यौन दुव्र्यवहारको भिडियोले हंगामा

बुधबार, २३ माघ २०७५, ०५ : ३३ प्रजु पन्त
यौन दुव्र्यवहारको भिडियोले हंगामा

बस चढेकी यात्रुमाथि भएको यौन दुव्र्यवहारको भिडियो क्लिप सोसल मिडियामा सार्वजनिक भएपछि सामाजिक सञ्जाल तात्यो । माइक्रोमा चढेकी युवतीको सिट पछाडि बसेका एक युवाले माइक्रोभित्रै हस्तमैथुन गरेर ती यात्रुको कपालमा छर्किएको दृश्य असह्य थियो ।

सञ्जालमा भिडियो क्लिप सार्वजनिक भएलगत्तै सञ्जाल प्रयोगकर्मीहरु एक जुट भएर महानगरीय प्रहरी अपराध महाशाखा पुगेर उजुरीसमेत गरे । यसको नेतृत्व ‘वुमन रुम रिलोडेड’ले गरेको थियो । फेसबुक पेजमा आबद्ध १५ जना युवतीले सार्वजनिक यातायातमा महिलामाथि हुने यौन दुव्र्यवहारको अन्त्यको माग राख्दै निवेदन दिए ।

‘त्यो भिडियो सार्वजनिक भएपछि अति भयो भनेर हामी आएका हौँ,’ महाशाखामा भेटिएकी हिरा चापागाईँले भनिन् । निवेदनपछि प्रहरीले आफूहरु सक्रिय रहेको अभिव्यक्ति दिइरहेका छन् तर अनुसन्धान भने त्यत्ति उत्साहजनक देखिएको छैन ।

‘घटना अहिले तत्कालको नभई साउनको रहेछ,’ महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने, ‘घटना भएको बसको पहिचान भइसक्यो, घटनामा संलग्न खोज्दैछौँ ।’

सार्वजनिक यातायातमा यौन हिंसा भएको घटनाको भिडियो क्लिप सञ्जालमा सार्वजनिक भएको यो पहिलो घटना भने हैन । दुई महिनाअगाडि बसमा यात्रुको भिडभाडकै बीच यस्तै प्रकृतिको अश्लील व्यवहार गरिएको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सो भिडियो फैलिए पनि सशक्त आवाज नउठ्दा केस प्रहरीसम्म पुगेन । दोस्रो भिडियो क्लिपको दृश्य निकै भद्दा र घिनलाग्दो भएकाले धेरैको ध्यान तान्यो र घटना प्रहरीसम्म पुग्यो ।

जति भिड उति बढी दुव्र्यवहार 
सार्वजनिक यातायातमा यौन दुव्र्यवहारको समस्या पुरानै हो । यस्तोमा मुख्यगरी महिला यात्रुहरु नै पीडित हुने गरेका छन् । नियन्त्रणका लागि भन्दै विभिन्न नाममा अभियान पनि चल्ने गर्छ तर नियन्त्रणमा त्यसैको प्रभाव बलियो देखिन्न ।

अहिलेको अवस्था के रहेछ त ?
शु्क्रवारकर्मी आफैँ सोमबार गौशालादेखि गौशालासम्म एक राउन्ड चक्रपथ परिक्रमा गरेको थियो । अहिले सञ्जालमा चलेको यौन दुव्र्यवहार विरुद्धको अभियानको प्रभाव हो या ‘साइको’ यात्रु नआएका हुन्, परिक्रमाका क्रममा त्यस्तो आपत्तिजनक दृश्य भने देखिएन ।

यात्रुहरुसँगको कुराकानीमा बिहान ६ बजेको कलेजको टाइम, ९ बजेको अफिस टाइम र बेलुका घर फर्कने समयमा सार्वजनिक यातायातमा बढी यौन दुव्र्यवहारको घटना हुने गरेको यात्राका क्रममा फेला परेका केही महिलाले बताए ।

झिसमिसे बिहानीमा सार्वजनिक यातायातका अधिकांश यात्रु कलेज हिँडेका युवा–युवती हुने भएकाले यो समयमा उनीहरु नै बढी यौन दुव्र्यवहारको शिकार हुने, बिहान ९ बजे कामकाजी महिला र बेलुका ५ देखि ७ बजेसम्म कार्यालयबाट घर फर्कने, काम विशेषले घरबाहिर आएका युवती र महिला सार्वजनिक यातायातमा यौन दुव्र्यवहारबाट पीडित हुने गरेको गुनासो उनीहरुको थियो ।

