आर्यनको बेबी सावर

आइतबार, ०३ चैत २०७५, ०३ : ११ शुक्रवार
आर्यनको बेबी सावर

स्टार कलाकार आर्यन सिग्देलले एउटा आकर्षक तस्बिर जसै फेसबुकमा पोस्टिए, उनको प्रशंसा र आलोचनामा दुई वटा मोर्चा भिड्न थाले । तस्बिरमा बेबी बम्प थियो र आर्यनले फिल्मी क्ल्यापबोर्डमा डेट राखिदिए– २०७६ । 

अथ्र्याउनेहरुले उनले मिति नै तोकेकाले सिजरिङ गरेर बच्चा जन्माउने तयारी गरेको रुपमा बुझे । ‘सुत्केरी हुँदा समस्या भए सिजरिङ गर्ने हो, सामान्य अवस्थामा प्राकृतिक रुपमै जन्म दिनुपर्छ,’ भन्नेसम्मका सल्लाह दिनेहरुको कमी थिएन फेसबुकमा । खासमा उनले त सन्तान जन्मने वर्ष मात्र तोकेका थिए, मिति नै किटान त गरेका थिएनन् । र, पनि बढी बुझ्नेहरुप्रति कसको के लाग्छ ?

नेपाली संस्कारमा सन्तान जन्मने भएपछि खुसी मनाउने प्रचलन छ । त्यसलाई दही–चिउरा खुवाउने संस्कारका रुपमा लिइन्छ । यो संस्कारमा आफन्तहरु दही चिउरासँगै अन्य परिकार बोकेर गर्भवतीलाई भेट्न जान्छन्, उपहार दिन्छन् र खुसी साट्छन् । तराईतिर गोद भराई भन्छन् । 

पछिल्लो समय भने बेबी सावरको शैली बढ्दो छ । विदेशिएका नेपालीले दही चिउरा खुवाउनेलाई बेबी सावरको रुपमा मनाउन थालेपछि यता पनि त्यसको सिको हुन थालेको छ । गर्भावस्थाकी पत्नीको तस्बिर पोस्टिदा आर्यनले पनि पराया संस्कृतिको अनुकरण गरेको भन्दै हल्का आलोचना नै पाए । 

आलोचकको मुख थुन्न अब दही चिउरा खुवाएको तस्बिर सामाजिक सञ्जालमा आउन बेर छैन । यो त पछिको कुरा भयो तर जे गरे पनि आलोचना गर्नेहरुले भने आर्यनलाई धेरै फुर्सद भएको भनेर कटाक्ष गर्न पनि भ्याइसके । अब कटाक्षीहरुलाई के भन्न सकिन्छ र ?
 

Leave A Comment