ललितपुरमा ‘ट्रान्स’ पार्टी

बिहिबार, १९ बैशाख २०७६, ०८ : ३९ शुक्रवार
ललितपुरमा ‘ट्रान्स’ पार्टी

गाँजा र म्युजिकको तालमा मस्ती गर्न रुचाउने पर्यटकलाई नेपाल भित्र्याएर मस्ती गराउन ललितपुरमा एक्स्ट्रीम अन्डरग्राउण्ड मेटल सोसाइटी अफ नेपाल प्रालिले म्युजिक पार्टीको आयोजना ग¥यो । कार्यक्रमको नाम जुराइयो थ्रासमाण्डु–२ ।

सोमा क्याफेमा थियो कार्यक्रम जहाँ २ सयभन्दा बढी सहभागी थिए । बहाना म्युजिक पार्टीको भए पनि त्यो थियो ड्रग्सको मस्ती हुने ट्रान्स पार्टी । धन्न महानगरीय प्रहरी परिसर ललितपुरले बेलैमा कार्यक्रमबारे जानकारी पायो र छापा मार्यो र आयोजक र क्याफे सञ्चालकलाई पक्राउ गर्यो ।

प्रहरी क्याफेमा पुग्दा त्यहाँ रहेका भारतीय, बेलायत, इराक र मेक्सिकोसम्मबाट नशामा लट्ठिन आएकाहरुबीच भागाभाग भएको थियो । प्रहरीले सहभागीलाई पक्राउ नगरे पनि आयोजक इलामका विशाल राई र क्याफे सञ्चालक सन्नी व्यञ्जनकारलाई पक्राउ गरेर सार्वजनिक अपराधमा हिरासतमा राखेको छ । 
पोखराका एक युवासमेत आयोजक रहेको प्रहरी अनुसन्धानमा खुलेपछि अहिले प्रहरी उनको खोजीमा छ । अनुसन्धानमा आयोजक कम्पनी ऐनअन्तर्गत कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको खुल्यो जसले आफ्नो उद्देश्य सांगीतिक मनोरञ्जन दिने उल्लेख छ । 

अनुसन्धानमा संलग्न स्रोतका अनुसार उनीहरुले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कार्यक्रम गर्ने अनुमति मागेको थियो । तर प्रशासनले अनुमति दिएन । अनुमति नदिए पनि उनीहरुले लुकिछिपी कार्यक्रम भने आयोजना गरे ।

एक महिना मात्रै भयो पोखरामा भएको ट्रान्स पार्टीमा प्रहरीले छापा मारेर आयोजकसहितलाई पक्राउ गरेको । लेकसाइडको अफिसियल पवमा छापा मारेर आयोजक र सहभागीलाई प्रहरीले पक्राउ गरेको थियो ।
गत चैतमा संखुवासभाको रोकेडाँडा र जलजले क्षेत्रमा अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रमको नाममा हुन लागेको ट्रान्स पार्टी रोकेको थियो । नेपालमा माउन्टेन म्याडनेस, फुलमुन ट्रान्स पार्टी, हाइमाउन्टेन ग्यादरिङ, शक्तिपिक फेस्टिबल, शान्ति जात्रा लगायतको नाममा यस्ता पार्टी आयोजना हुने गरेका छन् । 

पोखरा, भक्तपुर, सिन्धुपाल्चोक, बन्दिपुरलगायतका क्षेत्रमा आयोजना हुने यस्तो पार्टी पछिल्लो समय ललितपुर र काठमाडौंमा समेत लुकिछिपी आयोजना हुने गरेका छन् ।

तस्बिर स्राेत : अर्काइभ
 

Leave A Comment