चक्रपथ यातायातमा भेटिएकी कोटेश्वर बस्ने सीमा बस्नेत पशुपति क्याम्पसमा स्नातक तहमा अध्ययनरत छिन् । उनी सार्वजनिक यातायातकै प्रयोग गर्छिन् । सिट क्षमताभन्दा बढी यात्रु राखिदिँदा यौन दुव्र्यवहार हुने उनको अनुभव छ ।

‘सकेसम्म त सिट फेला पर्ने गाडी नै रोज्ने हो तर सधैँ सिट भेटिन्न,’ उनले प्रस्ट्याउँदै भनिन्, ‘गाडीमा दुईतिर उभ्याएर एक लाइनमा टाँसिएर उभिदा त सकस नै हुन्छ । दुई तिर फर्किएर उभिँदा छोइन्छ । सबै असल नियतका हुन्छन् भन्ने हुँदैन ।’

जानुका घिमिरेको अनुभवमा युवा उमेरका भन्दा पनि पाका उमेरकाले मौका हेरेर बढी दुव्र्यवहार गर्छन् । नजिकै आउने, ब्याग समाइदिन्छु भनेर हात सुम्सुमाउने, अस्वभाविक व्यवहार गर्ने गरेको उनको अनुभव छ । 

के कस्ता उजुरी र कति आए ?
सार्वजनिक यातायातमा हुलमुल हुँदा छोइनु सामान्य नै हो तर अस्वाभाविक रुपमा ढेसिने, संवेदनशील अंगमा छुने, सिटमा निदाएको स्वाङ पारेर संवेदनशील अंगमा हात पुर्याउने, तिघ्रामा हात राख्ने, अस्वभाविक तरिकाले संवेदनशील अंगमा हेर्नेजस्ता दुव्र्यवहार बढी हुने गरेको पाइन्छ । 

सार्वजनिक यातायातमा बग्रेल्ती यस्ता घटना हुने गरे पनि उजुरी दिने क्रम भने निक्कै कम छ । सार्वजनिक यातायातमा हुने दुव्र्यवहार नियन्त्रणका लागि राष्ट्रिय महिला आयोगले ११४५ हटलाइन नै राखेको छ । तर सो हटलाइनमा एक वर्षको बीचमा जम्मा एउटा मात्र उजुरी आउनुले पनि यसको

विश्वसनीयता प्रस्टिन्छ ।
सार्वजनिक यातायातमा हुने यौन दुव्र्यवहार नियन्त्रणमा बेलाबखत प्रहरीले भने अभियान चलाउने गर्छ । पछिल्लो समय महानगरीय प्रहरी कार्यालयले सेफ्टीपिन अभियान सुरु गरेको थियो । 

यो अभियान भने केही प्रभावकारी देखियो । महानगरीय प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७४ साउन १८ देखि ०७५ माघ पहिलो हप्तासम्ममा काठमाडौं, ललितपुर र भक्तपुरका सार्वजनिक यातायातमा यौन दुव्र्यवहार गर्ने ४ सय २१ जना पक्राउ परेका थिए । त्यीमध्ये ७७ जनालाई सार्वजनिक अपराधको अभियोगमा कार्बाही गरिएको महानगरिय प्रहरी कार्यालयकी प्रवक्ता पूजा सिंहले बताइन् । 

‘अभद्र शब्द बोल्ने, अश्लील हर्कत गर्नेलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेका छन्,’ सिंहले भनिन्, ‘उनीहरुलाई कार्बाहीको दायरामा ल्याएका छाैं।’  

महिला आयोगको हटलाइनमा अन्य प्रकारका महिला हिंसाको उजुरी आउने गरे पनि सार्वजनिक यातायातमा हुने यौन हिंसाबारे भने एउटा मात्र उजुरी आएको छ । त्यो पनि पीडितले नभई देख्ने व्यक्तिबाट । 
‘हामीले उजुरी दिनुस् भनेर बस–बसमा नम्बर टाँसेको धेरै भयो,’ राष्ट्रिय महिला आयोगकी प्रोजेक्ट म्यानेजर पलिता थापाले भनिन्, ‘तर आफूमाथि परेको हिंसा भन्ने चलन आइसकेको छैन । उजुरी  सोचेजस्तो आएको छैन ।’ 
 

Leave A Comment