गेष्टले मलाई वियरको बोतलले हाने

मङ्गलबार, १४ साउन २०७६, ११ : १४ शुक्रवार
गेष्टले मलाई वियरको बोतलले हाने

हास्य सिरियल ‘ट्वाक्क टुक्क’ हुँदै नेपाली फिल्ममा आएका कलाकार हुन् रेसम फिरिरी। हास्य कलाकारका रुपमा परिचित रेसमले आफ्नो नाइट लाइफबारे भोला अधिकारीसँग गरेको रात्रिकालीन कुराकानी:

म गाउँमा हुँदा पनि कलाकार नै थिएँ। गाउँमा सानातिना कार्यक्रममा गएर नाच्ने, गाउने र देशका ठूला–ठूला नेताहरुको क्यारिकेचर गरेर हँसाउँथेँ। मलाई पहिलादेखि नै हरिवंश आचार्य, राजेश हमालको क्यारिकेचर गर्न मन लाग्थ्यो र गर्थेँँ। सबैजना मज्जाले हाँस्नुहुन्थ्यो। गायिका कोमल ओली मेरो दाइको साथी हुनुहुन्थ्यो। उहाँहरुसँग बसेर तीजमा गाउने नाच्ने गरिन्थ्यो।  त्यसैको प्रभावले गर्दा मैले गाउँकै कार्यक्रममा हँसाउँदाहँसाउँदै काठमाडौंमै पढ्ने भनेर घरपरिवारले मलाई दाङबाट काठमाडौंको डिल्लिबजारमा रुम खोजेर पढ्नका लागि राखिदिनुभयो।

यहाँ बसेर मात्रै केही उपलब्धि हुने भएन। नभएपछि जागिरको सिलसिलामा थापाथलीमा एउटा डान्सबार त्यसमा काम गरेँ। त्यहाँ मैले डान्स देखाउँदै, कलाकारहरुको, नेताहरुको क्यारिकेचर गरेर हँसाउन थालेँ। पैसा पनि राम्रै हुन थाल्यो। त्यसपछि म पहिलोपटक एभरेष्ट क्यासिनोमा गएँ, त्यहाँ नाच्ने काम गरेँ। थापाथलीको डान्सबार नजिकै दोहोरीसाँझ थियो। त्यहाँ पनि मैले हँसाउने, नाच्ने काम गर्थेँ।  धेरै जसो मैले नाचेर भन्दा पनि क्यारिकेचर गरेरै दर्शक हँसाउँथेँ। 

१० हजार टिप्सको माला

डान्सबारमा अरुभन्दा फरक गर्ने भएर होला टिप्स राम्रै थियो। मैले त्यो बेला चलेका कलाकारहरुको क्यारिकेचर गरेर सबैलाई हँसाएर भुतुक्कै पार्थेँ। डान्सबारमा गएर नाचेको पहिलो गीत हरिवंश आचार्यको ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले २ रुपियाँको टिकट काट्दछ’ मा नाचेको थिएँ।

जसको प्रस्तुति राम्रो हुन्थ्यो। मैले फरक प्रस्तुति गरेका कारण साहुहरुले बोलाउने गर्नुहुन्थ्यो। हँसाउने मान्छेको अलिक बढी टिप्स हुन्थ्यो। त्यस कारण मैले राम्रै टिप्स पाएको थिएँ। पहिलोपटक मैले डान्सबारमै १० हजार टिप्स पाएँ। त्यो १० हजारको माला बनाएर साथीहरुले मलाई लगाइदिएका थिए, म खुसीले गद्गद् भएँ । 

तलब ५ हजार टिप्स १० हजार भएपछि बुढापाकाले भन्ने एउटा उखान सम्झिएँ। ‘साहुको भन्दा ब्याजको लोभ’। टिप्सले पनि लोभ्याउन थाल्यो। यही डान्सबारमा काम गर्दागर्दै म कलाकारितामा आउन थालिसकेको थिएँ। त्यो बेला फिल्महलमा सानो रोल पाए पनि धेरैले चिन्नुहुन्थ्यो। राजेश हमाल दाइहरुसँग फिल्म खेल्न थालिसकेको थिएँ। त्यस कारण पनि मेरो डान्स, क्यारिकेचर हेर्न सुन्नका लागि डान्सबारमा खचाखच गेष्टहरु आउनुहुन्थ्यो।

