‘साहुले गायिकालाई अलपत्र पारे’

मङ्गलबार, ३१ असार २०७६, ११ : ३८ शुक्रवार
‘साहुले गायिकालाई अलपत्र पारे’ राम पाठक, दाेहाेरी गायक।

१७ वर्ष अगाडिदेखि दर्जनाैँ दोहोरीसाँझमा गाउँदै आएका गायक हुन् राम पाठक। ठमेल, दरबार मार्ग हुँदै हालै नयाँ बसपार्कमा रहेको मझेरी रोधिघरमा गीत गाइरहेका छन्। उनले १७ वर्षदेखि अहिलेसम्म आफूले भोगेको रात्रिकालीन कुराकानी भोला अधिकारीसँग खुलाए।

गीत गाउन थालको १७ वर्ष भयो। ठमेलमा रहेको काठमाडौं क्यारेक्ट भन्ने दोहोरीसाँझ थियो। अहिले नगरकोट दोहोरीसाँझ जुन ठमेलमा छ। त्योभन्दा अलिक पर थियो। अहिले कोरियन रेष्टुरेन्ट बनाएजस्तो लागेको छ। त्यहीँबाट मैले गाउन सुरु गरेको अहिले ठ्याक्कै १७ वर्ष पार गरेको छ। रहरै रहरमा दोहोरीसाँझमा सुरुवात गरेको अहिले ठमेल, कलङ्की, दरबार मार्ग हुँदै नयाँ बस पार्कमा पुगेको छु। कतिपय दोहोरीसाँझमा पारिश्रमिक पनि पाइएन। कतिपय दोहोरीसाँझमा गेष्टबीच हानाहान गरेर भाग्न दोस्ती हुन्थ्यो। म आफैँ सात रात विनागल्ती जेल परेँ।

फोहोरी भयो दोहोरी
अहिले दोहोरी दोहोरीजस्तो देखिन छोड्यो। दोहोरीमा १७ वर्ष पहिला केटा एकापट्टी, केटी अर्को पटी बसेर दोहोरी गाइन्थ्यो। नेपाली पोशाक लगाएर चट्ट परेर सुकुलमा बसेर गीत गाउने चलन थियो। मैले ठमेलमा यसरी नै गीत गाएको थिएँ। अहिले त ड्रेस नै तिरमिराउने लगाउनुपर्ने। छोप्नुपर्ने अंग देखाउनुपर्ने अवस्था सिर्जना भएको छ। अहिले दोहोरीलाई दोहोरी नभएर फोहोरी भन्दा केही फरक पर्दैन।

सज्जनलाई बौलाहा बनाउने ठाउँ
गीतसंगीतमा रमाएर रक्सी पिउने ठाउँ नै हो। यो भन्दा अर्को केही हुँदैन। हामीले गाएर उनीहरुलाई आनन्द दिएर फकाइफकाई पैसा तिराएर घर फर्काउनुपर्ने हुन्छ। सुरुमा दोहोरीसाँझ भित्र पसेको हुन्छ। उसले न रक्सी पिएको हुन्छ न बैमान कुरा नै गर्छ। उसलाई एक गिलासबाट सुरुवात गराएर, फकाइफकाई जति सक्दो धेरै पिलाएर, मताएर घर पठाउने हो।

यस्तो ठाउँमा झगडा नपर्ने भन्ने नै हुँदैन। झगडा त सामान्यदेखि भयङ्करसम्म परेको छ। २०६५ सालतिर हो। ठमेलमा एउटा डान्सबार थियो। त्यसको नाम मैले बिर्सिएँ। पछि हङकङ आइडी दोहोरीसाँझ भन्ने खुलेको थियो। अहिले मनाङ होटलनजिकै थियो। त्यहाँ म कलाकारहरुको लिडर थिएँ। अहिलेका केही चलेका कलाकारहरुको म लिडर थिएँ। त्यहाँ काम गर्दा निकै लफडा भएको थियो। त्यहाँ मैले २ महिना काम गरेपछि छोडेँ। पछि फेरि डान्सबार नै खोलेँ। 

