केन्याको बारमा नेपाली युवती

आइतबार, ०८ बैशाख २०७६, ०८ : ०६ शुक्रवार
केन्याको बारमा नेपाली युवती

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वर्षअगाडि नेपाली महिलालाई अफ्रिकी मुलुक तस्करी गर्न सक्रिय समूहको र्याकेट भत्काउँदै नेपाली र भारतीय नागरिक पक्राउ गरेको थियो । 

पाँच वर्षपछि पुनः उस्तै प्रकृतिको संगठित समूह सक्रिय रहेको खुलेको छ । पाँच वर्षअगाडि खुलेको समूहको नाइके पनि भारतीय नागरिक थियो, यसपालि खुलेको समूहको नाइके भने भारतीय मूलका बेलायती नागरिक रहेको खुलेको छ । 

केन्याको प्रहरीले गत शनिबार केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यु रंगीला बार एन्ड एम्की प्लाजामा काम गरिरहेका १२ नेपाली महिलाको उद्धार गरेको थियो । केन्याको प्रहरीले त्यहाँको डान्सबार र क्लबमा छापा मारेर १२ महिलासहित सञ्चालकसमेत पक्राउ गर्यो । पक्राउ परेका महिला नेपाली नागरिक रहेको खुल्यो भने सञ्चालक भारतीय मूलका बेलायती नागरिक । उनको नाम अमिराली अलिभाई रहेको केन्याली सञ्चार माध्यमले खुलाएका छन् । 

पक्राउ परेका अमिरालीलाई नेपालमा वैदेशिक रोजगारीमा संलग्न समूहले वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली युवती पठाउने गरेको र उनले विभिन्न प्रलोभन दिएर नेपाली युवतीहरुलाई डान्सबारमा काम लगाउने गरेको केन्याली सञ्चारमाध्यमले खुलाएका छन् ।

केन्याली प्रहरीले नेपालबाट ल्याइएका महिलालाई झुक्याएर क्लबमा काम लगाएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरिसकेको छ । 
दि स्टारका अनुसार केन्याको प्रहरीले बार मालिकामाथि तीन वटा मुद्दा हालेको छ ।

प्रहरीले बारका मालिकमाथि मानव तस्करी गरेको, तस्करीका लागि उक्साएको र नेपाली महिलाको राहदानी लगायतका कागजपत्र कब्जामा लिएर बन्धक बनाएको भन्दै मुद्दा लगाएको दि स्टारको अनलाइनमा उल्लेख छ । 
दि स्टारका अनुसार मुख्य नाइके देखिएका भारतीय मूलका बेलायती नागरिकको साथमा भारतको समेत राहदानी फेला परेको छ । मुख्य आरोपी अमिरालीले आफूलाई धरौटीमा छाड्न माग गरेका थिए ।

अदालतले उनीसँग रहेको राहदानी जम्मा गर्न भन्यो तर उनले मानेनन् । त्यसपछि भाग्न सक्ने भन्दै अदालतले उनको धरौटीको माग अस्वीकार गरेको छ ।

बारमा छापा मारेर नियन्त्रणमा लिइएका १२ जना नेपाली युवती अहिले उतै छन् । प्रहरीले उनीहरुलाई साक्षीको रुपमा राखेको छ । उनीहरुलाई जतिसक्दो नेपाल फर्काउन बयान चाँडो सकाउने प्रयासमा केन्याको प्रहरी रहेको स्टारमा उल्लेख गरिएको छ ।

केन्या पुगेका नेपाली युवतीलाई आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा नेपाली एजेन्टहरुको सहयोगमा विभिन्न देश हुँदै केन्यासम्म पुर्याइएको आशंका गरिएको छ । 

घटनाको प्रकृति यसअगाडि पक्राउ परेको समूहसँग मिल्छ । सो समूहले नेपाली युवतीलाई भारत, युएई लगायतका देश हुँदै केन्या पु¥याएर जबर्जस्ती बन्धक बनाएर बारमा काम लगाउने गरेको खुलेको थियो । 

Leave A Comment