राष्ट्रपति विद्यादेवी भण्डारीको तुलनामा उपराष्ट्रपति नन्दकिशोर पुन कम विवादमा आउँछन् । कुन कार्यक्रममा जानुहुन्छ, कुनमा जान हुँदैन भन्ने भेउ नपाउँदा कहिलेकाहीँ हल्का देखिन्छन् उनी । बाँकी त्यस्तो केही कमजोरी देखिएको छैन । राष्ट्रपति भण्डारीका सन्तान शान्त देखिन्छन् तर उपराष्ट्रपतिका पुत्र दिपेश पुन फरक छन् । ठेक्कापट्टा मिलाउने, प्रहरीको सरुवा बढुवादेखि राज्यका विभिन्न निकायमा उनको सक्रियता बढी देखिन्छन् । पैसा असुलीमा बारम्बार मुछिन्छन् उनी ।
हुँदाहुँदा अख्तियार दुरुपयोग गरेर बदमासी गर्नेलाई पास कस्न बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर आफैंले अख्तियारी दुरुपयोग गरेर ७८ लाख घुस खाएको आरोपमा अनुसन्धानमा तानिएका अख्तियारका आयुक्त राजनारायण पाठक प्रकरणमा समेत जोडिए उनी ।
सञ्चारमाध्यमबाट ढिला पोल खुले पनि राजनारायणको कतुर्त दृश्यमा कैद भएको गाइँगुइँ शक्तिकेन्द्रहरुमा पुगिसकेको थियो । जोगिनका लागि आफ्ना विश्वासीहरुलाई राजनारायण आफैंले गुहारेका समेत थिए । यही मेसोमा दिपेश पनि जोडिएको देखियो ।
उनले राजनारायणको पोल खुल्ने दृश्य सामग्री हत्याउन बाबुको पावरको दुरुपयोग गरेर गोप्य भिडियो खिच्ने व्यक्तिलाई प्रभावमा पारेर आफूअनुकूल काम गराउने प्रयास गरेको पोल खुलिसक्यो तर विचरा दिपेश असफल भएछन् यसमा । जानकारका अनुसार पुन आफैंले गोप्य भिडियो खिच्ने व्यक्तिसँग सम्पर्कको प्रयास गरेका थिए तर इग्नोर गरेछन् । उपराष्ट्रपति पुत्रलाई इग्नोर गरेको सहन सकेनन् । तापनि काम भइहाल्छ कि भनेर एजेन्ट पठाएछन् बाबुको नाम लिँदै । आयुक्त जस्ता व्यक्तिलाई त निरीह बनाउन खप्पिस व्यक्ति नाथे एजेन्टको प्रभावमा के पर्थे र !
बरु उनले उनीहरुको कालो कामको प्रयासको पनि भिडियो खिचिदिए र राजनारायणसँगै दिपेशको पनि पोल खुलाइदिए । यस अगाडि मलेसियामा नेपाली कामदार पठाउने एजेन्ट नियुक्तिमा समेत पुन सक्रिय रहेको पोल खुलिसकेको छ । छोराको एकपछि अर्को बदमासी सार्वजनिक भइरहँदा उपराष्ट्रपति भने अचम्मसँग मौन छन् । छोराको एकपछि अर्को बदमासी सार्वजनिक भइरहँदा उपराष्ट्रपति भने अचम्मसँग मौन छन् । धृतराष्ट्रझैँ बदमासी नदेखे जस्तै गरेर बसेका छन् उनी छाेराकाे बदमासीप्रति ।
यसरी बदमासीमा आँखामा पट्टी कसेर बस्दा नतिजा के आउँछ त्यो त महाभारतको कथा नपढे पनि पक्कै सुनेका त होलान् नै ! उपराष्ट्रपतिज्यू, छोरालाई दुर्योधनै बनाउने हो त ?
