प्रधानमन्त्रीको बाध्यात्मक साहस

शुक्रबार, २३ फागुन २०७६, ११ : ०७ शुक्रवार
प्रधानमन्त्रीको बाध्यात्मक साहस

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरे। बुधवार उनको मिर्गौला प्रत्यारोपण गर्ने मिति तय भयो। पहिलोपटक भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले आफ्नो उपचारको लागि पटक–पटक विदेशी चिकित्सक र अस्पतालको भर पर्ने गरेको देखिन्छ। केही वर्षअघि मेनेन्जाइटिसको उपचार गर्न बैंकक पुगेका ओली केही समयअघि पनि प्लाज्माफेरोसिसका लागि सिंगापुर पुगेका थिए। तर एपेन्डिक्समा आकस्मिक समस्या भएपछि भने नेपालमै एपेन्डिसाइटिसको उपचार गराएका थिए।

उनको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौंमा मंसिरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। आपतमा त नेपाली अस्पतालमै उपचार गराएका छन्। दोस्रो पटक नेपालकै र यही सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने साहस प्रधानमन्त्रीले लिएकै हुन्।

यसरी नेपाली  अस्पताल तथा चिकित्सकको भर पर्नु पनि ओलीको बाध्यता हो क्या ! किनभने विश्वभर कोरोना भाइरस (कोभिड–१९)को तनाव जो छ ! प्रधानमन्त्रीलाई पनि यसको डर अवश्य हुँदो हो। संसारभर नै हवाई यात्रा जोखिमपूर्ण बन्दै गइरहेका बेला उनको नियमित उपचार गर्न जाने ठाउँ सिंगापुर या थाइल्यानडमा पनि कोभिड १९ को जोखिम त छँदैछ।

यस्तो अवस्थामा ओलीले उपचारका लागि स्वदेशमै भरपर्ने जोखिम भने उठाएकोमा धन्यवाद त दिनैपर्छ। तर के गर्नु ? उनले नेपालकै सरकारी अस्पतालमा उपचार गर्नु बाध्यात्मक साहसका रुपमा यसलाई लिइने नै छ। त्यसो त उनको यो निर्णयले नेपाली चिकित्सक पनि उपचार गर्न सक्षम छन् भन्ने प्रमाणित गर्न सहयोग अवश्य मिल्छ। उपचारपछि ओलीले अवश्य भन्नेछन्, नेपाली चिकित्सक पनि कम छैनन् !

सबैभन्दा गज्जबको कुरा त, ओलीको आत्मविश्वासको कुरा पनि हो। अस्पताल छिर्नुअघि चाँडै ठीक भएर नियमित काममा फर्कने जुन दृढता उनले व्यक्त गरेका छन्, त्यसको भाषाका लागि त उनलाई मान्नै पर्छ बा !
प्रधानमन्त्री ओलीलाई हाम्रो पनि स्वास्थ्यलाभको शुभकामना ! साथमा, अब आइन्दा पनि उनको उपचार यहीँको सरकारी अस्पतालमा होस् भन्ने कामना !

Leave A Comment