स्वतन्त्र हुन दिउँ

मङ्गलबार, २४ असार २०७६, ०१ : ०२ शुक्रवार
स्वतन्त्र हुन दिउँ

विद्यानाथ कोइराला, प्राध्यापक
किशोरावस्था भनेको अधिक इच्छाशक्ति हुने उमेर हो। यो उमेर समूहका बच्चाबच्चीहरुमा धैर्य कम र परिणाम छिटो खोज्ने प्रवृत्तिका हुन्छन्। यो उमेरमा चाहे घरको होस् या समाज या राज्यको नै किन नहोस् अवरोधलाई सहजै लिँदैनन्। बाधा अड्चनलाई यो उमेर समूहका व्यक्तिले आफ्नो स्वतन्त्रताको उपभोग गर्न नदिएको बुझ्छन्।

एसइई दिएर भर्खर ११ भर्ना भएका किशोरकिशोरीलाई सोध्ने हो भने, उनीहरु घरमा बाआमाले कडा अनुशासनमा राख्ने गरेको, स्कुलमा डिआई (डिसिप्लिन इन्चार्ज)ले गरेको व्यवहारले आफ्नो स्वतन्त्रता खोसिएको अनुभव गर्छन्। स्वतन्त्र महसुस गर्न नसकेकै कारण उनीहरु यहाँ बस्न मान्दैनन्।

त्यसकारण उनीहरुलाई पढाउने शिक्षक, हुर्काउने अभिभावकले केही कुरामा ध्यान दिन सकियो भने उनीहरुको भविष्य उज्ज्वल हुन्छ।

दोेधारे मानसिकता त्यागौँ
वास्तविकता के भएको छ भने अभिभावकले कसेको र छोराछोरी उम्कन खोजेको अवस्थाले अहिले हाम्रो समाज आक्रान्त छ। हाम्रो संस्कार, संस्कृति एकातिर अनि प्रविधिले भित्र्याएको संस्कार अर्काेतिर छ। हामी हात मिलाउने र नमस्कार दुवै एकैपटक गर्ने भएका छौँ जबकि दुवैको अर्थ एकै हो।

किशोरकिशोरीमा अन्यौल बढेको छ। उनीहरुमा एक्लोपनको अनुभव गहिरिन थालेको छ र यसले गर्दा उनीहरु डिप्रेसनमा जान थालेका छन्। यस्तो अवस्थामा उनीहरुले विवेकले निर्णय गर्दैनन्, इमोसनल भएर निर्णय गर्न पुग्छन्, नराम्रा निर्णय गर्न पुग्छन्। तर खोजेजस्तो वातारवरण पाए भने सुध्रिनेहरु पनि छन्। नत्र भए त बिग्रने नै हो। 

त्यसकारण के बुझ्नुप-यो भने उनीहरुले हात मिलाए पनि ठीकै छ, नमस्कार भने पनि ठीकै छ, दुवै थोक गर्न बाध्य नपारौँ। बिस्तारै संस्कृति परिर्वतन हुँदै जाने हो। परिवर्तित संस्कृतिलाई अँगाल्न जानेनौँ भने परिणाम राम्रो आउँदैन।

अभिभावकले उसको उमेरअनुसार के हेरिरहेको छ, ध्यान दिनुपर्छ तर एकोहोरो पढेनन् भनेर कराउनु बेकारको कुरा हो। आजका युवा ‘मल्टिटास्किङ’ छन्। उनीहरु एकै पटकमा धेरै काम गर्न सक्छन्।

परिवेश बद्लियोे स्वभाव बदलौँ
अहिले प्रविधिको युग हो। पहिले जस्तो पुस्तकमा मात्रै एकोहोरिएर अहिलेको पुस्ताले पढ्दैन। आफ्नो पालामा जस्तो घुँडा धसेर नपढेका कारण अभिभावकलाई लाग्न थाल्छ, यिनीहरुको चाला ठीक छैन, राम्रोसँग पढिरहेका छैनन्। अभिभावकले उसको उमेर अनुसार के हेरिरहेको छ, मनिटरिङ त गर्नुपर्छ तर पढेनन् भनेर एकोहोरो कराउनु बेकारको कुरा हो। आजका युवा ‘मल्टिटास्किङ’ छन्। उनीहरु एकै पटक धेरै काम गर्न सक्छन्। पढ्दै, हेर्दै, सुन्दै गरिरहेका हुन्छन्। अनि किशोरकिशोरीले पनि बुझ्नुपर्ने कुरा के हो भने म स्वतन्त्र छु भन्दै गर्दा केही कुरामा हेक्का राख्नुपर्छ।

