मानव अधिकारकर्मीको ठगी यात्रा

बुधबार, १३ चैत २०७५, ०९ : १८ श्रीधर खनाल
मानव अधिकारकर्मीको ठगी यात्रा

‘मसँग अब केही बाँकी छैन, जेलमा बस्नेबाहेक अर्को विकल्प नै छैन,’ २५ दिन प्रहरी हिरासतमा बस्दा गोपाल शिवाकोटी ‘चिन्तन’ले यस्तै भनेर बिताए । उनले थुनछेक बसहमा न्यायाधीश अगाडि साधारण तारेखमा बस्न मात्र होइन आरोप पत्रै खारेजीको माग गरे तर उनको नाममा धरौटीसमेत निस्किएन । मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि फागुन २९ यता उनी जेलमा छन् ।

बुबाले दिएको एक सयका पाँच वटा नोट बोकेर २०३५ सालतिर काठमाडौं छिरेका ‘चिन्तन’ले जीवनको यो प्रहरमा आइपुगेर जेलको चिसो छिँडीमा दिन काट्नुपर्ला भनेर पक्कै सोचेका थिएनन् । तर मानव अधिकारको संरक्षकको रुपमा देश–विदेशमा समेत कहलिएका उनी ३ करोड ३५ लाख ठगी अभियोगमा अहिले जेल पुग्नु परेको छ ।

साथीभाइ र आफन्तसँग पैसा उठाएर गुमनाम भएका चिन्तनलाई प्रहरीले माघ २९ मा  ठगी आरोपमा पक्राउ गरेको थियो । फागुन २९ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रसाद अधिकारीको इजलासले चिन्तनलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म जेलमा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउन आदेश दियो । 

कानुनसम्बन्धी विश्वविद्यालय खोल्ने भन्दै ठगी गरेको अभियोगमा पक्राउ परेपछि उनी विरुद्ध जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौंले फागुन २६ मा उनीसहित चार जनाविरुद्ध तीन करोड ३५ लाख रुपैयाँ ठगीको अभियोग दर्ता गरेको थियो । अदालतमा दिएको बयानमा उनले ‘नौ महिनादेखि म्यासिभ डिप्रेसन तथा साइक्याट्रिकको औषधि खाइरहेको’ बताएका थिए ।

‘औषधि सेवन नगरेको अवस्थामा मानसिक असन्तुलन महसुस गर्छु,’ बयानका क्रममा उनले भनेका थिए, ‘औषधि सेवन गर्दै सामान्य रूपमा सोधिएका प्रश्नको जवाफ दिन सक्छु ।’ बयानका चिन्तनले अभियोगपत्र खारेजीको माग गरे पनि उनी साधारण तारेख वा धरौटीमा रिहाइको प्रयासमा थिए ।

चिन्तन पक्राउ परेको सूचना बाहिरिएलगत्तै मानव अधिकार वृत्तमा तरङ्ग फैलियो । तरङ्गको कारण उनीमाथि लागेको ठगीको आरोप थियो । अझ अचम्मित पार्ने तथ्य उनीबाट ठगिनेहरुको सूची हो, जसमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश, वरिष्ठ कानुन व्यवसायी र प्रहरीका उच्च पदस्थ अधिकारीसमेत छन् । 

के हो आरोप ?
(आफ्नै किताब जलाउँदै चिन्तन)

‘चिन्तन’लाई लागेको अभियोग हो– कलेज स्थापना गर्ने नाममा करोडौंको ठगी । उनी र बद्रिकुमार थापाले चोभारमा कानुन अध्यापन गर्ने क्याम्पस ‘श्री एजुकेसन एकेडेमी प्रालि’ स्थापना गर्ने सपना देखाएर सर्वोच्चका पूर्व न्यायाधीश, वरिष्ठ कानुन व्यवसायी र प्रहरीका उच्च अधिकारीसँग पैसा उठाएका थिए । विश्वविद्यालय खोल्ने भनेर पैसा उठाए पनि उनले ठगीको उपाय मात्रै रचेको खुल्यो ।

