रभाव भने हैन है !

वाइड बडी घोटालामा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएसँगै कांग्रेसको वाक्य बसेको प्रस्टै छ । ‘कार्बाही गर, कार्बाही गर’ भन्दै लगाएको नारामा ‘देउवालाई पनि कार्बाही गर’ भन्नुपर्ने अवस्थामा पुगेपछि विचरा कांग्रेसीहरु बोलून् पनि कसरी ? 

यसले सरकारलाई एक तहमा हाइसञ्चो त गरायो नै कार्बाही नै हुने पो हो कि भनेर सुत्न नसकेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई पनि हल्का निद्रा फर्काइदियो । वाइड बडीको भ्रष्टाचार मुद्दा न्यारो, न्यारो हुँदै गयो ।

चरी र घैँटेको इन्काउन्टरपछि २०७३ मा नेपाल प्रहरीले निकालेको "HIT List" जसमा दीपक गुरुङ उर्फ मनाङे पनि थिए । त्यो बेलाको नालीबेली!

 

चरी र घैँटेको इन्काउन्टरपछि सातो गएका गुन्डा नाइकेहरू पुनः सातो फर्किएर सक्रिय हुन थालेपछि प्रहरीले हिट लिस्ट बनाएको हो । स्थानीय तहको निर्वाचनको सुरक्षा जोखिमलाई विश्लेषण गरेर पनि गुन्डाहरूको सूची बनाइएको बताइन्छ । को–को छन् प्रहरीको हिट लिस्टमा ? केपी ढुंगानाको खोजीनिती ।

नेपाली कांग्रेस, लक्ष्मण थारु नेतृत्वकोे पार्टी, मधेश केन्द्रित दल चहार्दै एकाध वर्ष स्वतन्त्र बसेर पुन पुरानै राजनीतिक छाता राप्रपामा फर्किएका दीपक गुरुङ उर्फ मनाङे पार्टीलाई स्थानीय तह निर्वाचनमा जिताउने रणनीतिमा व्यस्त छन् । राप्रपाबाट राजनीतिक संरक्षण पाएका उनी पार्टीमा चित्त नबुझेपछि कांग्रेसमा प्रवेश गरेका गरेका थिए । त्यहाँ लामो बसाइ नभएपछि उनी केही समय लक्ष्मण थारुको पार्टीमा लागे ।
पार्टीमा विवाद भएपछि केही समय स्वतन्त्र बसेका उनलाई उनको समूहका तीन सय जनासहित उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले राप्रपा नेपालमा प्रवेश गराएका थिए ।
हालै सम्पन्न राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशनमा मनाङको जिल्ला अध्यक्ष चयन भएका उनी महानगरीय प्रहरी परिसरले बनाएको सूचीमा नेताको हैसियतमा हैन, ‘आपराधिक गतिविधिमा लागेका केटाहरूलाई संगठित रूपमा परिचालन गरी निर्वाचनको सुरक्षामा चुनौती बढाउन सक्ने’ खतराको सूचीमा छन् ।
महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौँ परिसरले उपत्यकामा संगठित रूपमा आपराधिक गतिविधिमा संलग्न रहेका १ सय २२ जनाको नाम संकलन गरी आपराधिक पृष्ठभूमिको आधारमा उनीहरूलाई क्याटगोरी ‘ए’ देखि ‘डी’ सम्म वर्गीकरण गरेको छ । यो चार तहको वर्गीकरणमा राप्रपाका जिल्ला नेता मनाङेको नाम क्याटगोरी ‘ए’ मा छ । ‘ए’ समूहमा १२ जनाको नाम छ ।
मनाङे ‘ए’ क्याटगोरीको पहिलो नम्बरमा छन् । व्यापारीलाई धम्क्याएर पैसा मागेको आरोपमा पक्राउ परी संगठित अपराधको अभियोग लागेर सफाइ पाएलगत्तै मनाङे राप्रपामा प्रवेश गरेका थिए । उनले अहिले पनि विशेष अदालतमा आपराधिक गतिविधिबाट अकुत सम्पत्ति आर्जन गरेको मुद्दा खेपिरहेका छन् ।