वास्तवमा भन्ने हो भने हाम्रो संस्कृतिले नै हामीलाई पूर्ण रुपमा स्वतन्त्र हुन दिएको छैन। यो यथार्थलाई बुझ्न जरुरी छ। आफूलाई बुबाआमाले गरेको लगानी सम्झनु आवश्यक छ। अरु देशमा छोराछोरीलाई यति स्वतन्त्रता छ भनेर भन्दै गर्दा अरु देशमा १८ कटेपछि आफ्नै लगानीले आफ्नो व्यक्तित्व बनाउने हुन् भन्ने कुरा पनि किशोरकिशोरीले बुझ्न जरुरी छ।

अभिभावकले बद्लिएको परिस्थितिअनुसार मुठ्ठी खुकुलो बनाउने र किशोरकिशोरीले जिम्मेवारीबोध गर्ने हो भने हाम्रोमा देखिएका तिक्तता युवाहरुमा देखिएको उदासीपन, धेरै हदसम्म कम हुन्छ।

संवाद बढाऔँ
हाम्रो पारिवारिक संरचना बद्लिएको छ। अहिले अधिकांशको घरमा २/३ वटा बच्चा र बाबुआमा रहने गरेका छन्। पहिले संयुक्त परिवार हुँदा धेरै समस्यादेखि मनमा लागेका कुरा परिवारमा नै भन्ने वातावरण हुन्थ्यो तर अब भने परिवार पनि सानो र अलिअलि बिताउने समय पनि प्रविधिले ओगट्न थालेको छ। यस कारणले परिवारका सदस्य बीचको आपसी संवाद कम भएर गएको छ।

बाबुआमासँग छोराछोरीको संवाद नहुँदा उनीहरुमा एक प्रकारको छटपटाहट र औडाहा  आएको देखिन्छ। चार जना चारैतिर फर्केर प्रविधिको दुनियाँमा हराउने हैन, एकअर्काबीच आत्मीयताका लागि कुराकानी गर्ने समय दिने गर्नुपर्छ। किशोरकिशोरीलाई लादेर निर्देशन दिनेभन्दा पनि जुनसुकै विषयको राम्रो–नराम्रो पक्षबारे जानकारी दिनु उपयुक्त हो। किशोर–किशोरीले पनि बुझ्नुपर्ने कुरा के हो भने ‘देश अनुसारको भेष’ भनेजस्तै बद्लिँदो संस्कृतिलाई अँगाल्दै चलिरहेको संस्कृतिलाई मान्नु पर्छ।

चाहनाको सम्मान गरौँ
अभिभावकको चाहना एकातिर अनि छोराछोरीको चाहना अर्काेतिर भयो भने समस्या सिर्जना हुन्छ। पढ्ने विषय छनोट गर्ने, करियरको विषय छनोट गर्ने, मामिलामा अभिभावक अलि उदार हुनुपर्ने देखिन्छ। मैले लगानी गरेको हो मैले भनेअनुसार हुनुपर्छ भन्ने धारणा राख्न हुन्न। के विषय पढ्न चाहन्छन् ? केमा करियर बनाउन चाहन्छन् ? त्यो क्षेत्रमा के–के गर्न सकिन्छ भनेर ध्यान दिनुपर्छ। यसो गर्न सकेको खण्डमा छोराछोरी र अभिभावकको दुरी कम हुन्छ। जब एकअर्काको इच्छा र चाहनालाई बुझेर अगाडि बढ्न सकिन्छ, तब समस्या आउँदैन।

सिर्जनशील बनाऔँ
स्वतन्त्र महसुस भयो भने त्यहाँ नयाँ कुराको सिर्जना हुन सक्छ। जब स्वतन्त्रता नै हुँदैन, बन्धन हुन्छ– त्यहाँ भएको सिर्जना पनि मर्छ। पश्चिमा देशहरुले १८ वर्ष कटेपछि स्वतन्त्र छोडिदिएका हुन्छन्। जसका कारण उनीहरुले सबै काम सिकिसकेका हुन्छन्। यहाँ भने त्यो छैन। पश्चिमाहरुको चलनको समर्थन गरेको रुपमा नबुझियोस्, उनीहरुले सानैबाट स्वाबलम्वी बन्न सिकाएका हुन् पनि। लाठे भइञ्जेलसम्म बाबुआमाको भर पर्नु स्वाभाविक मानिन्छ यहाँ। जब आर्थिक रुपमा अरुको भर परिन्छ, स्वतन्त्र हुन सकिँदैन। सानैबाट सिर्जनशील बन्नु त छँदैछ।
कुराकानीमा आधारित

Leave A Comment