गालाको बोसो पगाल्ने काइदा

सोमबार, ०६ साउन २०७६, ०१ : ३२ शुक्रवार
गालाको बोसो पगाल्ने काइदा

डा. डिबी सुनुवार, अध्यक्ष, होलिस्टिक ग्रुप अफ कम्पनीज्

अनुहार व्यक्तिको सबैभन्दा चर्चा र नजर पर्ने अंग हो। अनुहारले व्यक्तिको व्यक्तित्वसमेत झल्कन्छ। अनुहारकै भाव लगायतका कारण व्यक्ति स्वस्थ वा रोगी तथा समस्यामा परेको छ–छैन भन्ने बारे थाहा पाउन मद्दत पुग्छ।

स्वस्थ व्यक्तिको अनुहारमा चमक देखिन्छ भने अनुहार हँसिलो र उज्यालो हुन्छ। शारीरिक तथा मानसिक समस्यामा परेको व्यक्तिको भने अनुहार निरस, निराश, अँध्यारो तथा चमकहीन हुन्छ। 

अनुहारका गाला, चिउँडामा अनावश्यक रुपमा बढेको मांशपेशीले अनुहारै अमिल्दो देखिन्छ। जसले व्यक्तिको सुन्दरतामै असर पुग्छ। त्यसैगरी गाला र चिउँडाको भागमा मांशपेशी कम हुँदा कुपोषित मात्रै हैन, व्यक्ति खिन्न मुद्रमा देखिन्छ।

शारीरिक व्यायामको कमीले सिंगो शरीरमा मात्रै हैन गालामा समेत अनावश्यक भद्दा रुपमा मासुको थुप्रो तथा बोसो जम्मा हुन पुग्छ। अनुहार भद्दा देखिने तथा अनावश्यक रुपमा मासुको थुप्रो जम्नाले व्यक्तिको सुन्दरतामा असर पुग्छ। अर्कोतर्फ अनुहार तथा गालामा बोसोको मात्रा धेरै हुनु भनेको व्यक्ति शारीरिक रुपमा अस्वस्थताको संकेत हो। अनुहारमा बोसो धेरै हुँदा अनुहार नमिलेको र भद्दा देखिनाले व्यक्तिमा तनावको स्थिति सिर्जना हुन सक्छ।

त्यसैले गालामा सुहाउँदो किसिमले सन्तुलित रुपमा मासु तथा बोसो हुन आवश्यक छ। अनुहारलाई सुन्दर र सन्तुलित तथा सामान्य रुपमा राख्न व्यायामको आवश्यक हुन्छ। अनुहार तथा गालाको बोसो घटाएर अनुहार सुन्दर बनाउन विभिन्न तरिकाले व्यायाम गर्न सकिन्छ।

मुखको व्यायाम
मुखको व्यायाम गर्नाले गालाको बोसो घट्न सहयोग पुग्छ। करिब १० पटक मुख बाएर आँ... गर्दै छाड्न (मुख बन्द गर्दै) सकिन्छ।

मुख बाएर दायाँ–बायाँ मुख बंग्याउँदै चलाउन सकिन्छ। त्यति मात्रै हैन, जिब्रोले दाँतको वरिपरि तथा गिजाको भागलाई ठेल्दै चलाउन सकिन्छ। जिब्रोले गिजाको तल्लो र माथिल्लो भागलाई पालैपालो ठेल्दै चलाउन सकिन्छ।

मुखको यस्तो व्यायामले गालाको मांशपेशी तन्कने र खुम्चने प्रक्रिया हुन्छ। जसले गर्दा गालामा अनावश्यक रुपमा रहेको मांशपेशी घट्छ। जुन व्यायामले गालाको बोसोको मात्रा घटाउन मद्दत पु-याउँछ।

यस्तो व्यायमले मांशपेशी कम भएर चाउरी परेको गाला सन्तुलित हुनुका साथै गालामा चमक आउँछ। यो व्यायामले अनुहार, गाला तथा मुखमा प्यारालाइसेस (पक्षघात) भएर मुख बांगिने जोखिमबाट बचाउँछ।

अनुहारमा दाँत
अनुहारको सुन्दरतामा दाँतको पनि भूमिका हुन्छ। दाँतमा भएको समस्या तथा दाँत निकालिएको अवस्थामा अनुहारको आकृति नै बिग्रने सम्भावना हुन्छ। अनुहारको सुन्दरताका लागि समेत बिहान–बेलुका दाँतको ब्रस गर्न सकिन्छ।

दाँतको बंगारा झरेको अवस्थामा गालामा बाहिरबाट हेर्दा खोपिल्टो देखिन्छ। त्यसैले अनुहार तथा गालाको सुन्दरताको लागि दाँतको व्यायाम र सरसफाइमा ध्यान दिनुपर्छ। दाँतको व्यायाम गर्दा दुवैपट्टिका दाँत जोड्दै छोड्दै गर्न सकिन्छ। केही नरम र पातलो वस्तुलाई दाँतले टोक्दै छोड्दै गर्नाले दाँतको लेबल त मिल्छ नै दाँत मजबुत भई गाला सुन्दर देखिन सहयोग पुग्छ।

