रसायनयुक्त मेहदीले हानि गर्छ

बुधबार, १९ साउन २०७३, १० : ३६ डा. धर्मेन्द्र कर्ण , Kathmandu
रसायनयुक्त मेहदीले हानि गर्छ

महिलाले गर्ने विभिन्न शृंगारमा मेहदी लगाउनु पनि पर्छ । विशेष गरेर शहरिया महिलाले कपाल रंग्याउन, हात, नङ तथा गोडामा मेहदी लगाउने गरेका छन् । विवाहमा बेहुलीलाई अनिवार्य रूपमा मेहदी लगाउने गरिन्छ । साउन महिना सुरु भएपछि मेहदी लगाउने फेसन नै चलेको देखिन्छ । महिलाको शृंगार प्याकेजमा अनिवार्य रूपमा समेटिन थालेको मेहदीको बढ्दो प्रयोगसँगै छालामा नकारात्मक असरहरू देखिएपछि उपचारका लागि आउने बिरामीको संख्या पनि बढ्दै गएको छ । कपाल, हात, गोडा तथा शरीरका विभिन्न भागमा अस्थायी ट्याटू बनाउन मेहदीको प्रयोग गरिन्छ ।
अंग्रेजीमा हिना भनिने मेहदी एक प्रकारको वनस्पति हो । पौराणिक कथाहरूमा समेत उल्लेख पाइने यो प्राकृतिक कस्मेटिक रङ हो । मेहदीको पाता टिपेर त्यसलाई पिसेर लेदो बनाएर लगाउँदा यसले शरीरमा कुनै किसिमको हानि गर्दैन । तर, यो शहरमा सम्भव छैन । मेहदीको बढ्दो व्यावसायिक उत्पादनसँगै यसमा विभिन्न किसिमका रङ तथा केमिकल मिसाउने गरेको पाइन्छ । प्राकृतिक मेहदीमा गाढा खालको रङ निकाल्न मिसाइने पारा–फेनाइलेनेदायमाइन केमिकलका कारण छालामा एलर्जी हुने, घाउ खटिरा आउने, दाग बस्ने जस्ता समस्या देखापर्छन् । केमिकल मिसाइएको मेहदी लगाउँदा छालाको भित्री तथा बाहिरी दुवै भागमा असर गर्नसक्छ । त्यसैले सुन्दर देखिने लोभमा बढी केमिकल मिसाएर गाढा रंग देखिने मेहदी सकेसम्म नलाएकै राम्रो हुन्छ । कपालमा नियमित मेहदी लगाउनेहरूको गाला तथा घाँटी वरिपरि मेहदीको जस्तै रङका दागहरू बस्ने गर्छ ।
मेहदीको रङ गाढा गर्नका लागि त्यसमा ग्लिटर, मट्टीतेल, एसिड, पेट्रोल, थिनर (स्पिरिट) जस्ता सामग्री मिसाइने गरेको पाइन्छ । यसरी बनाइएको मेहदी छालाका लागि हानिकारक हुन्छ । मेहदी उत्पादन गर्दा नै त्यसमा केमिकल मिसाइएको हुन्छ । त्यसमा छालालाई थप हानि गर्ने अन्य वस्तु मिसाउँदा त्यसको नतिजा झनै खराब हुन्छ । यसरी तयार गरिएको मेहदी लगाउँदा छालामा एलर्जीका साथै क्यान्सर समेत हुने सम्भावना हुन्छ । लगाउन छिटो हुने र रङ पनि गाढा बस्ने भएकाले हिजोआज डाई÷छापवाला मेहदी लगाउने चलन बढेको छ । यसले लगाएको दुई मिनेटमा नै गाढा रङ दिन्छ । छिटोछरितो भएकाले यो लोकप्रिय बन्दै गएको छ । तर, यस्तो मेहदी सबैभन्दा हानिकारक हुन्छ । एकछिनका लागि राम्रो भए पनि यसले पछिका लागि नराम्रो परिणाम दिन सक्छ । छापवाला मेहदी बाटो छेउमा बस्नेहरूले बढी लगाउने गरेका छन् । विभिन्न किसिमका केमिकलको प्रयोग हुने भएकाले छिटो रङ बस्ने हुन्छ । रङ छिटो बसे पनि मेहदीमा मिसाइएका केमिकलका कारण भने छालामा नकारात्मक असर देखा पर्न सक्छ ।
आफूले प्रयोग गर्न लागेको मेहदीले एलर्जी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन थोरै मेहदी भिजाएर घाँटीमा लगाएर ४८ घण्टासम्म त्यत्तिकै छोडिदिनुपर्छ । मेहदी लगाएको भागमा चिलाउने, पानी भरिएको रातो खटिरा आउने जस्ता लक्षण देखिएन भने त्यो मेहदीले एलर्जी हुँदैन । यसरी टेस्ट गरेर मेहदी लगाउन सकियो भने यसबाट हुने नकारात्मक असरबाट जोगिन सकिन्छ । नियमित मेहदी लगाउँदा छालामा मलम वा क्रिम लगाउँदा जसरी यसमा हुने तŒवहरू शरीरका विभिन्न भागमा जान्छन् र तिनले असर देखाउँछन्, त्यसैगरी मेहदी पनि शरीरभित्र पसेर काला दागहरू देखा पर्न सक्छन् । अनुहार, आँखा वरिपरि तथा घाँटीमा कालो दाग बस्ने सम्भावना रहन्छ ।
सकेसम्म बढी केमिकल मिसाइएको र गाढा रङ आउने मेहदीको प्रयोग नगरेकै राम्रो हुन्छ । प्रयोग गर्नैपरे पनि कहिलेकाहीँ थोरै मात्रामा प्रयोग गर्नुपर्छ । मेहदी प्रयोग गरेपछि कुनै असर देखियो भने त्यसको उपचार छाला रोग विशेषज्ञसँग गराउनुपर्छ । मेहदीको साइट इफेक्टबाट बसेको दागको उपचार वर्षौंसम्म गर्दा पनि निको नहुने भएकाले बेलैमा होशियार हुनुपर्छ । कपालमा लगाएको मेहदीका कारण घाँटीमा बसेको दाग उपचारपछि पनि पूरा निको हुँदैन । त्यसैले ‘साउन लाग्यो, मेहदी नलाई हुँदैन, पार्टीमा जानु छ मेहदी लगाउनैपर्छ’ भन्ने जस्ता भ्रमबाट मुक्त भएर आफ्नो शरीर र छालाको अवस्थालाई ख्याल गरेर यसको प्रयोग गर्नुपर्छ । बजारमा प्राकृतिक रङ तथा हर्बल भन्दै आकर्षक प्याकमा विक्री गरिने अधिकांश मेहदीमा छालालाई अल्पकालीन तथा दीर्घकालीन असर गर्ने रसायन मिसाइने भएकाले मेहदीको प्रयोग कम गरेर नै आफ्नो छालालाई जोगाउन सकिन्छ । छालामा केही समस्या छ भने छाला रोग विशेषज्ञलाई जँचाएर मेहदी प्रयोग गर्न हुन्छ वा हुँदैन भन्ने टुंगोमा पुग्दा राम्रो हुन्छ ।

Leave A Comment