भाइ कांग्रेसको रमिता
लामै समय भयो, नेपाली कांग्रेसको ब्याक–बोन नेपाल विद्यार्थी संघ प्यारालाइज्ड भएको । न तोकिएको समयमा महाधिवेशन हुन सकेको छ, न प्रमुख प्रतिपक्ष दलको विद्यार्थी संगठनको रुपमा सडकमै बलियो उपस्थिति छ । पार्टी जसरी गुटले ग्रस्त छ, संगठन पनि उस्तै छ । पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल अनि कृष्ण सिटौलामा जसरी केन्द्रमा गुट छ, नेविसंघमा पनि उस्तै छ । नेतृत्व हत्याउन यी नै तीन गुटबीच रस्साकस्सी चल्नु नौलो पनि भएन ।
तर प्रतिस्पर्धा नेता रिझाउनमा मात्रै सीमित भएनन भाइ कांग्रेसहरु । एक अर्काविरुद्ध भित्रभित्रै गुपचुप षड्यन्त्र गर्दै आएका उनीहरु मैदानमै एक अर्काविरुद्ध ढुंगा बोकेर उत्रिए । पार्टीका केन्द्रीय तहका नेताहरुलाई साक्षी राखेर पार्टी केन्द्रीय कार्यालयअगाडि मज्जाले ढुंगा वर्षाए । रणसंग्रामै मच्चाए ।
यसरी आपसमा भिड्ने गुट पार्टी सभापति देउवा र पार्टी सभापति बन्ने सपनामा मग्न कृष्ण सिटौलाका गुट थिए । त्यसमा हल्का रामचन्द्र पौडेलको गुटले पनि हात तिखारे, मौका हेरे ।
बाहिर आ–आफ्ना गुटका भाइ कांग्रेसीहरु भिडिरहँदा पार्टी कार्यालयमा रहेका दाइ कांग्रेसीहरु भने रमिते बनिरहेका थिए । अर्को बिजोग, यसरी एकआपसमै लडेर देखाएको रमितामा लजाउनु पर्नेमा दाइ कांग्रेसहरु एकअर्काविरुद्ध आरोप लगाउनै व्यस्त भए । यो घटनाले देखायो, कांग्रेसीमा इमान त उहिल्यै हराइसकेको थियो, लाज पनि भागिसकेको रहेछ । मति बिग्रिएपछि कसको के लाग्छ र !
हिस्सै बनाए सभासद्ले
लौ नयाँ शक्तिका प्रदेश सांसदै पार्टीमा छिर्ने भए भनेर रसुवा कांग्रेस कम्ता हौसिएको थिएन ! जिल्लाको पार्टी संरचना नै विलय गराइने भइयो भनेर ठूलै तामझाम पनि गरे । केन्द्रबाट पार्टी सभापतिदेखि वरिष्ठ नेतालाई जिल्ला भित्र्याए । मञ्चमा आफ्नो मात्रै हैन, नयाँ शक्ति पार्टीको झण्डा पनि फहराए तर अन्त्यमा हिस्स बुढी खिस्स दाँत भए । अर्काको प्रदेश सांसदलाई खादा लगाएर कांग्रेसी बनाउँछु भनेर हौसिएर रसुवा पुगेका शेरबहादुर देउवाको अनुहार हेर्न लायक देखियो ।
जिल्ला तहका केही नेता झण्डासहित कांग्रेसका प्रवेश त गरे तर नयाँ शक्तिका प्रदेश सांसद प्रेम तामाङ भने फरार भइदिए । कांग्रेसी मज्जैले जिल्लिए । विचरा बाबुरामसँग सांसदको संख्या पनि कति नै छ र ! त्यसमा तामाङ कांग्रेसमा आउँदैमा बहुमत पुगेर प्रदेश सरकारै बन्ने पनि हैन । त्यसमा पनि प्रदेश निर्वाचनमा कांग्रेस–नयाँ शक्तिको तालमेलबाटै तामाङ सभासद् भएका थिए ।
लोभ गर्नुको पनि हद हुन्छ नि ! तामाङले जे गरे ठीकै गरे ।
Leave A Comment