कामचोरलाई करेला

सोमबार, १७ साउन २०७३, ०९ : ५० शुक्रवार , Kathmandu
कामचोरलाई करेला

अफिसमा काम गर्दा दिइएको लक्ष्य हासिल गर्न सकिएन भने कस्तो सजाय दिइएला ? सेवासुविधा कम गरिएला, जागिरको म्याद नथपिएला अथवा यस्तै खालको सजाय दिइएला । तर, चीनको एउटा कम्पनीमा ‘टार्गेट मिट’ नगर्ने कर्मचारीलाई सजायस्वरूप काँचो करेला खुवाइएको छ ।
कम्पनीका ४० कर्मचारीलाई प्रशासनले टार्गेट मिट नगरेको भन्दै काँचो करेला खुवाएको हो । कर्मचारीलाई यस्तो सजाय दिने कम्पनीको नाम लोसेङ डेकोरेसन्स कर्पोरेसन हो ।
करेला असाध्यै तीतो भएकाले केही कर्मचारीले खान सकेनन् । उनीहरूलाई जबर्जस्ती करेला खान बाध्य बनाइएको थियो । कर्मचारीलाई करेला खुवाइँदै गरेको तस्बिर अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ ।
कर्मचारीको मानमर्दन हुनेगरी सजाय दिइएपछि कम्पनीका केही कर्मचारीले जागिर छोडेका छन् । कम्पनीका बहालवाला एक कर्मचारीले भने, ‘टार्गेट पूरा नगर्नेहरूलाई ‘पुसअप’ अथवा दौडिनेजस्ता शारीरिक काम गर्न लाइन्थ्यो । यस्तो काम गर्न अप्ठेरो भएको गुनासो कर्मचारीले गरेपछि सजायस्वरूप करेला खुवाइएको हो ।’

 

Leave A Comment