अपराधमा तन्नेरी

सोमबार, २३ असार २०७६, ०२ : १७ गिरिराज बाँस्कोटा
अपराधमा तन्नेरी शीतल योङहाङको हत्यामा संलग्न पदम तामाङ र भगिरथ बास्तोलालाई सार्वजनिक गर्दै प्रहरी। तस्बिर: गिरिराज बाँस्कोटा/नागरिक

पाँचथरको हिलिहाङ गाउँपालिकामा दुई हृदय विदारक हत्याका घटना भए। फरक–फरक कारण देखिए पनि यी घटनाको समानतामा भने दुवै ठाउँ युवतीको हत्या भयो, त्यो पनि घाँटी रेटेर। अर्को समानता भने, दुवै हत्याको घटनामा संलग्न २० वर्ष उमेरभन्दा कममा युवकहरु रहेका थिए।

नेपाली प्रहरीलाई अनुसन्धानका लागि निकै टाउको दुखाइको विषय बनाउने गरी हिलिहाङ–४ को कार्तिके र सोही गाउँपालिकाको ६ नम्बर वडाको चिते भन्ने ठाउँमा पाशविक हत्याका घटना भएका थिए। शान्त गाउँमा यी घटनाले त्रासदी फैलाइदिएका छन्।

सिद्देश्वरीमा १५ वर्षीय शीतल योङहाङको हत्याले हिलिहाङ–४ मात्रै त्रसित बनेन, सिंगो जिल्लाबासी नै तर्सिए। साँझको समयमा वैशाख २९ मा घाँटी रेटेर हत्या भएको अवस्थामा उनको शव फेला प-यो। उनी घरबाट साँझमा निस्किएकी थिइन्, फर्केर आइनन् बरु घरमा शव भेटिएको खबर आयो। प्रहरीले खोजीनीति अगाडि बढायो। प्रहरी अनुसन्धानले उनको हत्यामा जिल्लाकै फाल्गुनन्द गाउँपालिका ३, पात्लेका १९ वर्षीय पदम तामाङ र १७ वर्षीय भगिरथ बास्तोलाकोे संलग्नता भएको खुल्यो। प्रहरीले भगिरथलाई घटनाको भोलिपल्ट सदरमुकाम फिदिममा पक्राउ ग-यो। तर घटनाका मुख्य योजनाकार पदमलाई पक्रन २१ दिनको मिहिनेत प्रहरीले ग-यो। उनलाई दमकको एक होटलमा लुकेर काम गर्दै गरेको बेला प्रहरीले पक्राउ ग-यो।

सुजाता तामाङको हत्यामा संलग्न घनेन्द्र लावतीलाई सार्वजनिक गर्दै प्रहरी।

बयानको क्रममा भगिरथले समातेको र पदमले घाँटी रेटेर हत्या गरेको खुल्यो। शीतल पदमकी प्रेमिका रहेको खुल्न आयो। प्रेममा भएको आशंकाले हत्या जस्तो जघन्य अपराध भएको पाइएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवर बताउँछन्। केही दिन अगाडि शीतल र पदमले फोन साटेका थिए। शीतलको फोन बिजी हुने, वेटिङमा हुने पाएपछि पदमले शंका गरेका रहेछन्। फोन साटेपछि अरुको फोन पनि आउने गरेको थाहा पाएको रिसमा शीतलको हत्या भएको खुल्न आएको छ।

यो घटना सेलाउन नपाई फेरि हिलिहाङ–६ को चिते भन्ने ठाउँमा माइक्रो–फाइनान्स कम्पनीमा फिल्ड कर्मचारीका रुपमा काम गर्ने इलामको माइजोगमाई–५ की सुजाता तामाङको हत्या भयो। असार ३ गते उनको हत्या भएको थियो। गोपेटार बजारमा रहेको एनएमबी माइक्रो–फाइनान्सकी कर्मचारी सुजाता समूहको बैठक राखी वचत तथा ब्याज संकलन गरेर फर्किएकी थिइन्। हत्या गरेर खोल्सामा फालिएको अवस्थामा उनको शव भेटियो। घटनामा आवश्यक प्रमाण नजुटेपछि प्रहरीलाई अनुसन्धान गर्न निकै जटिल भएको थियो। ४८ घण्टामा प्रहरीले घटनामा संलग्नलाई पहिचान गरी पक्राउ ग-यो। स्थानीय १९ वर्षीय घनेन्द्र लावतीले हत्या गरी उनीसँग भएको ८१ हजार ७० रुपैयाँ लुटेर लगेको खुल्न आयो। पैसा लुट्नकै लागि हत्या गरेको घनेन्द्रले प्रहरीसामु बयान दिएका छन्।

यी घटनापछि सो गाउँपालिकामा मात्र नभई जिल्लामै त्रास कायम छ। पृष्ठभूमिका ९ जनाको हत्या भएको काण्ड पनि सँगै छ। तर हिलिहाङ गाउँपालिकामा भएका दुई घटनामा २० वर्षमुनिका तीनजना संलग्न छन्। नयाँ पुस्तामा यसरी देखिएको हत्या लगायतका अपराधमा संलग्न भैरहनु समाजका लागि अत्यन्त नकारात्मक पक्ष भएको डिएसपी कुँवरको भनाइ छ। ‘समाज कता ढल्कँदै छ भन्ने कुराको संकेत यी घटनाले गरेका छन्,’ उनले भने, ‘हामीले घटनामा संलग्नलाई मिहिनेतका साथ पक्राउ ग¥यौँ तर पढ्ने उमेरमा यस्ता अपराधमा देखिएको संलग्नताको असर ठूलो हुन्छ। प्रहरीले मात्र यस्ता घटना न्यूनीकरण गर्न सक्दैन। सामाजिक क्षेत्रबाट तथा विद्यालय तहबाट पनि विशेष पहल आवश्यक छ।’

तन्नेरीहरुको जघन्य अपराधमा संलग्नताको असर समाजमा फैलिएको छ। युवा पुस्ता किन नकारात्मक र आपराधिक मनोवृत्तिमा ग्रसित बन्दैछ भन्ने कुराको अध्ययन हुन आवश्यक देख्छन्, मानव अधिकारीकर्मी प्रेम ओझा। ‘अपराधमा २० वर्षमुनिको समूह बढ्नु समाजको अवस्थालाई जनाउ दिन्छ,’ ओझा भन्छन्, ‘सरकारी नेतृत्वमा विशेष अभियान चलाउन आवश्यक छ। हत्या, कुटपिट, बलात्कार लगायतका आपराधिक घटनामा युवा पुस्ताको संलग्ताले युवापुस्ता कता गइरहेको छ भन्ने कुराको संकेत गर्छ।’

Leave A Comment