ओलम्पिक टर्चमा पानी प्रहार

बिहिबार, १३ साउन २०७३, १० : १७ शुक्रवार , Kathmandu
ओलम्पिक टर्चमा पानी प्रहार

ब्राजिलको राजधानी रियो दी जेनेरोमा आउँदो अगस्टमा ३१ औँ ओलम्पिक खेलकुद हुँदै छ । आइतवार ब्राजिलको कृषि नगर माराकाहूबाट ओलम्पिक टर्च राजधानीतिर लगिँदै थियो । त्यही नगरका एकजना बासिन्दाले एक बाल्टिन पानी खन्याएर टर्च निभाउन खोजेका थिए । उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले २७ वर्षीय अभियुक्तको नाम भने खुलाएको छैन । उनलाई सार्वजनिक सम्पत्ति नष्ट गर्न खोजेको आरोपमा पक्राउ गरिएको थियो ।

युट्युबमा उपलब्ध भिडियोमा टर्च बोकेको व्यक्तिको वरिपरि पानी हुत्याइएको देखिन्छ । पानी फाल्ने व्यक्ति भने देखिँदैन । तर, टर्च भने निभेको थिएन ।

‘उसले ‘मैले त ठट्टामात्र गरेको हुँ’ भन्यो,’ मातो ग्रोसो दो सुल राज्यका एक अधिकारीले भने । टर्च निभाउन खोज्न उक्त व्यक्तिलाई करिब तीन सय डलर जरिवाना तिराएर रिहा गरिएको छ ।

गत हप्ता ओलम्पिक टर्च उत्सवमा पनि ठूलै काण्ड भएको थियो । उत्सवपछि दुर्लभ प्रजातिको एक चितुवालाई गोली हानेर मारिएको थियो । संसारभरिका पशुअधिकारकर्मीहरूले यसको चर्काे विरोध गरेका थिए ।  

ओलम्पिक टर्चले राजधानी पुग्नुअघि ब्राजिलका करिब तीन सय शहरको यात्रा गर्नेछ । अगस्ट ५ मा ओलम्पिक खेलकुदको उद्घाटन समारोह हुनेछ ।

 

Leave A Comment