काठमाडौँ परिसरका प्रमुख छविलाल जोशी आपराधिक पृष्ठभूमि, सदस्य संख्या र सक्रियताका आधारमा आपराधिक गतिविधि गरेर स्थानीय तहको निर्वाचन प्रभावित पार्न सक्ने विश्लेषणका आधारमा मनाङेको नाम सूचीको पहिलो नम्बरमा राखिएको दाबी गर्छन् ।
दर्जनौँ आपराधिक गतिविधिमा पक्राउ परेको, कुनैमा सजाय नै भएको र कुनैमा धरौटी र सफाइ पाएको, समूहका सदस्यको संख्या, कार्यशैली र परिचालनको अवस्थाको आधारमा मनाङेको नाम सूचीमा रहेको जोशीले दाबी गरे ।
‘हामी मनाङेको खोजी गरिरहेका छौँ, तर उनी उपत्यकाबाहिर भएकाले पक्राउ गर्न सकेका छैनौँ,’ एसएसपी जोशीले भने, ‘हामी उनको गतिविधिको सूक्ष्म निगरानी गरिरहेका छौँ ।’
राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले देश र समाजका लागि काम गर्छु भनेर आएका मनाङेलाई पार्टीले सोहीअनुसार जिम्मेवारी दिएको बताए । ‘उहाँको पृष्ठभूमि जेजस्तो भए पनि सुध्रिएर देश र समाजका लागि काम गर्छु भनेर उहाँ राप्रपामा आउनुभएको हो,’ श्रेष्ठले भने, ‘पार्टीले उनलाई सोही अनुसारको जिम्मेवारी दिएको हो । उहाँ पार्टीमा प्रवेश गर्दाताका र प्रवेश गरिसकेपछि पनि कुनै आपराधिक गतिविधिमा लागेको देखिएको छैन, अदालतमा उहाँविरुद्ध मुद्दा पनि छैन । सुध्रिएर असल काम गर्न सक्रिय भएका व्यक्तिलाई प्रहरीले गुन्डा भनेर किन सूचीमा राखेको हो ? मैले बुझ्न सकेको छैन ।’
कुन समूहमा को–को ?
काठमाडौँ परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको सक्रियतामा बनाइएको १ सय २२ जनाको सूचीलाई चार समूहमा विभाजन गरिएको छ । यसअगाडि प्रहरीले ‘बी’ क्याटगोरीमा राख्दै आएको अभिमानसिंह बस्नेतले नयाँ सूचीमा ‘प्रमोसन’ पाएका छन् । उनी क्याटगोरी ‘ए’ मा पुगेका छन् भने उनको नाम उपत्यकामा कहलिएका गुन्डा नाइके गणेश लामा, चक्रे मिलनको भन्दा पनि माथि छ ।
उपत्यकाको गुन्डागर्दीमा नाम पोलिँदै आएका उनको नाम प्रहरी ‘इन्काउन्टर’ मा मारिएका कुमार श्रेष्ठ घैँटेको समूहसँग जोडेर हाई प्रोफाइल सूचीमा चढाइएको हो । पछिल्लो समय उनी ‘ए’ समूहमै रहेका सुकबहादुर लामा ‘बाघे’सँग मिलेर काम गर्दै आएका छन् ।
मनाङेपछि दोस्रो नम्बरमा रहेका मिलन गुरुङ उर्फ चक्रेको नाम ‘डिमोसन’ हुँदै क्याटगोरी ‘ए’ को तेस्रो नम्बरमा पुगेको छ । पाँच वर्ष जेल सजाय काटेर जेलमुक्त भएपछि उनी प्रत्यक्ष रूपमा आपराधिक घटनामा जोडिएर पक्राउ परेका छैनन् ।
विशेष अदालतमा आपराधिक गतिविधिबाट अकुत धन आर्जन गरेको मुद्दा खेपिरहेका चक्रे आफैँ प्रत्यक्ष रूपमा आपराधिक गतिविधिमा संलग्न नभए पनि सहयोगी परिचालन गरी धन्दा जारी राखेको प्रहरीको विश्लेषण छ ।