स्टिम बाफ
स्टिम बाफ अनुहारमा लिनाले अनुहारको बोसो घट्न सहयोग पुग्छ। तातो पानीको बाफ अनुहारमा लिँदा छालामा भएको बोसो कम हुनुका साथै अनुहारको अनावश्यक फोहोर बाहिर निस्कन्छ। स्टिम बाफले अनुहारको छालाको रौँको छिद्रा बाहिर खोली अनुहारमा चमक ल्याउँछ। बाफ लिनु पनि व्यायामको रुपमा लिन सकिन्छ।

सुख्खा छाला छ भने दुई मिनेटसम्म बाफ लिन सकिन्छ। ऐली (चिप्लो) छाला भएका व्यक्तिले तीन मिनेटसम्म लिन सकिन्छ। सामान्य छाला हुने व्यक्तिले तीन मिनेट बाफ लिनु उपयुक्त हुन्छ। महिनामा एक पटक यसरी शुद्ध पानी वा हर्बल इसेन्स मिसाएर बाफ लिन सकिन्छ। यसरी अनुहारमा बाफ लिँदा चिकित्सकको सल्लाहमा लिनु उचित हुन्छ। 

फेस वास व्यायाम
गालाको व्यायाम गर्ने विभिन्न तरिका छन्। गालाको व्यायामका लागि फेस वास पनि एउटा हो। बिहान–बेलुका ‘क्लिन्जिङ फोम’ वा कुनै प्राकृतिक हर्बल साबुनले हल्का रुपमा मुख धुन सकिन्छ। यसरी अनुहारमा साबुन लगाएर करिब चार मिनेट गाला तथा अनुहार माड्नाले गालाको बोसो कम भई गाला सन्तुलित राख्न सहयोग पुग्छ।

त्यति मात्रै हैन, साबुन लगाएर माड्नाले गालाका मरेका तन्तुसमेत पुनः उत्पादन भई गालामा चमक आउँछ। यस्तो व्यायाम महिला–पुरुष दुवैले गर्न सकिन्छ। महिलाले फेसियल र पुरुषले फेस वासका रुपमा साबुन वा क्रिम प्रयोग गर्न सकिन्छ।

यसरी साबुन लगाएर मुख धोएपछि राति सुत्नुअघि अनुहारको प्रकृति र समस्याअनुसार अनुहारमा मिल्ने क्रिम लागाएर सुत्नुपर्छ। चाया पोतो भए चाया पोतो हटाउने ‘एन्टिपिग्मेन्ट’ क्रिम प्रयोग गर्न सकिन्छ भने डण्डीफोरका लागि ‘एन्टिएक्ने’ क्रिम लगाउन सकिन्छ। अनुहारको छाला कालो भएको आवस्थामा ‘ह्वाइटनिङ’ क्रिम लागाइन्छ। बिहान पुनः फेस वास गरिसकेपछि मोस्चराइजिङ क्रिम लगाउन सकिन्छ। जसले छाला चम्किलो र नरम बनाउन मद्दत गर्छ। घाममा हिँड्नु पर्ने अवस्थामा एन्टी सनलाइट क्रिम लगाउन सकिन्छ। क्रिम भने चिकित्सकको सल्लाहमा लगाउनु उचित हुन्छ।

दुध र कफीले व्यायाम
अनुहारको फेस वास गरिसेपछि क्रिम लगाएर दुधमा कफीको केही खस्रो धुलो मिसाएर अनुहारमा मालिस (स्क्रब) गर्न सकिन्छ। यसरी दुध र कफीको खस्रो धुलोले मालिस गर्दा अनुहार तथा गालाको मांशपेशी र हड्डीको व्यायाम त हुने नै भयो, यस्तो व्यायमले रक्तसञ्चार राम्रो हुने हुँदा अनुहारको छालाको बाहिरी सतहमा भएका मृत कोषिकालाई बाहिर निकाली छालामा चमक ल्याउँछ।

दैनिक दुई सय एमएल दुधमा एक सय ग्राम कफीको धुलो हाली बेलुका सुत्ने समयमा अनुहारको मालिस (स्क्रब) गर्न सकिन्छ। सम्मिश्रणगरी तयारी अवस्थामा स्क्रब क्रिम नेपाली बजारमा प्रशस्त मात्रामा पाइन्छन्।

सामान्यतः मुख धोएपछि (फेस वास) फिटकिरी वा एन्टिसेप्टिक क्रिम अनुहारमा लगाउनाले छालामा बाह्य ब्याक्टेरियाबाट हुने आक्रमणबाट बच्न सकिन्छ।

व्यायाम मात्रै हैन, अनुहार तथा गालाको चमक र स्वास्थ्यका लागि सन्तुलित रुपमा पोषणयुक्त खानपान पनि उत्तिकै महत्वपूर्ण हुन्छ। यसका अतिक्ति हामीले प्रशस्त मात्रामा पानी पनि पिउनु पर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment