नाकको व्यायाम

मङ्गलबार, १४ साउन २०७६, ०३ : २४ शुक्रवार
नाकको व्यायाम

डा. डीबी सुनुवार, अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

अनुहारको प्रकृतिअनुसार नाक लामो, छोटो, थेप्चो हुन्छ। कसैको नाकको टुप्पो बांगो, ठूलोजस्ता आकारको हुन्छ।

विशेषगरी नाकको आकारकै कारणसमेत व्यक्ति घुर्ने, पिनास, माइग्रेनजस्ता समस्या देखा पर्छन्। नाकको प्वाल सानो तथा साँघुरो हुने व्यक्तिलाई सहज रुपमा स्वासप्रश्वासमा अवरोध हुन सक्छ। जसले स्वास्थ्यमा समेत नकारात्मक समस्या निम्तिने जोखिम हुन्छ।

मोटो व्यक्तिको पनि बोसोको कारण नाकको मांशपेशी बढी भई नाकको प्वाल साँघुरिएर स्वासप्रश्वासमा अवरोध हुन सक्छ। नाकको प्वाल सानो हुँदा व्यक्तिमा घुर्ने समस्यामा हुन सक्छ।

नाकको प्वालको आकृति सिधा नभई अंग्रेजी ‘एस’ आकारको बांगो हुन्छ। नाकमा ‘एस’ आकारको प्वाल भएकै कारण नाकको प्वालबाट कुनै वस्तु नाकभित्र छिर्दा ‘एस’ आकारमा अड्किने भएकाले स्वासनलीसम्म पुग्ने जोखिम हुँदैन। जसको कारण व्यक्तिको ज्यान जानेसम्मको जोखिमबाट बच्न सकिन्छ। नाकमा अड्किएका वस्तु हाछ्यूँ गर्ने क्रममा बाहिर निस्कन्छन्।

त्यसैले नाक स्वस्थ, सफा र फिट राख्नका लागि नाकको विभिन्न तरिकाले व्यायाम गर्न सकिन्छ। नाकको व्यायाम तथा नाक सफा गरेर नाकको प्वाल खुलाउन सकिन्छ।

औँलाले सोझो नाक
नाकको व्यायाम गर्दा सुरुमा दुवै हातका बुढी औँलाले नाकको जरा  (आँखामुनिको भाग) बाट टुप्पोतिर नाक तानिन्छ। यो क्रम करिब १० पटक गर्नु उपयुक्त हुन्छ। यसरी नाक तानेर व्यायाम गर्दा बांगो नाक सिधा हुन सक्छ। त्यसैगरी दुवै हातका चोर औँला नाकको दुवै प्वालमा हल्का घुसारेर तलबाट माथितर्फ नाकको प्वाल तन्काउन सकिन्छ। यसरी नाकको प्वालमा औँला राखेर नाक तन्काउँदा नाकको प्वाल ठूलो हुन्छ। अर्कोतर्फ दुवै हातका बुढीऔँलाले नाकको पोरामा बिस्तारै समाउँदै सिधा तन्काउन सकिन्छ।

यस्तो व्यायामले नाक बन्द हुने, घुर्नेलगायतका समस्याबाट बच्न सकिन्छ।  बिहान–बेलुका दैनिक यसरी नाकको व्यायाम गर्दा एक हप्तामै राम्रो परिणाम आउन सक्छ। नाकका यस्ता व्यायाम घरमै सहज रुपमा गर्न सकिन्छ।

नाकको साफसफाइ धेरै किसिमले गर्न सकिन्छ। एक त हाछ्युँ गर्दा, सिँ गर्दा नाकको आफैँ स्वतस्फूर्त रुपमा व्यायाम भैरहेको हुन्छ भने अर्कोतर्फ प्राकृतिक रुपले नाकको साफसफाइ गरी नाक तन्दुरुस्त राखिन्छ। नाकको साफसफाइ तथा व्यायामको उदाहरणको रुपमा ‘जलनेती’ प्राकृतिक विधिलाई लिन सकिन्छ।

