दिवाकरको रिस

बिहिबार, ३० फागुन २०७५, ०५ : ४३ शुक्रवार
दिवाकरको रिस

जीवनसाथी, स्टुपिड मन, ऐश्वर्य, क्याप्टेन जस्ता फिल्म निर्देशन गरिसकेका फिल्म निर्देशक दिवाकर भट्टराई, यतिखेर एङ्ग्री मुडमा छन् । उनले हालै निर्देशन गरेको फिल्म ‘क्याप्टेन’ले राम्रै दर्शक बटुलिरहेको छ । दर्शक बटुलेर मात्र भएन, उनलाई समीक्षक पनि बटुल्नु पथ्र्यो क्यार ! त्यसैले उनको दिमाग तात्न पुग्यो ।

समीक्षकको नजरमा निर्देशक नै पुरापुर भिलेन बनेपछि दिवाकरले फेसबुकमा लामो स्टाटस लेख्दै रिस पोखे ।
उनको नजरमा फिल्म दुई किसिमको दर्शकका लागि बनाइन्छ रे ! पहिलो चाहिँ पैसा तिरेर हेर्ने दर्शकका लागि । अर्को चाहिँ समीक्षकका लागि ! संसारमै समीक्षकका लागि बनाइएका फिल्म त यो पंक्तिकारले हेर्न पाएको छैन तर यति चाहिँ पक्का हो, फिल्म राम्रो र नराम्रो हुन्छ । कमाउने फिल्म र नकमाउने फिल्म हुन्छ । 

उनको दाबी छ, उनले दर्शकका लागि फिल्म बनाएका हुन्, समीक्षकका लागि होइन । उनले पैसा कमाउन फिल्म बनाएका हुन्, गुमाउनका लागि होइन । उनले बनाएको फिल्म चाहिँ अडियन्सका लागि रे ! त्यसमा उनी सफल भएको दाबी गरिरहेका छन् ।

उनले माफी पनि मागेका छन्, फेसबुकमा । ‘प्राविधिक रुपमा केही कमी कमजोरी भएका छन्, माफी चाहन्छु ।’
तर बबुरा निर्देशकलाई के थाहा रहेनछ भने कुनै स्पोर्ट्स फिल्म चाहे त्यो ‘इन्भिक्टस’ होस् या ‘चक् दे इन्डिया’ चल्नका लागि फिल्म नै गतिलो हुनुपर्छ । ‘क्याप्टेन’ले व्यवसायिक रुपमा पैसा उठाउन त उठाउला तर सम्भावना भएको विषय हत्या त भएकै हो भनेर किन मान्नु हुन्न यार तपाईं ?
 

Leave A Comment