सामाखुसी चोकमै संगम दोहोरीसाँझ थियो। सुरुमा क्याबिन थियो पछि दोहोरीसाँझ बनाउनु प-यो राम भाइ भन्नुभयो। मैले कलाकारको जिम्मा लिएको थिएँ। म त्यो समयमा दोहोरी क्षेत्रमा राम्रै चर्चा कमाएको थिएँ। मलाई सबै कलाकारले पत्याउँथे। त्यहाँ मैले काम गर्दा धेरै दुःख भोगेको छु। त्यो दोहोरीसाँझमा धेरै जसो  ग्याङ फाइट प-थ्यो। एकचोटी भने बाँचिन्छ जस्तो पनि लागेको थिएन।

प्रायः केटाहरु हतियार लिएर आउने र कता कता लुकाउने गर्दा रहेछन्। अनि आफ्नो दुस्मन या अर्को ग्याङको मान्छे भेटे कता कता कुदेजस्तो गर्थे भाक्क र भुक्क हानाहान पूरै रणसंग्राम नै हुन्थ्यो। दोहोरीसाँझमा गीत गाउन जाने कलाकार पनि डराइडराइ जानुपर्ने अवस्था आउन थाल्यो। त्यसपछि त्यो दोहोरीसाँझ बन्द गरेर फेरि क्याबिन चलाउन थाल्नुभएको थियो।

त्यहाँबाट पार नलाएर मैले जागिर छोडेर नयाँ बसपार्कमा रहेको मनकामना दोहोरीसाँझमा गएँ। यहाँ पनि बेस्सरी  झगडा प-थ्यो।  गंगा जमुना दोहोरीसाँझमा एउटा गेष्टले अर्को गेष्टलाई गायिका जिस्क्याएको निहुँमा मु-याएछ। एकैपटक ड्यामड्याम र डुम डुम पर्न थालिहाल्यो। सुरुमा त के भयो थाहै पाइनँ। म पनि भाग्ने सुर कसेर तल झर्ने भएको मेरो दाहिने खुट्टा भ-याङमा ओर्लिँदा मर्कियो। मर्किएपछि भाग्न सकिनँ। एकै छिनमा प्रहरी आएर सबैलाई एउटै भ्यानमा हालेर हनुमान ढोकामा पु-यायो। त्यो बेला विनाकसुर प्रहरीले सात दिन हनुमानढोकामा थुन्यो। पछि अर्को साहु आएर जरिवाना तिरेर निकाले।

साहुले गायिकालाई अलपत्र पारे  
साहुहरुले कोही पार्ट टाइमका लागि दोहोरीसाँझ खोलेका हुन्छन् भने कोही स्थापित नै गराउँछु भन्ने हिसाबले लागेका हुन्छन्। मैले काम गरेको एउटा दोहोरीसाँझमा के देखेँ भने बाहिरबाट आउने यसो हेर्ने कोसँग हेलमेल गर्न सकिन्छ राम्रा छन् उनीहरुलाई साहुहरुले नजिक बनाइहाल्थे। घरमा लैजाऊँ भने श्रीमती हुन्थे घर लान मिलेन। त्यस पछि बाहिर नै कता लग्थे हामीलाई थाहा नै हुँदैनथ्यो। कोही बाध्यताले दोहोरीसाँझमा गाउन आएका कलाकार हुन्छन्। त्यस्तालाई प्रलोभनमा पारेर फकाएर लगेको पनि देखेँ।

ठमेलमा गंगा जमुना दोहोरीसाँझमा काम गर्थेँ। ७/८ वर्षअगाडिको घटना हो। अहिले यो दोहोरीसाँझ बन्द पनि भइसक्यो। यो दोहोरीसाँझ धेरै जस्तो दोहोरीसाँझ किनबेच भइरहन्थ्यो। दोस्रोपटक किन्ने साहुले त्यही हामीसँग काम गर्ने एकजना गायिकालाई फकाइ फुल्याइ गरेछ र तिनलाई लिएर गेष्ट हाउस बसेछ। धेरै समयसम्म उनीहरु रिलेसनमा बसेपछि साहुले छोड्ने कुरा गरेछ। साहुको घरमा बुढी रहिछे। उसले सायद बिहे गर्ने प्रलोभनमा त्यस्तो क्रियाकलाप गरेछन्। पछि ती बैनी रोएर तमासा गर्न थालिन्। पछि के सम्झौता भो कुन्नी। ती बैनीले काठमाडौं छोडेर गइन्।

Leave A Comment