साउने फेसन

बुधबार, १९ साउन २०७३, १० : २३ कृष्टि घले , Kathmandu
साउने फेसन

साउन महिनामा हरियो, रातो, पहेँलो चुरापोते, मेहदी र पहिरनमा सजिने गर्छन् नेपाली महिला । यस महिनामा भगवान शिवका नाममा व्रत बस्नेहरू पनि धेरै छन् । शिवलाई हरियो, रातो र पहेँलो रङ मन पर्ने भएकाले उनलाई खुशी बनाउन महिलाहरूले ती रङका पहिरन र चुरापोते लगाउने गरेको विश्वास धेरैको छ ।
सोमवार पशुपति मन्दिरमा पूजाका लागि लाइन लागेकी बौद्धकी अनीता श्रेष्ठ हरियो र रातो मिसिएको सारीमा सजिएकी थिइन् । ‘भगवान शिवका लागि पार्वतीले गरेको तपस्या सम्झेर व्रत लिने गरेकी छु,’ उनले भनिन् । पेशाले ब्युटिसियन रहेकी अनीताले साउनमा पानीले नभिजोस् भनेर ‘वाटर प्रुफ’ मेकअप गर्ने बताइन् । ‘पहिरनसँग मिल्ने र आफूलाई सुहाउने वाटर प्रुफ मेकअप गर्छु । साउन महिनामा कतिखेर पानी पर्छ भन्ने ठेगानै हुँदैन । यति मेहनत गरेर मेकअप ग¥यो पानीले बग्यो भने त बर्बाद भइहालिन्छ नि ! त्यसैले वाटरप्रुफ मेकअप गर्छु,’ उनले भनिन् ।
साउनको फेसनसँग अभ्यस्त छिन् धरानकी ६५ वर्षीया लक्ष्मी श्रेष्ठ । छोराछोरीसँग केही वर्ष अमेरिका बसेर यता आएकी उनले भनिन्, ‘अमेरिका बस्दा नेपालको रहनसहन खूब ‘मिस’ गर्थें । साउन महिना लागेपछि नेपाल झनै याद आउँथ्यो ।’ साउनमा उनी वातावरणजस्तै हरियो हुन रुचाउँछिन् । ‘यो महिनामा चारैतिर हरियाली हुन्छ । म आफू पनि हरियो भएर हिँड्न रुचाउँछु । त्यसैले साउनमा बढीजसो हरियो रङका पहिरन लगाउँछु ।’
काठमाडौँलाई अहिले साउने फेसनले छोएको छ । फुटपाथका ठेलागाडादेखि ठूला मल हरियो, रातो, पहेँलो रङले सजिएका छन् । सबैतिर साउनकै लागि विशेष सामान राखिएका छन् । हरियो, पहेँलो, रातो रङका कपडा, चुरापोते, नेलपोलिस सबै साउन केन्द्रित छन् ।
पाका महिलाले धार्मिक विश्वास साथ साउनलाई विशेष मान्ने गरे पनि आधुनिक महिलाले विशुद्ध फेसनका दृष्टिले यसलाई हेर्ने गरेका छन् । ‘साउनको फेसनै बेग्लै हुन्छ,’ १२ कक्षा पढ्ने रश्मि वाग्लेले भनिन्, ‘धार्मिक कुरा थाहा छैन । हामी त फेसनका रूपमा मात्र बुझ्छौँ । हरियो–पहेँलोको फेसन रमाइलो लाग्छ । त्यसैले साउन महिना मन पर्छ ।’  

 

Leave A Comment