चक्रे त पक्राउ परेका छैनन् तर प्रहरीले उनको समूहमा रहेर आपराधिक गतिविधि गरेको भन्दै पुनम कार्की, शशांक श्रेष्ठ र मुन लामालाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
चक्रेपछि राजु गोर्खाली, गणेश लामा, बाघे, साजन महर्जन, सरोज थापा उर्फ रोज राणा, सुजन पौडेल उर्फ रमेश बाहुन, विश्वक्रान्ति सिंह, तेजेन्द्र गुरुङ र काजी शेर्पाको नाम छ । लामा र गोर्खालीबाहेक यो समूहका अन्यले सहयोगीबाट मुख्य नाइकेमा ‘प्रमोसन’ पाएका छन् ।
समूह ‘ए’ को आठाँै  
नम्बरमा रहेका रोज राणा फिल्म निर्माता तथा कलाकार हुन् । उनी कहिले कुमार घैँटेसँग जोडिन्थे त कहिले दिनेश अधिकारी ‘चरी’सँग । प्रहरी इन्काउन्टरमा यी दुवै मारिइसकेका छन् ।
पछिल्लो समय रोजलाई खुकुरीसमेत हानिएको थियो । अनुसन्धानमा चरी इन्काउन्टरअगाडि उनीबारे प्रहरीलाई सूचना दिएको भन्दै चरी समूहले हत्या योजनासहित उनीमाथि आक्रमण गरेको खुलेको थियो ।
‘बी’ क्याटगोरीमा प्रहरीले ३० जनाको नाम राखेको छ । यो सूचीको पहिलो नम्बरमै रहेका प्रवेश श्रेष्ठ नेपालमा छैनन् । तेस्रो नम्बरमा रहेका  रिनझिन शेर्पा लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न छैनन् ।
पछिल्लो समय उपत्यकामा सबैभन्दा सक्रिय रहेका दावा लामालाई ‘बी’ क्याटगोरीको छैटौँ नम्बरमा राखिएको छ । पहिले ‘ए’ क्याटगोरीमा रहेका सञ्जय डंगोल ‘डिमोसन’ भएर ‘बी’ समूहको १५ औँ नम्बरमा पुगेका छन् ।
‘बी’ समूहका पञ्चे लामा जेलमा छन् । केन्द्रीय कारागारभित्रैबाट समेत आफ्नो समूह परिचालनमा सक्रिय छन् उनी । दाजु मनाङे ‘ए’ क्याटगोरीमा रहे पनि उनका भाइ रेम्बो गुरुङ ‘बी’ समूहको २२ नम्बरमा छन् ।
चरीसँग भिड्ने गरेका धादिङका राधे भण्डारी ‘बी’ को २३ नम्बरमा छन् । उमेश लामा, निराजन पौडेल, शशि अधिकारी, मुखिया घले पनि ‘बी’ मा सूचीकृत छन् ।
उता, ‘सी’ क्याटगोरीमा राजु भण्डारी, विश्व कार्की, राज तामाङ, पूर्ण गुरुङ ‘जशवन्त’, मिमकुमार लामा, रोशन रोक्का, समिर बस्नेत, संजोग बानियाँ, दिनेश लामा, लाम्टा मुखिया, अश्विनकुमार राईलगायत ४७ जनाको नाम छ । अन्य अर्थात् ‘डी’ क्याटगोरीमा भीमराज घले, गणेश पाण्डे, सुदीप गुरुङ, विजेन्द्र लामा, मनीष मानन्धर, प्रकाश गोलेलगायत ३३ जनाको नाम छ ।
प्रभावका आधारमा वर्गीकरण
एसएसपी जोशी महाशाखा र परिसरले बनाएको आपराधिक रेकर्ड र  स्थानीय प्रहरी युनिट, महाशाखा र परिसरमा रहेको टोलीले संकलन गरेको सूचनाका आधारमा हिट लिस्ट बनाएर वर्गीकरण गरेको दाबी गर्छन् ।
