ड्रग्सको दलदलमा वीरगञ्ज

सोमबार, २८ माघ २०७५, ०२ : १७ रितेश त्रिपाठी
ड्रग्सको दलदलमा वीरगञ्ज

‘रक्सोलबाट सिमरा जान लाग्दा सीमानजिक समातिएँ, चार ग्राम खैरो हिरोइन थियो, कैद भुक्तान गरिरहेको छु,’ वीरगन्जस्थित कैदीबन्दी सुधार गृहमा कैद भुक्तान गरिरहेका सिमरा घर भएका एक ३० वर्षे युवाले भने, ‘दुई वर्ष मलेसियामा काम गरेर कमाई ल्याएको पैसा मुद्दामा परेपछि सक्कियो । आमा यहाँ भेट्न आउनु हुन्छ, उहाँलाई दुःखी देख्छु । निकै पीर मान्नु भएको छ ।’ 

वीरगन्जस्थित कैदीबन्दी सुधारगृहमै भेटिएका वीरगन्ज १५ का अर्का ३३ वर्षे युवा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भई यहाँ कैद भुक्तान गर्दैछन् । कारोबारमा उनले आफ्नो संलग्नता अस्वीकार गरे पनि लागू औषध ओसारपसारदेखि त्यसको रकम भुक्तानीका लागि रकम ‘ट्रान्जेक्सन’ गराउन उनको भूमिका रहेको प्रहरीको अनुसन्धानमा उल्लेख छ । 

वीरगन्ज मूल घर भएका दाजुभाइ मिलेर भारतीय लागू औषध कारोबारीका लागि काम गर्न सुरु गरेका थिए । दाजु चरेशसहित पक्राउ परेर जेलमा छन् भने यता भाइले घर बेच्नु परेको छ । घर बन्धक राखेर लागू औषधको काममा लगाएको रकम भारतीय पार्टनर उता पक्राउ परेपछि डुब्यो । यता घर बेच्नु प¥यो । 

तराईमा फैलँदो लागू औषधको जालोको यी त केही प्रतिनिधि घटना हुन् । पर्सा जिल्लाको अपराध तथ्यांक हेर्ने हो भने सीमावर्ती यो जिल्लाको युवाको कहालीलाग्दो अवस्था  छर्लङ्ग हुन्छ ।  

नेपाल–भारत सीमा जोड्ने प्रमुख नाका वीरगन्जको लागुऔषधको मुद्दामा कारागारमा रहेकामध्ये ८१ प्रतिशत युवा छन् । कारागारमा कैद सजाय भुक्तान गरिरहेका र पुर्पक्षका लागि राखिएका कैदीबन्दीमध्ये ४० प्रतिशतभन्दा बढी लागू औषधका छन् । गत आर्थिक वर्षको तथ्यांकअनुसार प्रहरीले पर्सामा एक सय ४२ वटा लागू औषधसम्बन्धी मुद्दा चलाएको छ । यसमा २ सय १२ जना प्रतिवादी छन् । 

प्रतिवादी अभियुक्तमध्ये १६ देखि ३५ वर्ष उमेर समूहका ८१ प्रतिशत छन् । त्यसमा महिलाको संख्या २१ छ । वीरगन्ज कारागारमा करिब एक हजार २ सय ८० कैदी बन्दी छन् । त्यसमा ५ सय ३० जना लागू औषधमा परेका हुन् । त्यहाँ रहेकाहरु ७५ प्रतिशतको उमेर  ३५ वर्षमुनि छ । 

‘यहाँ लागू औषधको मुद्दामा आएकाहरुको संख्या सबभन्दा बढी छ । यहाँ मात्रै हैन अधिकांश जेलको अवस्था यस्तै छ,’ वीरगन्जस्थित कैदीबन्दी सुधार गृहका सूचना अधिकारी गणेश भण्डारीले भने, ‘त्यसमा पनि युवाहरुको संख्या धेरै छ । यस पछाडिका कारण भने म बताउन सक्दिनँ ।’ 

युवाहरुको एउटा ठूलो संख्या लागू औषधको जालोमा परिरहेको यही तथ्यांकले देखाउँछ । 
लागू औषधको प्रयोग र कारोबारमा साङ्लोजस्तै सम्बन्ध देखियो । लागू औषधको प्रयोग र ओसारपसारमा लागेका युवाले आफ्ना साथीहरुलाई यो क्षेत्रमा ल्याउने गरेको देखिन्छ ।

‘यो साङ्लो तोड्नु चुनौतीपूर्ण छ,’ वीरगन्जमा विगत दुई दशकदेखि लागू औषध प्रयोग तथा ओसारपसार न्यूनीकरणका लागि काम गरिरहेका अभियन्ता महेश अर्याल भन्छन् । उनले ७० प्रतिशत दुव्र्यसनी संगतका कारण फँस्ने गरेको बताए ।

उनका अनुसार लागू औषध कारोबारमा प्रहरीले पक्राउ गर्नेमध्ये ६५ प्रतिशत भरिया हुन्छन्, जो आफैँ प्रयोगकर्ता पनि हुन्छन् । युवा पुस्ता लागू औषधको चक्रव्यूहमा फँस्दै जानुमा सामाजिक र पारिवारिक कारण जिम्मेवार रहेको अर्यालको ठम्याइ छ । 

‘परिवारले समय नदिँदा किशोर–किशोरीको बढी समय दौतरीसँग बित्छ,’ उनले भने, ‘उनीहरुकै कुरा मन पराउन थाल्छन् र कुलतमा फँस्छन् ।’

लागू पदार्थ नियन्त्रण एकाइमा लामो समय काम गरेका प्रहरी नायब निरीक्षक विजय शाहीका अनुसार फेनागन, ब्रुपी नर्फिन, डाइजिपाम जस्ता इन्जेक्सनबाट लिइने, नाइट्रोभेट, प्रोक्सिभ्यान, एभिलजस्ता ट्याब्लेट र कोरेक्स, फेन्सिडिलजस्ता सिरपको प्रयोग गर्नेमा युवापुस्ताको संख्या बढी छ ।

नियन्त्रणको प्रयास नहुने हैन तर प्रभावकारी देखिन्न । लागू औषध नियन्त्रणका लागि प्रहरीले अपनाएको उपायलाई छल्न कारोबारीले अर्को उपाय अपनाउने गरेका छन् । 

वीरगन्ज त लागू औषध ओसारपसारको ट्रान्जिटकै रुपमा परिचित बनिसक्यो । यताबाट भारततर्फ गाँजा, चरेश र हिरोइन तस्करी हुने गरेको छ भने भारतबाट प्रतिबन्धित इन्जेक्सन र ट्याबलेटहरु नेपाल भित्रने गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल बताउँछन् । 

‘प्रहरी अप्रेसनमा अधिकांश सहयोगीहरु पक्राउ पर्छन्,’ ढकालले भने, ‘वास्तविक कारोबारी थोरै मात्र पक्राउ पर्छन् ।’

कारोबारमा विभिन्न तह बनाएर कारोबार गर्ने, पक्राउबाट जोगिन एक तहको कारोबारीको सम्पर्क दोस्रो तहमा नहुँदा वास्तविक कारोबारीसम्म पुग्न कठिन हुने गरेको उनले बताए । 
 

Leave A Comment