गुगल म्यापले समस्या

शनिबार, २८ असार २०७६, ११ : ३९ शुक्रवार
गुगल म्यापले समस्या

गुगल म्याप हिजोआज विकसित मुुलुकमा अति आवश्यकमध्येमा गनिन्छ। नेपालमा जस्तो बाटोमा भेट हुनेलाई ‘दाइ, फलानो ठाउँ कहाँ पर्छ ?’ भनेर सोध्ने सुविधा त्यहाँ हुँदैन किनभने त्यहाँ कोही पैदल हिँड्दैनन्। यस्तो अवस्थामा सोध्ने भनेको नै म्याप वा नक्सालाई हो। तर त्यही नक्सा गलत भइदियो भने के होला त ?

गएको साता अमेरिकाको कोलोराडोमा त्यस्तै भएको छ। बिदा मनाउन निस्किएका राज्यका अधिकांश मानिसहरु सोही गलत गुगल म्यापका कारण दिनभरि यता र उता भौँतारिनु परेको छ।

गुगल म्यापले जुन ठाउँमा चिल्लो सडक छ भनेर देखाएको थियो, त्यो त हिलोधुलो युक्त गोरेटो रहेको चाल पाएपछि कारमा सवारहरु दिनभरि नै सडक खोज्न भौँतारिनु परेको थियो।

खासमा चालकहरु डेनभर अन्तर्राष्ट्रिय विमानस्थल खोज्दै हिँडेका थिए, गुग म्यापले शनिबार भने गाउँको यात्रामा पु-याइदियो। यो गाउँले यात्रा त त्यतिबेला बिग्रियो, जब अघिल्लो रात मज्जैले पानी परेर खेत, बाटो र गोरेटो सबै हिलैहिलो पारिदिएकाले कारमा सवारहरु हिले यात्रा गर्न बाध्य भए।

केही समयभित्रै यो खेतमा सय वटा गाडीहरु लाइनमा लागिहाले। लाइनमा लागेकाहरु पनि विमानस्थल पुग्नुपर्ने ठाउँमा कहाँ रोपाईं गर्न आइपुग्यौँ भनी चकित परिरहेका थिए।

सिएनएन टेलिभिजनसँग कुरा गर्दै एक चालक कोनी मोन्सिजले भनिन्, ‘मभन्दा अगाडि नै सय वटा कारहरु लाइनै बसेका थिए। त्यो देखेर ठीकै ठाउँमा लाइन लाग्न आइपुगियो होला भन्ने सोचेको त, के ठीक ठाउँ हुनु ?’

कतिपय यसरी बीच बाटोमा अलपत्र परेपछि कोनीले कतिपय यात्रुलाई कोचकाच पारेर विमानस्थल पु-याएकी थिइन्। गुगलले भने यस्तो समस्या कहिलेकाहीँ देखापर्ने जनाएको छ। ‘कहिलेकाहीँ पानी परेका बेला जिपिएस सिस्टममा समस्या आउने गरेको पाएका छौँ,’ गुगलले पछि माफी माग्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रा ग्राहक महानुभावहरुले दुःख पाउनु भएछ।’

Leave A Comment