‘हाम्रो नाम बेचेर अरुलाई ठगी गरेछ,’ चिन्तनको फन्दामा परेका वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले भने, ‘कलेजमा लगानी गर्नु प¥यो दाइ भन्दै आएको थियो । मैले यो उमेरमा लगानी गरेर के गर्ने ? पैसा छैन भनेर पठाएँ । मेरो पनि लगानी छ भनेर झुक्याएर अरुसँग पैसा उठाएछ ।’

यी दुईबाट ठगिनेमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, श्रीहरि अर्याल, पूर्व न्यायाधीश पवन ओझा, पूर्व न्यायाधीश बद्रीबहादुर कार्की, अधिवक्ता श्यामकुमार कोइराला लगायतका छन् ।

भण्डारीले कलेजमा लगानी गर्न चिन्तनलाई पाँच लाख रुपैयाँ दिएका थिए । भण्डारीसँग पैसा लिँदा चिन्तनले मञ्जुश्री कलेज नामको नगदी रसिद पनि दिएका छन् । ‘यो उमेरमा साथीभाइले ठगे भनेर के भन्दै हिँड्नु ?’ दुःखी हुँदै भण्डारीले भने ।

उनीहरुले स्थापना गर्ने भनेको कलेजका अध्यक्ष सर्वोच्च अदालतका पूर्व न्यायाधीश पवनकुमार ओझा हुन् । ओझा पनि चिन्तनले आफ्नो नाम बेचेर अरुलाई ठगेको बताउँछन् । 

क्याम्पसको अध्यक्ष भए पनि कलेजको खाता ओझाको नाममा छैन । चिन्तनले आफ्नोसहित पञ्चलाल महर्जन र प्रीति रमणको नाममा कलेजको खाता सञ्चालन गरेका छन् । खाता खोलिए पनि कलेजको नाममा कारोबार छैन । 

फरक पृष्ठभूमि
चिन्तन ब्रिटिस गोर्खा सैनिकको हक अधिकारको पक्षमा लडेका र मानव अधिकार र कानुनसम्बन्धी धेरै पुस्तकका परिचित लेखकसमेत हुन् । यसबाहेक विभिन्न आन्दोलनमा समेत उनको नाम जोडिन्छ । मानव अधिकार र कानुनको क्षेत्रमा बलियो नाम बनाइसकेका थिए उनले । यो छवि बनाउन उनी लामो यात्रा हिँडेका थिए ।

२०३५ मा काठमाडौं आएर नेपाल ल क्याम्पसमा कानुन पढ्न थालेका उनी राजनीतिमा समेत सक्रिय भएका थिए । राजनीति नफापेपछि उनले बहुउद्देश्यीय पत्रपत्रिका केन्द्र र पैैरवी प्रकाशनको स्थापना गरेका थिए । उनले ‘बहस पैरवी’ नामक पत्रिका निकालेर पञ्चायतको विरोधमा आवाज उठाउँदै राजबन्दी रिहाइका लागि खटिएर फरक पृष्ठभूमि बनाए । 

विद्यार्थी राजनीतिबाट निकालिएपछि थालेको मानव अधिकार पैरवीको यात्रालाई डा. केदार बराल, दामोदर उपाध्याय, डा. अर्जुन कार्की, तीर्थ कोइरालाजस्ता प्रतिष्ठित व्यक्तिहरुले मलजल गरेका थिए । उनीहरुसँग मिलेर चिन्तन एम्नेष्टी इन्टरनेसनलको पुनर्गठन गर्दै एम्नेष्टीलाई नयाँ जीवन दिएका थिए । 

एम्नेष्टी पुनर्गठनपछि चिन्तले २०४३ मा मानवअधिकार सूचना तथा सामग्री केन्द्र (हुरिड्स)को स्थापना गरे । ऋषिकेश शाहले उनलाई नेपाल मानव अधिकार संगठनमा आबद्ध गराएका थिए । चिन्तन आबद्ध भएको समितिमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि थिए । यो आबद्धताले उनलाई अमेरिका जाने राम्रो अवसर जुटाइदियो र उनले अमेरिकाको वासिङ्टन युनिभर्सिटी, स्कुल अफ लमा एलएलएमका लागि छात्रवृत्ति पाए । 

