बलात्कारी बाबुलाई जेल

आइतबार, १५ बैशाख २०७६, ०५ : ०७ शुक्रवार
बलात्कारी बाबुलाई जेल

सपनामा श्रीमती देखेर सम्भोग गर्दा झुक्किएर छोरीको बलात्कार गर्न पुगेको नाटकीय बयान दिए पनि नरपिशाच बाबु रामबहादुर परियारले कानुनी कार्बाहीबाट मुक्ति पाउन सकेनन् । १५ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार गरेको प्रमाणित भएसँगै परियार १६ वर्ष जेल सजाय पाएका छन् । उनी एक वर्षयता जेलमै रहेकाले सो कटाएर अब १५ वर्ष जेलमा बस्नेछन् ।

उनलाई आफ्नै छोरीको बलात्कारमा दोषी प्रमाणित गर्दै १६ वर्ष कारागार पठाउने काठमाडौँ जिल्ला अदालतले फैसला गरेको हो । बलात्कारको अभियोगमा उनलाई १० वर्ष कैदको फैसला भएको हो । मुलुकी ऐन अपराध संहितामा भएको प्रावधानअनुसार हाडनाता करणीमा थप हुने सजाय अनुसार ६ वर्ष कैद थपिएको हो । 

साना छोरा र छोरीसँगै काठमाडौंको नागार्जुनमा डेरा लिएर बसेका उनले छोरी बलात्कार गरेको अस्वीकार गरेका थिएनन् तर बहाना बडो अनौठो निकालेका थिए ।

उनले सपनामा श्रीमतीसँग सहवास गरेको सपना देख्दा झुक्किएर छोरीसँग सहवास गर्न पुगेको र त्यो बेला आफ्नो अवस्था बेहोसी रहेको अपत्यारिलो तर्क गरेका थिए । 

पीडितले दिएको बयानमा उनले पटक–पटक बलात्कार गरेको खुलेकाले झुक्किएर आफ्नै छोरीको बलात्कार गरेको उनको दाबी बलियो देखिएको थिएन । 

पीडितले अदालतमा दिएको बयानअनुसार २०७४ कात्तिक १५ बाट उनी आफ्नै बाबुबाट पटक–पटक बलात्कृत भएकी थिइन् । पटक–पटक बाबुले बलात्कार गरिरहे । उनी पुसको मध्यतिर मात्रै प्रहरीकोमा पुगिन् ।

घटना विवरणअनुसार उनी आफ्नो बाबुको जेठीतिरकी छोरी हुन् । उनको जन्मपछि आमाको मृत्यु भयो । बाबुले अर्की बिहे गरेर कान्छी आमाको तर्फबाट दुई भाइ जन्मिएका थिए ।
बाबुले अध्ययनका लागि भनेर रुकुमबाट उनलाई काठमाडौं बोलाए । भाइहरु पनि काठमाडौँ आए । 

०७४ कात्तिक १५
यो त्यही कालो दिन हो जुन दिन ती किशोरी बलात्कृत भएकी थिइन् । पीडितको बयानअनुसार उनीमाथि पहिलो पटक बलात्कार यही रात भएको थियो, आफ्नै कोठामा । उनी भाइहरुसित सुतेकी थिइन् । त्यही कोठामा उनको बाबु पनि सुत्थे । 

उनी निद्रामै भएको बेलामा अप्ठेरो महसुस हुन्छ । कसैले थिचेझैँ, यौनाङ्ग चलाएझैँ लागेपछि आँखा उघार्दा पीडितले आफूमाथि आफ्नै बाबु चढिरहेको देख्छिन् ।

‘आफूमाथि बाबु चढेको देखेपछि चिच्याउने प्रयास गरेँ,’ पीडितले बयानमा भनेकी छन्, ‘तर उसले मेरो मुख थुनिदियो । बोल्न सकिनँ ।’

बयानअनुसार बलात्कार गरेपछि परियारले यो घटना कसैलाई भने मारिदिने धम्की दिएका थिए । त्यसपछि उनको बलात्कारको श्रृ्रंखला शुरु भयो । उनले खुलाएको मितिअनुसार कात्तिक १८ मा पुनः बलात्कार भयो । पुस १५ मा बलात्कारको प्रयास भएपछि उनी कोठाबाट भागेर उम्किएकी थिइन् । 
बयानअनुसार उनका बाबुले कहिले भाइहरु भएकै अवस्थामा त कहिले भाइहरु कोठामा नभएको मौका छोपेर बलात्कार गर्ने गर्थे ।

अति भएपछि उनले एक जना महिलालाई आफ्नो बाबुको कालो कर्तुत सुनाइन् । ती महिलाले उनलाई महानगरीय प्रहरी वृत्त स्वयम्भू पुर्याएर प्रहरीलाई घटनाबारे खुलाएपछि पुस २० मा परियार पक्राउ परेका थिए ।

जाहेरी दर्ता गरेर पीडितको स्वास्थ्य परीक्षण गराउँदा उनको बलात्कारको पुष्टि मात्र भएन, उनको गर्भमा ७ हप्ताको भ्रूणसमेत देखापर्यो । गर्भपतन गराइयो र भ्रूणको डिएनए परीक्षण भयो । यसरी परियारको झूटको पर्दा च्यातियो । 

गत माघबाट परियार मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि पुर्पक्षका लागि थुनामा दिए । बहसका क्रममा पक्ष–विपक्षका कानुनी सहयोगीको तर्क र प्राप्त प्रमाणको आधारमा परियारको दाबी झुटो देखिएपछि चैत अन्तिममा जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले परियारलाई बलात्कारी भएको फैसला गरेका थिए ।
 

Leave A Comment