आपराधिक शैली, सक्रियता र संगठित स्वरूपको अध्ययनको आधारमा गुन्डागर्दीमा संलग्नहरूको वर्गीकरण गरेको उनी बताउँछन् । ‘आफू अपराधमा प्रत्यक्ष संलग्न नहुने तर निश्चित क्षेत्रमा प्रभाव विस्तार गरी समूह परिचालन गरेर आपराधिक गतिविधिमा सक्रिय हुनेहरूलाई ‘ए’ क्याटगोरीमा राखिएको छ,’ एसएसपी जोशीले भने, ‘रात्रीकालीन व्यवसाय, ठेक्कापट्टा लगायतका व्यवसायमा संलग्न रहेका र आफ्नै समूह भए पनि ‘ए’ क्याटगोरीमा रहेकाहरूको भन्दा सानो र कम प्रभाव रहेका र आपराधिक गतिविधिमा पनि संलग्नलाई ‘बी’ मा राखिएको छ ।’
त्यसै गरी, ‘ए’ र बी’ समूहलाई सघाउनेलाई ‘सी’ मा राखिएको उनी बताउँछन् । ‘आफू पनि रकम असुल्न सक्रिय हुने र ‘बी’ र ‘सी’ समूहका नाइकेलाई सहयोग गर्नेहरूलाई ‘डी’मा राखेका हौँ,’ एसएसपी जोशीले भने, ‘निश्चित समूहमा नबस्ने, जसको समूहका लागि पनि काम गर्ने र उनीहरूको अरनखटनअनुसार स्थानीय क्षेत्रमा रकम असुली गर्नेहरूलाई ‘डी’ क्याटगोरीमा राखेका हौँ ।’
उपत्यकामा गुन्डाबारे जानकार एक प्रहरी अधिकारी यो सूचीप्रति सहमत देखिएनन् । सक्रियताको आधारमा पहिलो नम्बरमा चक्रे हुनेपर्ने ती अधिकारीले बताए । चक्रे आफैँ आपराधिक गतिविधिमा संलग्न छैनन् । तर, महाराजगञ्ज क्षेत्रमा सहयोगी परिचालन र धन्दा जारी छ । सक्रियताका आधारमा दोस्रोमा गोर्खाली पर्छन् । अहिले काठमाडौँ मल उनकै समूहको कब्जामा छ ।
त्यसपछि मनाङे र गणेश सक्रिय छन् ।
हतियार र लागुऔषधको अभियोगमा केन्द्रीय कारागार पुगे पनि रमेश बाहुन जेलभित्रैबाट समूह परिचालनमार्फत जबर्जस्ती रकम असुलीमा सक्रिय रहेको प्रहरीको विश्लेषण छ । उता, गणेश लामा अहिले आफैँ खटिएका छैनन् । उनी एक जना इन्जिनियरमार्फत ठेक्कापट्टामा सक्रिय छन् ।
बाघे र समिरमानको क्षेत्र एकै हो । अहिले उनीहरू उठ्तीपुठ्तीसँगै बालुवा ठेक्कामा सक्रिय छन् ।
एक प्रहरी अधिकारीको दाबीअनुसार सक्रियताका आधारमा दावा लामा ‘ए’ समूहमा पर्नुपर्ने गुन्डा हुन् ।
प्रहरी विश्लेषणमा यस्ता छन् चुनौती
प्रहरीको सूचीमा रहेकाहरू कुनै न कुनै राजनीतिक दलमा आबद्ध छन् । कोही केन्द्रीय तहमै पदाधिकारी छन् भने कोही क्षेत्र र जिल्लामा । मनाङे राप्रपा मनाङको अध्यक्ष हुन् ।  गणेश लामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । चक्रे आवश्यकताअनुसार एमालेका लागि खटिँदै आएका छन् ।
 समिरमान कांग्रेसमा आबद्ध छन् । उपत्यकामा हुने चुनावी कार्यक्रममा उनी प्रायः कांग्रेसका प्रभावशाली नेताको सहयोगमा खटिइरहेका हुन्छन् । राजु कांग्रेसका कट्टर समर्थक हुन् । साजन एमालेमा आबद्ध छन् । रोज राणा कांग्रेसको क्षेत्रीय सभापति नै हुन् । रमेश बाहुन एमाले जिल्ला सदस्य हुन् ।
एसएसपी जोशी स्थानीय तह निर्वाचनअगाडि निर्वाचनको सुरक्षामा हुने जोखिमलाई केन्द्रमा राखेर सूची बनाइएको बताउँछन् ।
प्रतिस्पर्धीलाई धम्क्याउने, चुनावी प्रचार प्रभावित बनाउनेलगायत क्रियाकलापमा आपराधिक गतिविधिमा लागेकाहरू संलग्न हुने गरेका छन् । चुनावको समयमा नेताहरूले समेत जस्तो पृष्ठभूमिका भएकालाई पनि सहयोगीका रूपमा परिचालन गर्छन् ।
