पछुताउने कि सुध्रने

बिहिबार, १९ बैशाख २०७६, ०८ : २२ शुक्रवार
पछुताउने कि सुध्रने

शुक्रवारको खोजमा डरलाग्दो पाटो देखियो, किशोर वयमै बलात्कार जस्तो जघन्य अपराधमा संलग्न हुनेको बढ्दो संख्या । किशोर उमेरमा भएको अपराधलाई कानुनले अपराध मान्दैन । बदमासी मान्छ र सुधारको अवसर दिन्छ । बदमासीको पुष्टिसँगै सुधारका लागि बाल सुधार गृहमा रहेकाहरु र उनीहरुलाई परामर्श दिनेसँगको अन्तक्र्रियामा खुलेको कारण थप चिन्ताजनक थियो । 

जो जति किशोर उमेरकाहरु बलात्कारजस्तो जघन्य अपराधमा परेका थिए, ती अधिकांश जानेर, योजनाबद्ध रुपमा नभई जिज्ञासा मेटाउन, ठूलाको सिको र लहडमा जघन्य अपराधको दलदलमा फँसेको देखियो । 

मुख्य समस्या बालबालिकाको हुर्काइमै छ । बालबालिका अनुकूलको वातावरण न विद्यालयमा छ, न त परिवार र समाजमा । उमेरअनुसार हुने शारीरिक र मानसिक परिवर्तन सम्बोधन गर्ने संस्कार नै छैन शहरी क्षेत्रमा समेत ।

विद्यालयका शिक्षक हुन् या अभिभावक, बालबालिकाले सोध्ने जटिल प्रश्नको गाँठो फुकाउनु भन्दा ‘उमेर पुगेपछि आफैँ थाहा हुन्छ’ भन्ने तयारी जवाफ दिएर उनीहरुको खुलदुली र जिज्ञासा थप बढाउने काम हुन्छ । समाधानको प्रयास हुन्न ।

अझ प्रश्न यौनसँग जोडियो भने त बर्बाद भएझैँ हुन्छ । उमेरअनुसार हुने शारीरिक र मानसिक परिर्वतनसँगै किशोर–किशोरीको मनमा उत्पन्न हुने यौनसँग जोडिने जिज्ञासा समाधान गर्ने संस्कार अझै विकसित हुन सकेको छैन ।

प्रश्न गर्दा सुल्झाउनेतिर भन्दा ‘बानी बिग्रियो’ भन्दै थप बल्झाउने संस्कारले हाम्रो शिक्षा प्रणाली, परिवार र समाजले नै किशोर उमेरकाहरुलाई जिज्ञासा मेटाउने क्रममा बलात्कारजस्तो गम्भीर अपराधतिर धकेलिरहेको छर्लङ्गै हुन्छ ।

यस्तो जघन्य अपराधका किशोर–किशारीलाई फस्नबाट जोगाउने एउटै मात्र उपाय शिक्षा हो । यौन पाप हैन, न फोहोरी गतिविधि नै हो । शारीरिक र मानसिक विकाससँगै यो भावना स्वतः विकास हुन्छ । यसका लागि कोही बिग्रन आवश्यक छैन । यो प्राकृतिक पाटो हो । 

किशोर उमेरमा प्रवेश गरेकाहरुको जिज्ञासा मेटाउनु अभिभावकको कर्तव्य हो नकि पन्छाउनु । उनीहरुको जिज्ञासा पन्छाउनु भनेको उनीहरुलाई अन्धकार बाटोमा छाड्नु बराबर हो । जहाँ उनीहरुको प्रवेश भयो भने नतिजा अकल्पनीय आउँछ ।

त्यसैले यौन विषयलाई विद्यालय र घरको कोठामा प्रवेश गराउन ढिला भइसक्यो । शारीरिक अंगको विकास क्रमबारे कक्षा कोठामा पठाउँदा घोसेमुन्टो लगाउने शिक्षक, शिक्षिकालाई टाउको ठाडो बनाएर अन्तक्र्रियात्मक कक्षा सञ्चालन गर्न सक्ने गरी चेतनास्तर बढाउन ढिला भइसक्यो । 

आफ्ना कलिला सन्तानले उमेरजन्य प्रश्न सोध्दा घोसो मुन्टो लगाउने वा पछि बुझ्छौजस्ता अमूर्त उत्तर दिनु भनेको उनीहरुलाई अन्धकार यात्रामा धकेल्नु हो भनेर अभिभावकलाई सचेत गराउने बेला घर्कन लागिसक्यो ।

तथ्यांक हेर्नुस् त, ८ वटा बालसुधार गृहमा रहेका ३ सय ८२ बालबालिकाका २ सय २१ जना त बलात्कारको कसुरमा त्यहाँ पुगेका हुन् । यो संख्या रोकिने संकेत छैन । हामीले सहज उत्तर दिएर जिज्ञासा नमेटाइदिँदा जिज्ञासा मेट्न अञ्जानमा भएको बदमासीले बाल सुधार गृह पु¥याउने बालबालिका तपाई हाम्रै हुनसक्छन् ।
त्यसैले सचेत बनौँ । किशोर–किशोरीको शारीरिक र मानसिक विकाससँगै उत्पन्न हुने यौन हुन् या अन्य जिज्ञासा मेटाउन सक्ने वातावरण बनाउँ । विद्यालयमा पनि भनौँ, ‘मेरो सन्तानलाई उमेरअनुसार यौन शिक्षा दिऔँ । आफू पनि पछि बुझ्छौ भनेर नपन्छिउँ ।
पछुताउनुभन्दा पहिल्यै सचेत हुनु राम्रो । 
 

Leave A Comment