२०४६ मा नेपालमा जनआन्दोलन चल्दै गर्दा अमेरिकाको राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेर चिन्तनले तहल्का मच्चाए । अमेरिकाबाट नेपाल फर्किएको १० वर्षमै चिन्तनले आफ्नो अन्तर्राष्ट्रिय छवि बनाइसकेका थिए ।

नेपालमा अन्तर्राष्ट्रिय कानुन बुझेका थोरै मध्येमा चिन्तनको नाम पर्छ । यति धेरै अवसर भए पनि आफूलाई नियन्त्रण गर्न नसक्दा चिन्तन जेल पुगे । 

‘त्रिभुवन विश्वविद्यालको सह–प्रध्यापक र अन्तर्राष्ट्रिय स्तरको व्यक्तित्व भएको मानिसले ठग्ला भनेर कसरी सोच्ने ?’ अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला भन्छन्, ‘हामी त उहाँको अभियानमा जोडिन पाएकोमा मख्ख भएर पैसा दिन थाल्यौं । कानुन विश्वविद्यालय बनाउने सोच सुन्दै पैसा हाल्न मन लाग्यो ।’


विकास विरोधी छवि

चिन्तनको अर्को पाटो विकास विरोधी छवि छ । अरुण तेस्रो नेपाल आउन नसक्नुमा अन्य राजनीतिक कारणसँगै चिन्तनको पनि मुख्य भूमिका थियो । अमेरिकाबाट कानुनमा स्नाकोत्तर गरेर फर्केपछि उनले अरुण तेस्रोलाई केन्द्रमा राखेर काम गर्न थालेका थिए । त्यतिबेलासम्म नेपालमा विकास मामिलामा अभियान चलाउनेको संख्या नगण्य थियो । चिन्तनले अमेरिकामा रहँदै प्लेकार्ड लिएर सडकमा उत्रिनुको महŒव बुझिसकेका थिए ।

सोही समयमा ‘वल्र्ड बैंक फिप्टी इयर्स इन अफ’ नामक अभियान संसारभर चलेको थियो । विश्व बैंकको विरोधमा रहेका युरोपेली देशका गैरसरकारी संस्थाहरूले यो अभियानलाई सघाएका थिए । ५० वर्षमा तेस्रो मुलुकमा विश्व बैंकले आर्थिक शोषण गरेको भन्दै उनीहरूले विश्व बैंकका कार्यक्रम असफल पार्न अनेक प्रयास थालेका थिए । त्यसैको सिलसिला अरुण तेस्रो परियोजनाको विरोध शुरु भयो ।  

अरुण तेस्रो परियोजनामा सबैभन्दा बिक्ने मुद्दा थियो– वातावरण । विश्व बैंकका परियोजनाले वातावरण नास गरेको भन्दै संसारभर प्रदर्शन थालियो । भारतको नर्मदा बाँधसँग तुलना गरेर थालिएको यो विरोध अभियानमा धेरै गैरसरकारी संस्था जोडिएका थिए । अरुणको विरोधका लागि चिन्तनले आफ्नै संयोजकत्वमा ‘अरुण सरोकार समूह’ गठन गरेर सक्रिय भएका थिए । उनको समूहमा हुतराम वैद्य, गणेश घिमिरे, डा. गोपी उप्रेती, डा. अर्जुनकुमार कार्की, गङ्गा सुवेदी थिए । 

चिन्तन संलग्न भएको गैरसरकारी संस्था इन्हुरेड इन्टरनेसनल, एलायन्स फर इनर्जी र अरुण सरोकार समाज अरुण रोक्ने अभियानमा संलग्न थिए । अमेरिकाको इन्टरनेसनल रिभर्स नेटवर्क, बेलायतको इन्टरमेडियट टेक्नोलोजी डेभलपमेन्ट गु्रप र ग्लोबल इन्टरनेसनल जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले उनलाई सघाएका थिए । 

एमाले समेत अरुणको विपक्षमा थियो । यही खिचातानीका बीच अरुण तेस्रो परियोजना रोकियो । अहिले सो परियोजना रोकिएकोमा नेताहरु थकथक मान्छन् ।