‘अहिले हाम्रो चासो चुनावी सुरक्षा नै हो,’ एसएसपी जोशीले भने, ‘संगठित बनेर सुरक्षा चुनौती बढाउन सक्ने विश्लेषणका आधारमा सूची बनाएका हौँ । उनीहरू सक्रिय होलान् र निर्वाचन सुरक्षामा प्रतिकूल प्रभाव पर्ला भनेर निगरानी बढाएका हौँ ।’
सुरु भयो पक्राउ शृंखला
संगठित रूपमा आपराधिक गतिविधिमा लागेकाहरूको निगरानीका लागि महाशाखामा डीएसपीको कमान्डमा टोली छ । महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार सो टोलीले आपराधिक गतिविधिमा संलग्नहरूको आपराधिक रेकर्ड, पृष्ठभूमि, सदस्य र सक्रियताको निगरानी गर्छ । महाशाखाले जेलमा रहेका रमेश बाहुन, पञ्चे, विश्वक्रान्ति लगायतहरूको गतिविधि समेत निगरानी गर्ने गरेको एसपी कार्कीले बताए ।
‘अहिले हामी पक्राउ गर्ने, सार्वजनिक अपराधमा मुद्दा चलाउने र छाड्ने मोडलमा छैनौँ,’ एसपी कार्कीले भने ‘प्रभाव रहेको र सदस्य परिचालन गरेर आपराधिक गतिविधि गर्ने मुख्य नाइकेहरू निगरानीमा छन् । कुनै पनि अपराधमा उनीहरूको संलग्नता देखियो भने छाड्दैनौँ ।’
परिसरले भने पक्राउको क्रमलाई प्राथमिकता दिएको देखियो । परिसरले यो बीचमा दावा लामा, राम गिरी, कर्मा घले, ज्याक गुरुङ, कोते गुरुङ, पुनम कार्की, शशांक श्रेष्ठ, मुन लामा, कुमार गोले तामाङ, मिन लामा, नानीबाबु थापा र सागर थापामगरलाई पक्राउ गरिसक्यो ।
परिसरका एसपी प्रधुम्न कार्कीले आपराधिक गतिविधिमा संलग्न देखिएकालाई नियन्त्रणमा लिने, अनुसन्धान  गरेर आपराधिक घटनामा संलग्नलाई कारबाही  र संलग्न नदेखिएकालाई सचेत गराएर छाड्ने गरेको बताए ।
यी अटाएनन् सूचीमा
क्यासिनोको लतमा फसेकालाई चर्को  ब्याजदरमा ऋण दिएर उठिबासै गराउन कहलिएका बलराम सापकोटा उर्फ बले परिसरले बनाएको १ सय २२ जनाको सूचीमा छैनन् । जानकार प्रहरी अधिकारी उनी अहिले पनि आफ्नो धन्दामा उत्तिकै सक्रिय रहेको बताउँछन् । पुरानै धन्दाका पीडितको संख्या दर्जनौँ रहेको बताउँदै ती अधिकारीले भने, ‘उनी सुध्रिएका छैनन्, सेटिङ मिलेको मात्रै हो ।’
प्रहरीको एक वर्ष अगाडिसम्मको सूचीमा ललितपुरलाई आधार क्षेत्र बनाएर आपराधिक गतिविधिमा संलग्न भनेर सूचीकृत मीनकृष्ण महर्जन समेत नयाँ सूचीमा छैनन् । विशेष गरी, ललितपुर क्षेत्रमा हुने ढुंगाखानी सञ्चालन र ठेक्कामा बलियो प्रभाव रहेका उनी र रमेश बाहुनबीच ठेक्काबाट उठाउने कमिसनमा विवाद बढ्दा उनी झण्डै मारिएका थिए । गोली लागेर घाइते भएका उनी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा बढी सक्रिय छन् ।
