साउने मेलोः हरियो–पहेँलो

सोमबार, १७ साउन २०७३, १० : ५२ गोपाल दाहाल , Kathmandu
साउने मेलोः हरियो–पहेँलो

साउन महिनामा महिलाहरूका नाडी राता, हरिया, पहेँला चुराले भरिएका छन् । हत्केला र पाखुरा मेहदीले रंगिएका छन् । यस हरियो मौसममा महिलाले पहिरन चाहिँ कस्तो रोज्छन् ?
यो महिनामा महिलाहरूले हातको हरियो चुरा र मेहदीसँग मिल्ने पहिरन लगाउन रुचाउँछन् । अहिले बजारका कपडा पसल तथा बुटिकमा हरिया, पहेँला कुर्तासुरुवाल, लेहंगा र सारी धेरै बिक्ने गरेका छन् ।
साउन महिनामा हरिया, पहेँला चुरा र मेहदीको व्यापार पनि राम्रै हुन्छ । हातभरि हरियो चुरा लगाउनुलाई सौभाग्य ठान्नेहरू पनि छन् भने कतिपयले लहैलहैमा फेसनका लागि मात्र लाउँछन् । प्रायः विवाहित महिलाहरू यस्तो पहिरन लगाउन मन पराउँछन् ।
फेसन डिजाइनर उत्तम बनेपालीको अनुभवमा साउनमा महिलाहरू हरियो र पहेँलो मिसिएको पहिरन मन पराउँछन् । उनका अनुसार प्रायः गृहिणी महिला यो बेला हरियो र पहेँलो रङ मिसिएका कुर्तासुरुवाल, लेहंगा र सारी रोज्छन् । साउनमा लगाउन असारमै धेरैले आफूसँग यस्तो पहिरन बनाइसकेको उनी बताउँछन् । भन्छन्, ‘टिन एजर्सले खासै यस्तो पहिरनको ख्याल गर्दैनन् । तर, पाकाहरू साउनका लागि यस्ता पहिरन अघिल्लै महिना बनाइसक्छन् ।’
साउनलाई धार्मिक महिनाका रूपमा लिइन्छ । यही महिनामा शिवालयमा बोलबम जाने भक्तहरू पहेँलो पहिरनमा हिँड्छन् ।
अर्का फेशन डिजाइनर मदन पौडेल तीज पनि नजिकिँदै गएकाले हरियो, रातो पहिरन डिजाइन गरेर लगाउने युवतीको संख्या बढिरहेको बताउँछन् । उनका अनुसार यो मौसममा हल्का किसिमका कपडा बढी चल्छन् । तीज र अन्य चाडपर्वलाई पनि लक्षित गरेर पहिरन डिजाइन गर्न आउने धेरै भएको उनको भनाइ छ ।
धरानमा स्प्लेन्डर बुटिक सञ्चालन गरिरहेकी डिजाइनर हेमा राईका अनुसार गर्मी मौसममा शीतल हुने हलुका रङका पहिरन बनाउन धेरै ग्राहक आउने गरेका छन् । ‘गर्मी भएकाले अहिले धरानमा सर्ट स्लिभ, स्लिभलेस, धागो वर्कजस्ता डिजाइन चलेका छन् । तीज नजिकिँदै गएकाले तीजका लागि पनि पहिरन बनाउनेहरू आउँछन् ।’

 

 

Leave A Comment