गलत घरमा छिर्दा...

बिहिबार, २४ माघ २०७५, ०५ : ५७ शुक्रवार
गलत घरमा छिर्दा...

तपाईंले एउटा जँड्याहाको जोक सुन्नुभएको छ ? छैन भने रोचक समाचारभन्दा अगाडि त्यो जोक नै सुन्दा रमाइलो होला ।

एउटा जँड्याहाले टन्न रक्सी खाएपछि उसको साथीलाई बडो सकस हुन्छ । उसले जँड्याहा साथीलाई घर पुर्याइदिऊँजस्तो लाग्छ । जँड्याहाले पनि हुन्छ भन्छ । त्यसपछि जँड्याहाले आफ्नो घर अगाडि पुगेर भन्छ, ‘सुन् साथी, यो हो मेरो घर ।’

त्यसपछि उनीहरु दुवै घरभित्र छिर्छन् । जँड्याहाले भन्छ, ‘यो हो मेरो घरको बैठक कोठा । उतापट्टि छ भान्सा । यो हो, ट्वाइलेट ।’

यत्तिकैमा उनीहरु एउटा कोठामा छिर्छन् । त्यहाँ एउटी महिला र अर्को पुरुष सुतिरहेका भेटिन्छन् । जँड्याहाले भन्छ, ‘ऊ त्यो तेरी भाउजू हो र ऊसँगै सुत्या पुरुष छ नि, त्यो म हुँ ।’
हाँसो उठेन ? उठ्यो ? ल ठीक छ । यस्तै किसिमको एउटा घटना झन्नैझन्नै अमेरिकाको एउटा सहरमा घट्न पुग्यो ।

जाँडले टन्न भएर लर्खराएको मानिसले एउटा गलत कारमा चढ्न पुग्दा अर्कै घरमा घुस्न पुगेको छ । प्रहरीका अनुसार, ती जँड्याहाले रोकिएको लिफ्ट लिएका थिए र अर्कैको घर ढक्ढक्याउन पुगे । 
जसै उनी घरभित्र छिरे, अपरिचित मान्छे जाँडले मात्तिएर घरभित्र छिरेको भन्दै घरधनीले प्रहरीलाई खबर गरे । प्रहरीले उनलाई पक्राउ गर्यो ।

स्थानीय प्रहरी प्रमुख पल फेन्टनले भने, ‘ती व्यक्तिले जाँड यति धोकेका थिए कि बेसुध भएर अर्कैले रिजर्भ गरेको ट्याक्सीमा चढे । त्यति मात्र होइन, उनी गलत घरमा छिरे । धन्न, अर्काकी श्रीमतीलाई आफ्नी भनेनन् !’

जसै प्रहरीले उनलाई केरकार गर्न थाल्यो, ती व्यक्तिको होश उडिहाल्यो । पछि ती जँड्याहाले घरधनी र प्रहरीसँग माफी मागे । प्रहरीले कुनै गम्भीर अपराध नभएका कारण जँड्याहालाई जेलमा नहालेको स्पष्टोक्ति दिएका छन् ।

रोचक त के छ भने एसोसिएटेड प्रेसको यो समाचार मुन्तिर एक जना टिप्पणीकर्ताले भनेका छन्, ‘ओहो, यसरी बेसुध हुने गरी नपिएको पनि वर्षौं भएछ ! आई मिस दोज् मोमेन्ट्स् !!’
 

Leave A Comment