कालीगण्डकी जलविद्युत् आयोजना रोक्न समेत चिन्तन सक्रिय भएका थिए । परियोजनाको प्रमुख लगानीकर्ता एसियाली विकास बैंकलाई फर्काउन उनी सक्रिय भएका थिए । 

चिन्तनले आयोजना प्रभावित १५ गाविसका स्थानीयको सहभागितामा कालीगण्डकी प्रभावित सरोकार समिति बनाएका थिए । त्यसको संयोजन गर्ने काम न्यु प्लाजामा रहेको उनको संस्था जलतथा ऊर्जा उत्पादक महासंघले गरेको थियो । देशभित्र विरोध अभियान अगाडि नबढेपछि चिन्तन एसियाली विकास बैंकसम्म पुगेका थिए । बैंकलाई २७ जुन २००३ मा उजुरी हालेका थिए । तर उजुरीले काम गरेन ।

कालीगण्डकीमा उनी अरुण तेस्रोमा झैँ सफल हुन सकेनन् । कालिगण्डकी आयोजना निर्माण सम्पन्न भयो । 
कालीगण्डकी आयोजना विरोध सफल नभएपछि चिन्तनले मेलम्ची खानेपानी आयोजनाको विरोध शुरु गरेका थिए । यो आयोजना पनि प्रमुख दाता एसियाली विकास बैंक थियो । आयोजना प्रभावितका विषयमा दाताले ध्यान नदिएको भन्दै उनले अभियान थालेका थिए । 

‘पहिला काठमाडौंकै पानी खाऔं नपुगेमा मात्र मेलम्ची ल्याऔं’ भन्ने नाराका साथ उनले यो अभियान अघि बढाएका थिए । आयोजनाले काम थालेपछि मेलम्ची सरोकार समाजमार्फत् आयोजनाविरुद्ध अभियान थालेका थिए । उनलाई हस्त पण्डित, बालकृष्ण देउजा र पीताम्बर भण्डारी लगायतले साथ दिएका थिए । 

चिन्तनले स्थानीयलाई समेटेर ‘मेलम्ची स्थानीय सरोकार समूह’ गठन गर्न लगाए । २०५८ मा यो अभियानमा तत्कालीन पाल्चोक गाविसका अध्यक्ष रामबहादुर खड्का जोडिए । काभ्रेको देउपुर–गैरीबिसौना गाविसका निवर्तमान अध्यक्ष योगनाथ डोटेल र नारायण पौडेल पनि जोडिए । 

मेलम्ची विरोध अभियानका क्रममा चिन्तन पटक पटक मेलम्ची पुगेका थिए । मेलम्चीमै जग्गा किन्ने चाहना उनले धेरैलाई सुनाए । तीमध्ये एक थिए तत्कालीन पाल्चोक गाविस अध्यक्ष रामबहादुर खड्का । खड्काले चिन्तनका लागि जग्गा पनि खोजे । दुई जनाको विवादबीच जग्गा किन्ने कुरा अघि नबढेको खड्का सुनाउँछन् । 

‘मसँगबाट चामल लगेको १० लाख जति पैसा अहिलेसम्म दिएका छैनन्,’ उनले भने, ‘तीन हजार किलो जति ट्राउट माछा पनि त्यसै खाइदिए । धन्न जग्गामा बचेछु । नत्र त बर्बादै हुने रहेछ ।’

गेसोमा पनि उस्तै विवाद
नेपालमा केही अभियानमा सफलता पाएपछि चिन्तन भूतपूर्व गोर्खाका पक्षमा काम गर्न गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो)को कानुनी सल्लाहकार भएर काम शुरु गरे । त्यतिबेलासम्म भूतपूर्व गोर्खालाई बेलायती सरकारले तल्लो तहको व्यवहार गर्दै आएको थियो ।

गेसेको तर्फबाट बेलायतको अदालतमा मुद्दा दर्ता गर्ने भएपछि चिन्तनले फिल साइनरलाई बेलायतबाट नेपाल झिकाएर गेसोका लागि मुद्दा लड्दा लाग्ने खर्चको व्यवस्थापन गर्ने आश्वासन दिएर बेलायत फर्केका थिए । बेलायत पुगेर उनले पेन्सनसम्बन्धी मुद्दाको ७५ प्रतिशत खर्च बेलायतको कानुनी सहायता आयोगले व्यहोर्ने जानकारी दिए । खर्चको व्यवस्था हुने भएपछि चिन्तन बेलायत गएका थिए । 

