हुने भयो निर्वाचन

शुक्रबार, २७ बैशाख २०७६, ०४ : ५१ शुक्रवार
हुने भयो निर्वाचन

विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को नयाँ निर्वाचन प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीले क्यानको निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

स्वतन्त्र कमिटीले १९ सदस्य जिल्लालाई पत्र लेख्दै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उसले साधारण सभाको बैठक आह्वान गरेर कार्यसमितिको चयनसहित केन्द्र र प्रदेशमा प्रतिनिधि तोक्ने एजेन्डासमेत जिल्ला कमिटीमा पठाइसकेको छ । 

स्वतन्त्र कमिटीले क्यानका ३९ जिल्लामध्ये २० जिल्लाको निर्वाचनलाई मान्यता दिएको छ । बाँकी १९ जिल्लामा नयाँ निर्वाचन गराउने निर्णय उसले गरिसकेको छ । कमिटीको निर्णयअनुसार अब १२ जिल्लामा नयाँ सदस्यतासहित र ७ जिल्लामा पुरानै सदस्यतासहित निर्वाचन हुनेछ । 

नयाँ सदस्यतासहित निर्वाचन गराउने पत्र पाएका जिल्लाले सात दिनभित्र नयाँ सदस्यताका लागि पत्रिकामा सूचना निकाल्नुपर्नेछ । सूचना निकालिएको १५ दिनभित्र सदस्यता लिन चाहने क्लब वा व्यक्तिले जिल्ला संघमा निवेदन दर्ता गर्नुपर्नेछ । यसपछि मापदण्ड पुगेका क्लब वा व्यक्तिलाई सदस्यता वितरण गरिनेछ । स्वतन्त्र कमिटीले साधारणसभा आह्वानका लागि नयाँ पत्र पठाउनेछ । जिल्ला निर्वाचन सकिएलगत्तै स्वतन्त्र कमिटीले प्रदेश र संघको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

Leave A Comment