माया गर्छु भन्नेको लर्कै लाग्थ्यो

डान्सबारमा मैले कमाउनु त छँदै थियो साथसाथै सिक्ने मौका पनि पाउँथे। रातभरि डान्सबारमा नाच्थेँ दिनभरि सुटिङमा जान्थेँ। त्यतिखेर ममा धेरै जोस जाँगर थियो। 

डान्समा गएर क्यारिकेचर गर्दै अन्तमा गेष्टलाई लठ्ठै बनाउन सक्थेँ। राजेश हमाल दाइले नाच्नुभएको ‘आधीँले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन अनि ‘शनिबारको दिन बिहानी पख’ नेपाली गीतमा नाच्थ्यौैं भने हिन्दीमा मिथुन चक्रवर्तीको ‘याद आ रहा है’ गीतमा मैले डान्स गर्थेँ। त्यसपछि माइकल ज्याक्सनको ‘ड्याङ ड्याङ’ खाल्का गीतमा नाचेर गेष्टहरुलाई मख्ख बनाइदिन्थेँ।

मैले दिनेश डिसीको ‘ट्वाक्क टुक्क’ सिरियलमा काम गर्न थालिसकेको थिएँ। टिभीमा देखेको कलाकार डान्सबारमा देखेपछि युवतीहरु नजिकिने र माया गर्छु भन्ने त कति थिए थिए। कतिपय त म तपाईविना मरिहाल्छु भन्नसमेत भ्याए। आफूलाई पनि माया गरेको फिल हुन्थ्यो। एकजना गौरीघाटमा बस्ने अनामीका भन्ने केटी साथी थिइन्।

उनी दिउँसो पढ्ने र बेलुका ठमेलमा हामीसँगै नाच्ने गर्थिन्। उनले मलाई असाध्यै मन पराउँथिन्। मैले पनि उनलाई मन पराउँथेँ तर उनको घरजम भइसकेको थियो। पछि खोइ के भयो कुन्नी हाम्रो प्रेम छुट्यो।  

काठमाडौंका कुनै डान्सबार छोडिएन

बत्तीसपुतलीमा खुस्बु भन्ने डान्सबार थियो। त्यहाँ केही समय काम गरेपछि  गणेश लामा दाजुले बत्तीस पुतलीमा क्रिस्टल डान्सबार खोल्नुभएको थियो त्यहाँ सरेँ। क्रिस्टलमा मैले डान्सबारहरुको लिडरका रुपमा काम गरेको थिएँ। त्यो बेला उहाँ डन हुनुभएको नै थिएन। त्यो क्रिस्टलमा काम गरेको बेला म नाचिरहेको थिएँ। हरेक गेष्टहरुको रोजाइमा गीत बजाउन सकिरहेको थिइनँ। गेष्ट धेरै हुन्थे। 

एकजना गेष्टले खोइ कुन गीत हो अफर गरेको गरै थिए। मैले बजाउने समय नै पाएको थिइनँ। उहाँले एकदमै धेरै रक्सी पिउनुभएको रहेछ। उहाँले भनेको मानिन भनेर म नाचिरहेको बेला हातमा भएको वियरको बोतलले मलाई हान्नुभयो। म नाचिरहेकोले गर्दा वियरको बोतल मेरो नाकको अगाडिबाटै भित्तामा भएको सिसामा लाग्यो। सिसा झ-यामझुरुम फुट्यो। गणेश दाइले त्यो गेष्टलाई एकसट हान्नुभएको थियो। त्यो मान्छे त पोस्टर जस्तै भयो। सबैजनाले छोडेर घर गयौँ। भोलिपल्ट होसमा आएपछि त्यो गेष्ट गएछ पछि फर्केर आएन।

साहरुख खानले इण्डिया आउन आश्वासन दिए

सोल्टी होटलमा मनीषा कोइरालाको जन्मदिनको कार्यक्रम थियो, त्यो कार्यक्रममा मेरो पनि प्रस्तुति थियो। त्यस कार्यक्रममा साहरुख खान, जोनि लिवरलगायतको उपस्थिति थियो। कार्यक्रममा मैले साहरुख खान, नाना पाटेकरलगायतको क्यारिकेचर गरेको थिएँ। नाना पाटेकरले पनि मलाई धेरै राम्रो गर्नुभयो भने। क्यारिकेचर गरेपछि बहु अच्छा है  भन्दै साहरुख खानले बलिउड फिल्ममा खेलाउने आश्वासन दिएका थिए।  

Leave A Comment