चुम्बकीय ढाड

शनिबार, १८ साउन २०७६, ०१ : १५ शुक्रवार
चुम्बकीय ढाड

सेभ्गी सुलेर्लीलाई एक दिन अचम्मैसँग ढाड दुख्यो। किन यस्तो भयो भनेर उनले पत्तो पाएकी थिइन्। एक दिन उनी एउटा चुम्बक खेलाइरहेकी थिइन्। त्यो चुम्बक खेलाउँदै जाँदा ढाडमा पुगेर टक्क अडियो ! सुरुमा त उनलाई यति रमाइलो लाग्यो कि घरका हरकोहीलाई कोट्याउँदै देखाउन थालिन्, ‘ओई, हेर् न, यो चुम्बक त झर्नुको साटो ढाडमा अडिन्छ !’

तर पछि जब चुम्बक अडिनुको कारण के हुनसक्छ भनी उनी घोत्लिन थालिन्, त्यसपछि उनको सातो गयो। हुन पनि ६ वर्षअघि उनको सर्जरी भएको थियो। सोही सर्जरीका बेला उनको ढाडमा कुनै फलाम अड्केको हुनुपर्छ भन्ने उनलाई लाग्यो।

दुई सन्तानकी आमा सेभ्गीले ६ वर्षअघि ढाडको समस्या ‘स्लिप्ड डिस्क’ भएपछि टर्कीको डेनिज्ली प्रान्तस्थित एक अस्पतालमा भर्ना भएकी थिइन्।

यो सर्जरीपछि उनको ढाडको समस्या समाधान हुनुपर्ने हो तर अझ बढी चर्कियो। सर्जरीको एक वर्षमै उनलाई हिँडडुलका लागि अप्ठेरो हुन थाल्यो। उनले आफ्ना दुई सन्तानको हेरचाह नै गर्न नसक्ने अवस्था सिर्जना हुन थाल्यो। ३४ वर्षकै उमेरमा यस्तो समस्या आएको पाएपछि उनी दुःखी थिइन्।

उनले स्थानीय मिडियालाई भनेकी छन्, ‘मेरो अवस्था कतिसम्म खराब भएर गयो भने आफ्नै सन्तानको ख्याल राख्न नसकेपछि म माइत फर्कनु प-यो। आमाले केटाकेटीको ख्याल राखिदिनुभयो।’

यसपछि उनी सोही अस्पतालमा गएर एक्स–रे गराइन्। चिकित्सकहरुले यो दुखाइ सर्जरी गर्दा गरिएको स्टिचका कारण भएको हो भनी आश्वस्त पार्न खोजे।

एक दिन उनी टेलिभिजन हेर्दै थिइन्, त्यो बेला टिभीमा एक जना रोगीका बारेमा बताइँदै थियो, जसमा अपरेसनका बेला उनको शरीरभित्रै छाडिएका अपरेसन सामग्रीले पारेको सकस देखाइँदैथियो।

यसपछि उनले परीक्षण गर्न भनेर एउटा चुम्बक ल्याइन्। परीक्षण गरी हेर्दा ढाडमा चुम्बक अड्कियो। यसपछि उनी अस्पताल गएर चिकित्सकलाई भनिन्, ‘मेरो ढाडमा अपरेसनका बेला कुनै फलाम नफँसेको भए किन चुम्बक यसरी अड्केको हो त ?’

यसपछि भने डाक्टरहरु पनि गम्भीर हुन बाध्य भए। उनीहरुले गम्भीर किसिमको पड्ताल गर्दा ढाडमा फलामे वस्तु रहेको प्रमाणित भयो।

सेभ्गी भन्छिन्, ‘एउटा सानो सुई त्यहाँ अड्किएको पाइयो। यस्तो लापरवाहीका कारण मैले यत्रो दुःख भोग्नुप-यो।’

उनी यतिबेला कानुनी उपचार खोज्न लागिपरेकी छन्। यता चिकित्सकले भने आफूले कुनै गलत क्रियाकलाप नगरेको दाबी गरिरहेका छन्। अस्पतालबाट जारी विज्ञप्तिमा सो चिकित्सकले भनेका छन्, ‘उनी एक पटक मात्र हाम्रो अस्पतालमा आएर उपचार गरेकी हुन्। हामीले कुनै गलत अपरेसन गरेको छैन।’

Leave A Comment