बेलायती सेनामा लडेर भिक्टोरिया क्रस पाएका तुलबहादुर पुन उमेरले ८० कटिसकेका थिए । चिन्तनले पुनलाई बुबा भन्थे । पुनले पनि चिन्तनलाई आफ्नै छोराभन्दा बढी माया गर्थे । यसको फाइदा उठाएर उनले पुनको श्रीमती पुनिसराको बैंक खाताबाट दुई हजार दुई सय पाउन्ड निकालेका थिए । ९ मार्च २००९ मा भिसी पुनले नेपाल मगर संघमा उक्त पैसा उठाइदिन उजुरी दिएका थिए । उक्त उजुरीमा पुनले बैंकबाट आफू र श्रीमतीलाई थाहा नदिए पैसा निकालेको उल्लेख गरेका छन् ।

पैसाको विषयमा चिन्तन कहिल्यै पारदर्शी भएनन् । उनले गेसोबाट ८० लाख रुपैयाँ पैसा लिएका थिए । अरुणको अभियान गर्दासमेत उनलाई अन्तर्राष्ट्रिय संस्थाबाट पैसा लिएको आरोप लाग्दै आएको थियो । पैसाको विषयमा विवाद भएका कारण अरुणको विषयमा अभियान गर्ने संस्था इन्हुरेड इन्टरनेसनलमा उनले आफ्नै भतिज गोपाल सिवाकोटीसँग झगडा गरेका थिए । इन्हुरेडको स्वामित्वबारेको झगडा अदालतसम्म पुग्यो । अदालतमा चिन्तनले हारे । इन्हुरेड गोपालको भयो ।

लन्डनस्थित उच्च अदालतमा गोर्खाहरूका तर्फबाट पेन्सनसम्बन्धी मुद्दा दर्ता भएपछि सन् २००३ फरवरी २१ मा त्रिपक्षीय सम्झौताका आधारमा विद्यमान भेदभावलाई अमान्य घोषित गर्ने फैसला आयो ।

पहिला निःशुल्क मुद्दामा सहयोग गर्छु भन्ने साइनरले मुद्दाको तयारीमा अध्ययन–अनुसन्धानका लागि भन्दै गेसोसँग एक लाख १० हजार पाउन्ड लिए । पैसाको व्यवस्थापन गर्ने आस्वासन दिएका साइनरले गेसोबाट यति ठूलो रकम लिनुको पछाडि चिन्तनको हात रहेको अझै आशंका गरिन्छ । 

गोर्खा भूतपूर्व सैनिक सङ्घ थालनी गर्ने भूतपूर्व गोर्खा सैनिक पदमबहादुर गुरुङ र चिन्तनबीच पैसाकै विषयमा विवाद भएको थियो । अनियमिततामा जोडिएर चिन्तन संघबाट बाहिरिए । पछि पदमबहादुर पनि आर्थिक अनियमितताको आरोपमा पदमुक्त भएका थिए ।

डामाडोल परिवार
आर्थिक मामिलामा सधैँ विवादमा तानिइरहने चिन्तनको पारिवारिक जीवन डामाडोल छ । पहिलो विवाहको अन्त्यसँगै उनी विभिन्न महिलाहरुसँग जोडिए । जतिसँग जोडिए सबै विवादमा आयो । 

बेलायतको बसाइमा आफूभन्दा ३० वर्ष कान्छी एक युवतीसँगको सम्बन्धको विवाद सार्वजनिक भएको थियो । ती युवतीले अन्य युवासँग विवाह गरेपछि उनले उनीसँग आफ्नो अन्तरंग सम्बन्ध रहेको भन्दै पुस्तकसमेत लेखेका थिए । उनले ती युवतीसँगको तस्विर सार्वजनिक गरेपछि उनलाई सार्वजनिक रुपमा माफी माग्न लगाउँदै पुस्तक जलाउन लगाइएको थियो ।
 

Leave A Comment