ललितपुरकै श्याम महर्जन र उमेश महर्जन पनि सूचीमा छैनन् । अभिमानसिंह बस्नेत, कुमार घैँटे समूहका नाइके सानुभाइ महर्जन, काभ्रेली समूहका विष्णु लामा, अशोक लामा, कहलिएका गुन्डा सुक्रे तामाङ र सगुन श्रेष्ठ र अभिषेक गिरीलाई समेत प्रहरीले गुन्डाको सूचीबाट मुक्त गरेको छ । आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको अभियोगमा विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका पर्शुराम बस्नेतलाई समेत प्रहरीले गुन्डाको ‘ट्याग’बाट मुक्त गरेको छ ।
‘अहिले बनाएको सूची नै अन्तिम हैन, आवश्यकताअनुसार नाम पर्नुपर्ने छुटे या सुध्रिसकेको नाम परेको रहेछ भने उनीहरूको पृष्ठभूमि र अहिलेको सक्रियताको निगरानी गरी संशोधन गर्न सकिन्छ ’ एसएसपी जोशीले भने ।


‘गलत नियतले गुन्डाको सूची बनाएका हैनौँ’

एसएसपी छविलाल जोशी
गुन्डाहरूको सूची बनाएर बस्नुभएको रहेछ । यो अपराध नियन्त्रणका लागि हो कि ‘बार्गेनिङ टुल’ हो ?
निर्दोषको नाम सूचीमा छैन । हिजोका दिनमा गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेका, अहिले पनि सक्रिय र भोलिका दिनमा थप सुरक्षा चुनौती बढाउन सक्नेहरूको नाम संकलन गरेर सूची बनाएका हौँ । सूचीमा रहेको नाम हेर्दा नै यसको लक्ष्य अपराध नियन्त्रणका लागि हो भन्ने देखिन्छ । यो सूची कुनै बार्गेनिङका लागि हैन ।
यति जनाको सूची बनाएर खोजी गरिरहेका छौँ भनेर सार्वजनिक गरेको एक महिनासम्म कहलिएका कोही पक्राउ परेनन् । गम्भीर प्रकृतिको अपराधमा संलग्न कसैको नामै छैन । यसले तपार्इंले भनेजस्तो मात्र देखिएन त ?
कार्यालयमा रहेको पुरानो सूची र स्थानीय प्रहरी कार्यालयबाट विश्लेषणसहित आएको नामको आधारमा सूची बनाइएको हो । नाम संकलन र उनीहरूको गतिविधि निगरानीमा केही समय लाग्यो । अहिले हामीले अपराधमा संलग्न देखिएकाहरूलाई पक्राउ गर्न थालेका छौँ । पर्नुपर्नेको नाम छुटेको या हटाउनुपर्नेको नाम परेको छ भने उसको गतिविधिको विश्लेषणका आधारमा थपघट हुन सक्छ नै ।
स्थानीय तह निर्वाचन अगाडि सूची बनाउनुको कारण चुनावी सुरक्षा हो ?
यो नौलो काम हैन । प्रत्येक वर्ष प्रहरीले आपराधिक अवस्थाको विश्लेषणको आधारमा यस्तो सूची बनाउँछ नै । अहिले सूची बनाउँदा स्थानीय तह निर्वाचनको मितिसमेत घोषणा भएकाले गम्भीर प्रकृतिको अपराधमा संलग्न हुन सक्ने विश्लेषणसँगै चुनावी सुरक्षामा प्रभाव पार्न सक्ने पाटोको पनि विश्लेषण गरेका छौँ ।

गुन्डाहरू कुनै न कुनै दलसँग आबद्ध छन् नै । चुनावको मुखमा उनीहरूलाई पक्राउ गर्दा छाड्न आउने दबाब थेग्न सक्नुहुन्छ ?
अहिले हाम्रो हिरासतमा पाँच जना भन्दा बढी गुन्डा छन् । उनीहरूलाई पक्राउ गरेलगत्तै उनीहरू आबद्ध दलबाट छाड्न तारन्तार फोन आइ नै रहेका छन् । तैपनि, उनीहरू हिरासतमै रहनुले नै देखाउँछ, दबाबका भरमा अपराधमा संलग्नले उन्मुक्ति पाउन सक्दैन ।

Leave A Comment