‘जलनेति’ विधि
नाकको व्यायाम गर्ने ‘जलनेती’ विधिमा सानो ‘जलनेती’ भाँडो तयार गरिन्छ। भाँडो प्लास्टिक, तामा वा पित्तलको हुन्छ। ‘जलनेती’ भाँडो अम्खोरा वा करुवा जस्तै हुन्छ। अम्खोरा वा करुवामा तताएर सेलाएको पानी राखिन्छ। घुँडा टेकेर बसी अनुहार उँभो आकाशतर्फ हेरिन्छ।

यसरी पानी राखेको करुवाको पाइपबाट नाकको एकातिरको प्वालबाट बिस्तारै पानी हालेर अर्को प्वालबाट बाहिर निकालिन्छ।  नाकको दुवै प्वालबाट पालैपालो पानी हाल्दै अर्को प्वालबाट झारिन्छ। पानी आफैँ नाकको प्वालबाट बाहिर झर्छ।

यसरी ‘जलनेति’ विधिबाट नाकमा पानी हाल्दै बाहिर निकाल्दा स्वास भने मुखबाट फेर्नु पर्छ। नाकबाट स्वास फेर्दा पानी स्वासनलीमा पुगी सर्किने जोखिम हुन्छ।

‘जलनेती’ विधि हप्तामा एकदेखि दुई पटकसम्म १० मिनेट गर्नु उपयुक्त हुन्छ। ‘जलनेती’ प्राकृतिक विधिले नाक सफा गर्दा नाकमा भएको फोहोर बाहिर निस्कन्छ। जसले श्वासप्रश्वासमा सहजता त ल्याउँछ नै पिनास, माइग्रेनजस्ता समस्याबाट बच्न सकिन्छ।

विशेषगरी नाक बन्द हुने तथा पिनासको समस्या हुने व्यक्तिले ‘जलनेती’ विधि अपनाएर नाक सफा गर्दा पिनासको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

सामान्यतः ‘जलनेती’ विधि सबै उमेर समूहले गर्न सकिने भए पनि १२ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिले गर्नु उपयुक्त हुन्छ।

‘जलनेती’ विधिले नाक सफा गरिसकेपछि नाकले स्वास बाहिर फाल्ने प्राणायाम गर्नुपर्छ। नाक भित्रबाट जोडले स्वास बाहिर फाल्नुपर्छ। यसरी नाकले स्वास बाहिर फाल्दा ‘जलनेती’ गर्ने क्रममा नाकमा रहेको पानी बाहिर निस्कन्छ। यसरी नाकबाट स्वास बाहिर फाल्नुलाई प्राकृतिक चिकित्सकीय भाषामा कपालभाँती, भस्त्रिका भनिन्छ।

‘सूत्रनेती’ विधि
अर्को नाक सफा गर्ने तथा व्यायाम गर्ने विधिमा ‘सूत्रनेती’ विधि पर्छ। ‘सूत्रनेती’ विधिमा नाकको प्वालबाट रबरको सानो पाइप छिराएर मुखमा निकालिन्छ। यसरी नाकबाट छिराएर मुखमा निकालिएको पाइप ठेकीमा मोही पारेजस्तै गरी पालैपालो घरी नाक त घरी मुखबाट तान्दै छोड्दै गरिन्छ। यो विधि पालैपालो दुवैतिरको नाकको प्वालबाट पाइप छिराएर गरिन्छ।

यसरी नाक र मुखबाट पाइप तान्दै छोड्दै गर्दा पाइपको घर्षणका कारण नाकमा जमेर बसेको फोहोर बाहिर निस्कन्छ। ‘सूत्रनेती’ विधि पनि करिब १० मिनेट हप्तामा दुई पटक गर्न सकिन्छ।

सुरुमा ‘जलनेती’ र ‘सूत्रनेती’ विधिले नाक सफा गर्र्दा प्राकृतिक चिकित्सकको सल्लाह लिएर गर्नु उपयुक्त हुन्छ। सल्लाहपछि घरमै आफैँ यी विधि अपनाई नाकको व्यायाम गरेर नाक सफा तथा स्वस्थ राख्न सकिन्छ। नाकको व्यायाम गर्ने यी सामान्य विधि हुन्। ठूलो खर्च हुन्न।  
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment