‘एंग्रीमान’ घिसिङ

शुक्रबार, १० जेठ २०७६, ०४ : २४ शुक्रवार
‘एंग्रीमान’ घिसिङ

नाम कुल हुँदैमा सबैतिर कुलैकुल हुनुपर्छ भन्ने के छ हँ ? अनि जसले जे गरे पनि कुल व्यवहारै गर्नुपर्छ भन्ने पनि के छ ? कहिलेकाहीँ त जस्तालाई त्यस्तै पनि त गर्नसक्नु पर्यो ! एउटा आहानै छ नि, ‘लातोँ का भूत बातोँ से नहीँ मानता’ । नाम कुल भए पनि परिआएको खण्डमा कहिलेकाहीँ यो आहानको पनि प्रयोग गर्नु परेन त ?

त्रिशूली ३ बीको सबस्टेसनमा स्थानीयले अनेक बहानामा अवरोध गरेपछि अवरोध खुलाउन कुलमान घिसिङले जे गरे, ठीक गरे । उनले त्यहाँ गएर आफ्नो एंग्री रुप नदेखाएको भए, स्थानीयबासी लुरुक्क परेर तार तान्न दिन्थे र ? यसो के गर्जिदिएका थिए ‘हैन हैन’ भन्न परिहाल्यो । 

कुलमानले जे गरे ठीक गरे क्या ! चाहिएको बेला एंग्री रुप देखाउनै पर्छ । देखाए । राम्रै भयो । 

 

छाया सरकारको छनक
जम्बो मन्त्रिपरिषद् बनाएकोमा अहिले पनि आलोचना हुन्छ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको । उनले ६४ सदस्यीय मन्त्रिपरिषद् बनाएर कीर्तिमान बनाएका थिए । यत्ति धेरै मन्त्री बनाएर राज्यकोष लुटाएको भन्दै उनले सरकार नढलुञ्जेल गाली खाइरहे । 

अहिले देउवा सत्तामा छैनन् । प्रमुख प्रतिपक्षी दलको नेता हो उनको हैसियत तर उनको आलोचना भने घटेको छैन । आलोचनाको विषय पनि सरकार र त्यसको सदस्य संख्या नै हो तर सक्कली सरकार हैन छाया सरकार ।

लोकतन्त्रको अभ्यास भन्दै कांग्रेसले छाया सरकार बनायो, सरकारकै शैलीमा तर जम्बो संख्याको मोह भने छाड्न सकेनन् । छाया सरकार बनाउनुको उद्देश्य सत्ताधारीलाई खबरदारी गर्न हो । यसरी खबरदारी गर्नुपर्ने सरकारको संख्या छ, २४ । तर उनले छाया सरकारको संख्या पु¥याइदिए ५८ ।

यो छाया सरकार बनाउन पनि कम्ता दुःख पाएनन् देउवाले । मलाई गृह, मलाई शिक्षा, अनि मलाई स्वास्थ्य भन्दै हानथापै । कुरो मिलाउनै झण्डैझण्डै वर्षै लाग्यो !

छाया सरकार त हो ! न कसैलाई मान दिनुप¥यो न त सुविधा नै । तापनि यात्रो मारामार ! भनेपछि यसो विचार गरौँ त चिल्ला गाडी, शानदार कार्यकक्ष, बाक्लो सुरक्षा घेरा अनि टन्न राज्यकोष चलाउने अधिकार हुने वास्तविक सरकारको मन्त्री बन्न हिजोका दिनमा त्यो पार्टीमा कति मारामार हुने रहेछ ! 
अनि जम्बो सरकार नबनाएर कसरी फुच्चे सरकार बनाउन सकून् त देउवाले ! 

अर्को कुरो पनि है ! यो छाया सरकारका मन्त्रीहरुलाई चैँ के भनेर सम्बोधन गर्ने हो ? के भनेर लेख्ने हो ? जस्तो दिलेन्द्रप्रसाद बडु कांग्रेसको छाया सरकारको गृहमन्त्री छन् । अब उनले कहीँकतै सुरक्षाबारे भाषण ठोके भने कांग्रेस नेता बडु भनेर लेख्ने होला कि छाया गृहमन्त्री भनेर लेख्ने हो ? बडो कन्फ्युज पो गरायो भन्या !


 

Leave A Comment