७ अर्बको कालोधनमा नेपाली

सोमबार, २० साउन २०७६, ११ : २४ शुक्रवार
७ अर्बको कालोधनमा नेपाली

अष्ट्रेलियामा अधिकांश नेपालीको छवि मिहिनेती नै देखिन्छ। उच्च शिक्षाका लागि उता जानेहरु अधिकांशको लक्ष्य अष्ट्रेलियामै सेटल हुने हुन्छ। मिहिनेती बानीका कारण त्यत्ति गाह्रो पनि छैन, स्थायी बसोबासको अनुमति पाउन।

तर केही नेपालीले अवसरको देशलाई अपराधको ढाकछोपमा प्रयोग गर्दा नेपालीको छवि अष्ट्रेलियामा बिग्रदै जान थालेको छ। झैँझगडाका घटनामा नेपाली मुछिएको समाचारहरु बग्रेल्ती आइरहेकै बेला एउटा ठूलो आर्थिक अपराधमा नेपाली नागरिक जोडिएका छन्।

त्यो पनि सामान्य रकममा उनीहरु पक्राउ परेका हैनन्। करिब ७ अर्ब ६१ करोड नेपाली रुपैयाँ बराबरको आर्थिक अपराधमा जोडिए अष्ट्रेलिया पुगेका नेपाली।

अष्ट्रेलियन प्रहरीको क्रिमिनल ग्रुप स्क्वायडले सिड्नीबाट अवैध रुपमा आर्थिक कारोबार गरेको आरोपमा गगनदीप पवा, विपिन थापा, गोपाली दाहाल, नितिन कपिला र मनमिन्दर सिंहलाई दुई साताअघि पक्राउ गरेको छ। यीमध्ये दुई जना नेपाली नागरिक रहेको बताइएको छ।

केही नेपालीले अवसरको देशलाई अपराधको ढाकछोपमा प्रयोग गर्दा नेपालीको छवि अष्ट्रेलियामा बिग्रदै जान थालेको छ। झैँझगडाका घटनामा नेपाली मुछिएको समाचारहरु बग्रेल्ती आइरहेकै बेला एउटा ठूलो आर्थिक अपराधमा नेपाली नागरिक जोडिएका छन्।

उनीहरुले अष्ट्रेलियामा अवैध रुपमा १० करोड अष्ट्रेलियन डलर भित्र्याएको दाबी अष्ट्रेलियाली प्ररीको दाबी छ। सो रकम हुण्डीमार्फत अष्ट्रेलिया भित्रिएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।

अष्ट्रेलियाको द सन्डे मोर्निङ हेराल्डमा प्रकाशित समाचारअनुसार अवैध रुपमा पैसा भित्र्याउनेमा गगनदीप प्रमुख हुन्। उनी भारतीय नागरिक हुन्। विपिन र गोपाली साझेदार रहेको समाचारमा उल्लेख छ। गोपाली उनको प्रेमीमा रहेको बताइएको छ। अन्य सहयोगी हुन्।

विपिन थापा

हेराल्डका अनुसार गगनदीपले एस्योर सेक्युरिटी ग्रुप नामक सुरक्षा गार्डसम्बन्धी कम्पनी खोलेर अवैध रुपमा अष्ट्रेलियामा पैसा भित्र्याउने गरेका थिए। उनको बैंक अफ न्यु साउथ वेल्समा रहेको खातामा एकै पटक ४ लाख ४५ हजार अष्ट्रेलियन डलर आएपछि उनी एन्टी मनी लाउन्ड्रिङ हेर्ने सुरक्षा एजेन्सीको नजरमा परेका थिए।

निरन्तर निगरानीको क्रममा उनको खातामा पटक–पटक यसरी नै पैसा आइरहेको देखिएपछि निरन्तर निगरानीमा राख्दै मंगलबार छापा मारिएको थियो। प्रहरीले उनीहरुको कार्यालयमा छापा मार्दा चार लाख अष्ट्रेलियन डलर क्यास नै बरामद गरेको थियो।

सँगै कार्यालयमा पैसा गन्ने मेसिनसमेत फेला परेकाले उनीहरुले सुरक्षासम्बन्धी कम्पनीको नाममा मनी लाउन्ड्रिङको धन्दा चलाइरहेको सुरक्षा निकायको आशंका छ।

उनीहरुको कार्यालयबाट बरामद भएको कागजपत्रको आधारमा उनीहरुले चार वर्षको बीचमा १० करोड अष्ट्रेलियन डलर भित्र्याइसकेको खुलेको हेराल्डको समाचारमा उल्लेख छ।

नेपालमा अवैध रुपमा जम्मा पारेको रकम पछिल्लो समय विदेशमा रहेका अफन्तलाई पठाएर धुल्याउने गरिएको सम्पत्ति शुद्धीकरण विभागले आशंका गर्दै आएको छ।

अध्ययन भिसामा गएका, उतै स्थायी नागरिक भएर व्यवसाय गरेर बसेकाहरुलाई यताबाट पैसा पठाएर व्यवसायमा लगानी गराउने गरेको अनुसन्धानमा देखिए पनि कसले, कसलाई पैसा पठाइरहेका छन् भन्ने खुल्ने गरेको छैन।

हुण्डीमार्फत आतंकवादी संगठनहरुले आफ्नो स्रोत जुटाउने गरेको खुलेपछि पछिल्लो समय अवैध रकमको आदानप्रदानमाथि निगरानी बढाइएको थियो।

नेपालमा समेत कालो धन भित्रने गरेको खुलेपछि मनी लाउन्ड्रिङको निगरानी गर्ने अन्तर्राष्ट्रिय संगठनले पटक–पटक दबाब दिने गरेको छ। दबाबकै कारण नेपालमा समेत कडा कानुन बन्यो र विभागसमेत गठन भयो। विभाग गठनपछि पनि कालो धन नियन्त्रणमा प्रभावकारी काम भने हुन सकेको छैन।

कसको होला त्यो पैसा ?
अष्ट्रेलियामा रहेका नेपालीको साथबाट भेटिएको पैसाको स्रोत नेपाल हो या अन्य देशको, सो खुलेको छैन। हेराल्डको सामचार अनुसार, सो प्रकरणमा अन्य नेपाली पनि शंकाको घेरामा परेका छन्। उनीहरुमाथि निगरानी भइरहेको छ र पक्राउ पर्नेहरुको संख्या बढ्न सक्छ।

पक्राउ परेका नेपालीको नेपाल ठेगाना खुलिसकेको छैन। नेपालबाट अधिकांश नेपालीहरु अध्ययनका लागि जाने गर्छन्। स्थानीय एजेन्टलाई प्रभावमा पारेर भिषा लगाउने गरेको समेत केही घटनामा खुलेको थियो। नेपालमा रहेका स्थानीय एजेन्टले अष्ट्रेलियामा रहेका एजेन्टलाई हुण्डीबाट पैसा पठाउने गरेको केही घटनामा खुलेको थियो।

पक्राउ परेका अन्य अष्ट्रेलियन र भारतीय नागरिकसमेत रहेकाले सो रकमको स्रोत तत्काल खुल्न सकेको छैन।

Leave A Comment