दाजुभाइको सम्पत्तिमा श्रीमतीको हक लाग्छ ?

बिहिबार, १७ माघ २०७५, ०७ : ११ स्वीकृति बराल
दाजुभाइको सम्पत्तिमा श्रीमतीको हक लाग्छ ?

प्रश्न : हामी दाजुभाइ कोही पनि छुट्टिएका छैनौँ । एकै परिवारमा छौं तर मेरी श्रीमती विगत ३ वर्षदेखि बिना कुनै जानकारी दुबईमा छिन् । यस्तो अवस्थामा अंशबण्डासहित सम्बन्ध विच्छेद गर्नुपरेमा दाजुभाइले कमाएको सम्पत्ति पनि भाग लाग्छ कि लाग्दैन ? कानुनमा के छ ? 


उत्तर : शबण्डाको कुरा गर्दा सबैभन्दा पहिले अंशको दाबी गर्न पाउने हकदार को–को हुन्, बुझ्न जरुरी हुन्छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले एकै परिवारका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीलाई अंशियार मानेको छ । 

अंशको भागबण्डा लगाउँदा सगोलको सम्पत्ति र सगोलको सम्पत्तिबाट बढे–बढाएको सम्पत्तिको मात्र बण्डा लगाउनु पर्छ । सगोलको सम्पत्तिमा परिवारका प्रत्येक सदस्य बराबरका हकदार हुन्छन् । निजी आर्जनबाट कमाएको सम्पत्ति हो भने त्यस्तो सम्पत्ति सगोलको सम्पत्ति मानिँदैन तर तपाईंले निजी आर्जनबाट कमाएको सम्पत्ति हो भन्ने कुरा तपाईँले प्रमाणित गर्न सक्नुपर्छ किनभने कानुनले प्रमाण खोज्छ र प्रमाण भएमा मात्र विश्वास गर्छ । 

उसो भए सगोलको सम्पत्ति र निजी आर्जनको सम्पत्ति कसरी पत्ता लगाउने त ? यसका लागि पनि मुलुकी देवानी (संहिता ) ऐन, २०७४ मा उल्लेख छ । ऐनअनुसार, आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको,  दान, बकस वा अपुतालीस्वरूप प्राप्त गरेको, चिठ्ठा वा उपहारस्वरूप प्राप्त गरेको, पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षण बापत प्राप्त गरेको, कानुनबमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको सम्पत्ति निजी आर्जनको हो । 

यसैगरी महिलाले विवाहपूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको, महिलालाई पति वा पतितर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति, बौद्धिक सम्पत्ति वा रोयल्टीस्वरूप प्राप्त गरेको, कानुनबमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख छ ।

त्यसैगरी पुख्र्याैलीबाट प्राप्त सम्पत्ति, निजी सम्पत्तिबाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति र अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्तिलाई सगोलको सम्पत्ति मानिन्छ ।

तपाईँले प्रश्नमा श्रीमती ३ वर्षदेखि विदेशमा छिन् र यस्तो अवस्थामा अंशबण्डासहित सम्बन्ध विच्छेद गर्नु परेमा दाजुभाइले कमाएको सम्पत्ति पनि भाग लाग्छ कि लाग्दैन भनेर सोध्नु भएको छ । तपाईँको भागको अंशबाट मात्र तपाईँकी श्रीमतीले अंश पाउने हो, दाजुभाइको सम्पत्तिबाट होइन । तपाईँ श्रीमान्÷श्रीमतीबीच अंशबण्डा गर्दा तपाईँको अंशभाग तथा तपाईँ पतिपत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति मानिन्छ र भागबण्डा लगाउँदा तपाईँको परिवारमा पतिपत्नी दुईजना मात्र अंशियार देखिएकाले तपाईँहरु दुवैको सम्पत्तिमा बराबर भाग लगाई सम्बन्ध विच्छेद गर्न सकिन्छ ।

 

-कानुनसम्बन्धी कुनै जिज्ञासा भए infoshukrabar@gmail.com मा पठाउन सक्नुहुनेछ ।

Leave A Comment