विश्वकपमा नेपाल : दोस्रो छनोटकै खेल कठिन समूहमा

शनिबार, ११ साउन २०७६, ०२ : १७ शुक्रवार
विश्वकपमा  नेपाल : दोस्रो छनोटकै खेल कठिन समूहमा

सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको दोस्रो चरणको एसियाली छनोटमा नेपाल समूह ‘बी’ को कठिन समूहमा परेको छ। एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको समूह विभाजनमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुबेत छन्।

विश्वकपमा नेपालको उपस्थिति सहभागीतामै सकिने गरेकोमा यो पटक पनि उपलब्धि पुरानै दोहोरिने जोखिम बढी छ। एसियाका ४० वटा टोलीलाई आठवटा समूहमा विभाजन गरिएको थियो। एक समूहमा पाँच–पाँच राष्ट्र छन्।

दोस्रो चरणको छनोट खेल आगामी सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ तारिखसम्म सञ्चालन हुनेछ। दोस्रो चरणको खेलपछि आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी कुल १२ टोली तेस्रो चरणको छनोटमा पुग्नेछन्।

तेस्रो चरणको छनोटमा स्थान बनाउने १२ वटा टोली सन् २०२३ को एसियन कपका लागि पनि स्वतः छनोट हुनेछन्। समूहका सदस्यहरु हेर्दा नेपालले दोस्रो चरण पार गरेर तेस्रो चरणमा पुग्न चमत्कारै हुनुपर्ने छ।

दोस्रो चरणको छनोटमा माल्दिभ्स, चीन, सिरिया, फिलिपिन्स र ग्वाम समूह ‘ए’ मा परेका छन्। इरान, इराक, बहराइन, हङकङ र कम्बोडिया समूह ‘सी’ मा छन् भने साउदी अरेबिया, उज्बेकिस्तान, प्यालेस्टाइन, यमन र सिंगापुर समूह ‘डी’ मा परेका छन्।

बंगलादेश, ओमन, भारत, अफगानिस्तान र कतार समूह ‘ई’ मा परेका छन् भने जापान, किर्गिस्तान, ताजिकिस्तान, म्यानमार र मंगोलिया समूह ‘एफ’ मा छन्।

संयुक्त अरब इमिरेट्स (यूएई), भियतनाम, थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया समूह ‘जी’ तथा दक्षिण कोरिया, लेबनान, उत्तर कोरिया, तुर्कमेनिस्तान र श्रीलंका समूह ‘एच’ मा परेका छन्।
 

Leave A Comment