‘ट्याक्सीमा कहाँबाट इज्जत हुनु’

मङ्गलबार, १४ साउन २०७६, १२ : १३ शुक्रवार
‘ट्याक्सीमा कहाँबाट इज्जत हुनु’

रुद्र बुढाथोकी, ट्याक्सी चालक, वा२ज ४६०४

तपाईंले ट्याक्सी चलाउन थालेको कति भयो ?
१५, १६ वर्ष भयो। सुरुमा प्रोजेक्टमा काम गर्थेँ। मेरी स्टोप सेन्टरमा काम गर्दागर्दै अफिसले एउटा भ्याकेन्सी ल्यायो। त्यहाँ जागिर छोड्दा एकै चोटी ३० महिनाको तलब आउने भयो । त्यहाँ मैले छोडेँ। छोडिसकेपछि आफैँ केही गरौँ न। कति अरुको मात्रै जागिर गर्ने भन्ने भयो। त्यहाँबाट आएको तीस महिनाको तलबले  विदेश जाऊँ जस्तो लागेको थियो। विदेशका लागि प्रोसेस गर्दागर्दै बिरामी भएँ। प्रोजेक्टबाट आएको पैसा पनि आफूलाई खर्च गर्दागर्दै सकियो। अलि अलि पैसा बाँकी थियो। त्यही बाँकी रहेको पैसाले ऋण लिएर ट्याक्सी चलाउन थालेको हुँ।

ट्याक्सी चलाउँदा र प्रोजेक्टमा काम गर्दा कुनमा सजिलो ?

ट्याक्सीमा कहाँबाट इज्जत हुनु प्रोजेक्टको काममै बढी इज्जत थियो। पछिल्लो समय इज्जत नभएको पेसा त ट्याक्सी नै हो जस्तो लाग्छ, पहिले भने त्यस्तो थिएन। प्रोजेक्टको गाडी चलाउँदा त ट्राफिक प्रहरीले सर हजुर यताबाट जानुस्। यसो गर्नुस् उसो गर्नुस् भनेर अ-याउँथे। ट्याक्सीका  त मान्छे नै होइनन् जस्तो व्यवहार देखाउँछन्। अस्ति एकपटक न्युरोडमा ट्याक्सीबाट मान्छे ओराल्दाओराल्दै स्टाट अप नै गरेको थिइनँ। घुमाउनलाई तयारी अवस्थामा थिएँ। ट्राफिक आएर सिधैँ चाबी झिकेर लगिदियो।

नाइटमा ट्याक्सी चलाउँदा कत्तिको जोखिम मोल्नु परेको छ ?
भनी साध्य छैन। ९ सय मोडलको ट्याक्सी चलाउँदा कमाइ राम्रै थियो। ट्याक्सी थोरै भएर होला, दिनमा ३ हजारभन्दा माथि कमाइ हुन्थ्यो। मेरो आफ्नै गाडी भएकोले राति १२, १ बजेसम्म पनि चलाउँथेँ। आफूलाई जति सक्दो पैसा कमाउनु थियो। मैले कमाएको पैसाले एकतोलाको औंठी किनेर लगाएको थिएँ। गौरीघाटदेखि जडिबुटी जानका लागि एकजना लेडिज चढ्नुभयो । उहाँले कति लिनुहुन्छ भन्नुभयो। मैले घटाउँछ होला भनेर ७ सय रुपैयाँ भनेँ। तर उहाँले दोहोरो कुरा नगरिकन ट्याक्सीमा चढ्नुभयो। मलाई पैसाको बार्गेनिङ नगरिकन लोकन्थलीभन्दा भित्र जाने भन्नुभयो।  सररर उहाँले भनेको गन्तव्यमा पुगेपछि उहाँले मसँग पैसा छैन माथि रुममा होला त्यहीँ जाऊँ न भन्नुभयो। म त सोझो मान्छे तल नै ल्याइदिनु न भनेँ।

होइन हजुरले अप्ठ्यारो मान्नु पर्दैन भरेर जबर्जस्ती लानुभयो। रुममा पुगेपछि ढोकाको चुकुल लगाउनुभयो र भन्नुभयो। मोबाइल पैसा र ओँठी दिन्छस् कि मलाई बलात्कार गर्न आयो भनेर चिच्याऊँ। हैन बैनी के गर्नुभएको मेरो पैसा दिनुस् न भनेँ। भनेको मान्दैनस् भने चिच्च्याइदिन्छु र यहाँका मान्छेले तँलाई कसरी कुटेर लखेट्छन् भन्ने कुरा गर्न थालेपछि मलाई इज्जतको डरले भए पनि एकतोलाको औँठी, मोबाइल दिन बाध्य भएँ। नदिउँ मान्छे आएर मलाई नै दोषी ठह-याउँछन् । यसरी मलाई खेलाई खेलाई लुटिदिई। यो केही समय अघिको घटना हो। यहाँ ट्याक्सीले होइन ट्याक्सीलाई पनि लुटेका छन् भन्ने कुरा कसैले बुझ्दैनन्। सबैले हामी (ट्याक्सी वालालाई )लुटेरा मात्र भन्दा बडो दुःख लाग्छ। प्रस्तुति : भोला अधिकारी

Leave A Comment