मन्त्री हुनु त गोकुल जस्तो

बिहिबार, ०२ जेठ २०७६, ०५ : ४२ शुक्रवार
मन्त्री हुनु त गोकुल जस्तो

कवच भनेको सञ्चारमन्त्री गोकुल बास्कोटा जस्तो हुनुपर्छ । गलतै काम भइरहेका होऊन्, कुतर्कै गरेर ढ्याप्पै ढाकिदिने । आफ्ना व्यक्तिले बदमासी गरे ‘विचरा निर्दोष । क्षतिपूर्ती पो दिनुपर्छ त’ भनिदिने । कुकर्मको आलोचना भयो भने अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रप शैलीमा ‘फेक न्युज’ भनिदियो, सक्किगो !

सेखी झार्ने रणनीतिको त के कुरा गराइभयो र ! चोरका हजार दाउ भन्ने उखानै माथ गर्न लागिसके उनले । स्वतन्त्र सञ्चारको मुखमा ताला ठोक्न एक से एक उपायहरु छन् उनीसँग । जाबो लोकतन्त्रवादीहरुको दिमाग कहाँ यत्तिको तेजिलो हुन्छ र ? उनले फुराइरहेका उपायहरु हेर्दा लाग्छ, उनको गुरु पक्कै कुनै महान् मण्डले नै हुनुपर्छ, जसले लोकतन्त्रका मर्ममाथि प्रहार गर्ने एक से एक कला सिकाएर उनलाई दीक्षित गराइरहेका छन् । 

लोकतान्त्रिक सोच र लोकतान्त्रिक विचार भएका भए उनी पेशागत कर्म गरेकै आधारमा पत्रकारलाई कसरी जेल हाल्न सकिन्छ, देखेको लेख्ने, बोल्ने र देखाउने वातावरण कसरी धमिल्याउन सकिन्छ भनेर दिव्यज्ञान प्राप्त गर्न यसरी दिनरात पक्कै मरिहत्ते गर्ने थिएननन् होला । 

उनका गुरु अनि निरंकुश दिव्यज्ञानले वाक तथा प्रेस स्वतन्त्रताको वातावरण धमिल्याउन ताल–तालका उपाय सुझाइरहेका छन् । ध्यान मुद्रामा हुँदा उनको दिव्य ज्ञानले कहिले विज्ञापन ऐन देखाइदिन्छ, त कहिले मिडिया काउन्सिल विधेयक देखाइदिन्छ । सञ्चारसम्बन्धी छाता ऐन, विद्युतीय कारोबार ऐन, अन्य के–के ऐनहरु अझै बाँकी नै छन् वाक तथा प्रेस स्वतन्त्रतालाई डम्प गरेर सूचनाका स्वतन्त्र संवाहकहरुलाई ठिङ्गुर्याउन ।

ज्ञानेन्द्र शाहले समाचार कक्षमा टाटोपाटे पोशाकधारीलाई बन्दुकसहित पठाएर कसरी कलमको निबको मसी आफूअनुकूल चलाउने प्रयास गरेका थिए, बास्कोटा पनि पक्कै जानकार छन् । त्यो बेला पुलतीसडकतिर एक कोठामा साप्ताहिक पत्रिका पोको पारेर हिँड्थे उनी । उनको न्युज रुममा टाटोपाटे सेन्सरकर्ता पुगे या पुगेनन् । नपुगेका भए पनि त्यो बेला बन्दुकसँग कलमको भरमा जुधेर जितेकाहरुको संस्मरण त पक्कै पढेका नै होलान् !

धन्न, उनको गुरुले त्यत्तिसम्म सुझाव दिन भ्याएका छैनन् र मात्र । नत्र त उनी के चुप लागेर बस्थे र ! त्यो क्षण लाइफमै अनुभव गर्न नपाएका अहिलेका नयाँ पुस्तालाई हिजो माघ १९ को प्रत्यक्ष अनुभव गर्ने अवसर पक्कै दिन्थे उनी । 

लोकतान्त्रिक मुलुकमा लेखेको, बोलेको र देखाएको आधारमा पत्रकारलाई जेलमा सडाउने अलौकिक योजना सल्लाहबिना एक्लै त पक्कै ल्याएका हैनन् नै होला । 

चिन्ता के छ र ? पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहिना नै छन् । झण्डै दुई तिहाई मत छँदैछ । चार वर्ष कसले हल्लाउन सक्छ र ? चार वर्षपछि देखा जाएगा ! रेल, पानीजहाज ल्याउन खोज्दाखोज्दै जाबो वाइडबडीमा भएको जाबो चार अर्ब जति यताउता हुँदा भ्रष्टाचार भने भनेर देखाउने अनि बालुवाटारको त्यत्रो रोपनी जग्गाहुँदाहुँदै नेकपाका महासचिव विष्णु पौडेलको स्यानो आठ आने टुक्रा जग्गा मात्र देख्ने पत्रकारलाई पठाउनुपर्ने जेलै हो ।

ठीक छ मन्त्रीज्यू, लागिरहनुस् । लाग्नैपर्छ, प्वाख नउम्रेसम्म ।
 

Leave A Comment