ब्वाइफ्रेन्ड नपाएकालाई ‘लभ लिभ’

बिहिबार, २४ माघ २०७५, ०५ : ५२ शुक्रवार
ब्वाइफ्रेन्ड नपाएकालाई ‘लभ लिभ’

पहिला चीनलाई जनसंख्या नियन्त्रणको यति धेरै तनाव थियो कि त्यसलाई रोक्न ‘एक सन्तान’ नीति अख्तियार गर्यो । समृद्धि बढेसँगै त्यहाँका महिलाहरु अहिले बिहे गर्न राजी नै हुन छाडे । त्यसैले अहिले चिनियाँ सरकार कसरी आफ्ना जनताले बढीभन्दा बढी सन्तान जन्माउलान् भनी घोर चिन्ता गर्न थालेको छ ।

चन्द्र वर्षको पात्रोअनुसार नयाँ वर्षमा प्रायः नेपालीहरु दशैँका बेला घर गएजस्तै काममा बाहिर रहेका चिनियाँहरु गाउँघर जाने चलन छ । यस्तो बिदामा यतिबेला चिनियाँ सरकारले हरेक ३० वर्ष कटेकी तर बिहे नगरेकी युवतीलाई थप आठ दिने बिदा थपिदिएको छ । सरकार चाहन्छ, एक्ली चेलीले कुनै उपयुक्त वर पाओस् र दुवै मिलेर सन्तान जन्माऊन् ।

यसअघि चिनियाँ सरकारले दुई सन्तान जन्माउन आफ्ना नागरिकलाई प्रोत्साहित गरिरहेको थियो । समस्या के छ भने उनीहरुले दुई सन्तान त कहाँ हो कहाँ, एउटै मात्र जन्माउन पनि गाह्रो मानिरहेका छन् । खासगरी महिलाहरुको आम्दानी बढेसँगै उनीहरु सन्तान जन्माउने र लालनपालन गर्ने झण्झटमै नपरुँजस्तो गर्न थालेका छन् ।

सरकारको आशय छ, नयाँ वर्षको उपलक्ष्यमा दिइने यो आठ दिने छुट्टि चाहिँ एकल युवतीले डब्बल हुने अवसर पाऊन् । सरकारको लोलीमा बोली मिलाउँदै पूर्वी चीनको हाङझाओमा दुई वटा कम्पनीले आफ्ना महिला कर्मचारीलाई ‘प्रेमको छुट्टि’ (डेटिङ लिभ) दिएको थियो । त्यस्तै यस्तो बिदा शिक्षिकाले पनि पाइरहेका छन् । यस किसिमको बिदालाई ‘लभ लिभ’ भनेर खिसी गर्न थालिएको छ ।

चीनमा ३० वर्ष उमेर टेकेका महिलालाई ‘लेफ्टओभर’ अर्थात् कसैले नउठाएकी महिलाका रुपमा चित्रित गरिन्छ । यो महिलाका लागि अति अपमानजनक शब्द हो । कसैले नहेरेका महिलाका रुपमा उनीहरु चिनिन्छन् ।

आफ्नो करियरलाई बढी ध्यान दिएका कारण उनीहरुले बिहे गर्न नभ्याए पनि उनीहरुलाई हेयको दृष्टिले हेरिन्छ । तर यसलाई एकल महिलाहरुले स्वतन्त्रताका रुपमा व्याख्या गर्न थालेका छन् । बिहे गर्नु झण्झट र बन्धन ठान्नेका लागि भने एकल रहनु उपयुक्त हुने ठानिरहेका छन् । तापनि जनसंख्या दर घट्दै जाँदा सरकारले महिलाहरुलाई बिहेको मनोवैज्ञानिक दबाब दिइरहेको छ ।

साथीको खोजी
साथी खोज्ने बिदा त स्थानीय सरकारले दियो तर तिनले यत्तिका बिदामा कसरी साथी पाउलान् त ? डेटिङ लिभ पाउनेबित्तिकै केटा फेला पर्ने र सन्तान पनि जन्मने त पक्कै पनि होइन होला !
‘केही महिला काममा यति व्यस्त हुन्छन् कि बाहिरी संसारबाट उनी पूरै काटिन्छन्,’ जीवनसाथी खोज्ने एउटा संस्थाका म्यानेजर हुआङ लि भन्छन्, ‘त्यसैले यस्ता बिदाले उनीहरुलाई समाजसँग जोड्न भूमिका खेल्छ । समाजसँग जोडिनेबित्तिकै उनीहरुले केटा पाउने सम्भावना पनि बढेर जान्छ ।’
सरकारी भनाइ मान्ने हो भने महिलालाई दिइएको यो डेटिङ बिदा उनीहरुले खुबै रुचाएका छन् तर बिदा रुचाउनु र सन्तान जन्माउनुमा फरक त छ नि, हैन र ?
 

Leave A Comment