प्रहार गन्ती !

शुक्रबार, २३ फागुन २०७६, ११ : ११ शुक्रवार
प्रहार गन्ती !

पूर्वप्रधानमन्त्री तथा नेकपाका डबल अध्यक्षमध्ये एक प्रचण्डमाथि यसै साता जुत्ता प्रहार भयो। राष्ट्रिय सभागृहमा तत्कालीन एमाले नेता भरतमोहन अधिकारीको स्मृति कार्यक्रममा दाहाललाई लक्षित गरी युवाले जुत्ता प्रहार गरे। धन्न ती युवाले दुई पटक जुत्ता प्रहार गर्दा पनि दाहाललाई भने लागेनछ। जुम्ला घर बताइएका ती युवा सानैदेखि प्रचण्डको नाम सुन्नेबित्तिकै ओक्रोशित हुने चर्चा बाहिरिएको छ। ती युवालाई नेकपाका कार्यकर्ताले पनि कुटपिट गर्न भ्याइहाले।

त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरी आवश्यक कार्बाही गर्ने जिम्मा त प्रहरीको पो हो त ! अब पार्टीकै कार्यकर्ताले कार्बाही थाल्ने भएपछि प्रहरीको काम के ? हुन त कम्रेड कार्यकर्तालाई यसको के मतलब ! गाउँमा हिजो भाटेकार्बाही गर्न बानी परेका कार्यकर्ताका लागि यो त सामान्य नै हो नि, कि कसो ?

त्यसो त राजधानीमै प्रचण्डलाई जुत्ता प्रहारको प्रयास यो दोस्रो हो। आठ वर्षअघि भृकुटीमण्डपमै भएको चियापान कार्यक्रममा पदम कुँवर नाम गरेका एक युवाले झापड हानेका थिए। यसरी झापड तथा प्रहार भइने नेता भने उनी एक्ला हैनन्। दाहाललाई थप्पड हान्नुपूर्व तत्कालिन माओवादी नेता झक्कुप्रसाद सुवेदीले पनि झापड खान भ्याएका थिए। 

तत्कालीन एमाले.अध्यक्ष झलनाथ खनालले पनि इटहरीको एक कार्यक्रममा देवीप्रसाद रेग्मीको हातबाट करिब दश वर्षअघि झापड खाएका थिए। त्यति मात्र कहाँ हो र ? नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई कांग्रेसकै कार्यकर्ताले कुर्सीको झटारो हानेका थिए।

नेतालाई मात्र होइन, नेताले पनि अन्यलाई मुक्का हान्न भ्याएका छन्। करिब दश वर्षअघि तत्कालीन कृषि राज्यमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई झापड हानेकी थिइन्। गत पुसमा पनि दुई नम्बर प्रदेशका राज्यमन्त्री योगेन्द्र यादवलाई नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य प्रमिलादेवी दासले झापड हानेकी थिइन्।

यसरी अराजक गतिविधि गर्नु अवश्यै ठीक हैन। तर के गर्नु ? कसले कहाँ प्रहार गर्न ढुकेर बस्छन्, पत्तै नहुने भयो !
डन्ट वरी प्रचण्डज्यू, यसरी झट्टी र झापड खाने व्यक्ति तपाईं मात्रै हैन क्या !

Leave A Comment