रवीन्द्रका दुःख

बिहिबार, १९ बैशाख २०७६, ०८ : १६ शुक्रवार
रवीन्द्रका दुःख

सरकारी स्रोतसाधन माथिको दोहन चरमबिन्दुमा छ । प्रधानमन्त्री निवास रहेको सरकारी जग्गासमेत माफियाको हातमा पुगेकोे मात्रै हैन, आम नागरिकले सभा सम्मेलन गर्ने खुलामञ्चसमेत बिचौलियाले बेचिदिएका छन् । यस्तो बेलामा वैकल्पिक राजनीतिको मियो बन्ने उद्घोष गरेका पूर्व पत्रकारको रवीन्द्र मिश्रको पार्टीको केन्द्रीय समितिको बैठकबाट आउने निर्णयहरु उनीहरुको नाराझैँ सशक्त हुने आशा हुनु नौलो हुने विषय नै भएन । केन्द्रीय समितिको बैठक पनि बस्यो र निर्णय पनि आयो । तर निर्णयहरु ‘खोदा पहाड, निकला चुहा’ प्रकृतिको थियो । सबैको ध्यान त्यतै गयो ।

केही निर्णयहरुका माझमा एउटा हास्यास्पद निर्णय थियो, पार्टीको नाम परिर्वतन गर्ने । विवेकशील पार्टीसँगको एकीकरणपछि कायम भएको नाम थियो, विवेकशील साझा पार्टी । अहिले विवेकशीलवालाहरु आफ्नो पोकापुन्तरा बोकेर साइड लागिसके । उनीहरुले विवेकशील नेपाली दल नाम दिएर गतिविधि गरिरहेका छन् । 

यसले पार्टी अप्ठेरोमा परेको भन्दै साझावालाहरुले नाम फेरेछन्, साझा विवेकशील । कारण चैँ, उस्तै उस्तै नाम भएकाले आम नागरिक झुक्किए रे ! त्यस्तो लागेको भए उही पुरानै साझा पार्टी नाममा फर्किएको भए भइहाल्थ्यो नि ! अहिलेको नाम चैँ कौन सा नझुक्किने किसिमको भयो र !

नाम हल्का संशोधन गरे पनि अहिले मिश्र समूहले गर्ने गतिविधि र विवेकशीलवालाहरुले गर्ने गतिविधि उस्तै छ । विरोधको शैली पनि उस्तै छ । शैली नै उस्तै भएपछि नाम मात्र फेरेर के नै हुन्छ र ?
नामले हैन फरक पार्ने, कामले हो । काम गर्न न संख्याले रोक्न सक्छ, न राष्ट्रिय मान्यता पाएको दल हो या हैन त्यसले नै कुनै प्रभाव पार्छ ।

आफूलाई वैकल्पिक राजनीतिक धारको रुपमा व्याख्या गर्दैमा पनि केही हुन्न । आकर्षक कुरा गर्ने त यहाँ अरु पनि छन् ! अब काम गरौं न काम । आम नागरिकको समस्या सम्बोधन गर्ने काम । टुइट गरेकै छौँ, लेख लेखेकै छौँ भन्ने होला फेरि ? टुइट गरेर र स्तम्भ चलाएर मात्रै वैकल्पिक दलको भूमिका निर्वाह हुन्छ त ? त्यस्तो हुने भए त हरेक टुइटे नेता, हरेक स्तम्भकार वैकल्पिक राजनीतिक धारका नेतृत्वकर्ता भइहाल्थे नि !
मिश्रज्यु नामले केही समस्या हुन्न । समस्या त प्रवृत्तिमा हो क्या ! नाम हैन प्रवृत्ति बदलौँ ।

लुट मेयर लुट !
काठमाडौं महानगरपालिकाका महान् मेयर विद्यासुन्दर शाक्यको प्रतिभाको खै कसरी वर्णन गर्नु ! उनको प्रतिभाको वर्णन गर्न उही पुरानो थेगो छ नि, हजार जिब्रा भएका शेषनागले नि सक्दैनन् भन्ने, हो उस्तै अवस्था छ ।

सय दिनमै काठमाडौंको मुहार फेर्छु भनेर महानगरका मतादाताको विश्वास लुटे र लुट्ने क्रम जारी नै छ । प्रारम्भमा रानीपोखरीको पानीसँगै प्राचीन अस्मिता लुटे । बिचरा रानीपोखरीको सम्पदा लुटिएको त्यो अस्मिता फर्किने प्रतीक्षामा जीर्ण भएर बसिरहेको छ । 

भक्तपुरको दरबार स्क्वायर ठडिइसक्दा काठमाडौं दरबार स्क्वायरको हालत दयनीय नै छ । काष्ठकण्डमको कला लुटे २ वर्षसम्म । हुँदाहुँदा अहिले आएर खुलामञ्चको स्वतन्त्रता नै लुटे ।

कतिसम्मका साहसी भने, पुरानो बसपार्क नबनेसम्म अस्थायी रुपमा सार्वजनिक यातायात राख्न दिएको ठाउँमा लुसुलुसु सटरै हाल्न दिए । कति मिहिनेत गरेर खुलामञ्चमा केही रुख ठडिएका थिए । त्यो सौन्दर्य पनि लुटिसके । 

विकासको नाममा विनास मात्रै भइरहेको छ । केन्द्रीय राजधानी काठमाडौं देशकै सबैभन्दा कुरुप शहरको रेकर्ड राख्ने बाटोमा तीव्र गतिमा हुइँकिइरहेको छ तर मेयरसाप चैँ विकास बजेट लुट्नमा केन्द्रित रहेछन्, मुद्दती खातामा राखेर ब्याज खान । 

उनको यी महान् कामको दैनिक चर्चा छ तर उनलाई बाल मतलब ! अलि आलोचना बढे ‘उपमेयरले त टेर्दिनन्’ भने भइगयो । स्तुति गाथा गाउन सरकारी कोषमा घर चलाउने सुविधासहितको महिमा मण्डली राखेकै छ कार्यालयमा । पार्टी दुई तिहाईको नशामा छ । उनलाई कसले के भन्नु ?
अझै चार वर्ष बाँकी नै छ । सुन्धारा लुट, रत्नपार्क लुट, बालाजु पार्क लुट । शंखपार्क लुट । सक्छौं भने टुँडिखेल पनि लुट ।
लुट मेयर लुट !

Leave A Comment