आँखा चम्काउने विधि

बुधबार, २२ साउन २०७६, ११ : ०१ शुक्रवार
आँखा चम्काउने विधि

डा. डीबी सुनुवार, अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

आँखा जीवनको महत्वपूर्ण र संवेदनशील अंग हो। आँखालाई बचाउन तथा स्याहार गर्न अत्यावश्यक हुन्छ। आँखालाई स्वस्थ राख्नका लागि पोषणको जति आवश्यक हुन्छ, आँखाको व्यायामको त्यतिकै आवश्यक हुन्छ। त्यसैले यहाँ आँखाको व्यायामको बारेमा चर्चा गरौँ।

आँखाको व्यायाम गर्नाले आँखाको ज्योति सन्तुलित गर्न सकिन्छ। बिहान–बेलुकी आँखाको व्यायाम गर्नु उपयुक्त हुन्छ। आँखालाई तातो–चिसो दुवै किसिमको हावापानी आवश्यक हुन्छ। विशेषगरी सहरी क्षेत्रको वातावरणमा धुवाँधुलोमा विभिन्न किसिमका आँखालाई हानि गर्ने विशाक्त तत्व आँखामा पस्छन्। त्यसैले आँखा स्वस्थ तथा मजबुत राख्नका लागि सफा गर्नुपर्छ।
आँखा सफा गर्ने विविध किसिमका विधि हुन्छन्। प्राकृतिक विधि अपनाएर आँखा सफा गर्न सकिन्छ।

आँखा डुबाउने विधि
आँखा सफा गर्दा सानो भाँडामा तताएर सेलाएको पानी राखिन्छ। जुन भाँडालाई अकाइक्लिनिङ पट भनिन्छ। पट सानो कचौरा जस्तो हुन्छ। आँखामा फिट हुने किसिमको भाँडो हुन्छ। आँखामा सो पानीसहितको भाँडो राखिन्छ। त्यसपछि भाँडामा रहेको पानीमा आँखा डुबाएर झिमझिम गर्दै झिम्क्याइन्छ। पालोपालो दुवै आँखा करिब १/१ मिनेट झिम्क्याइन्छ। यसरी सानो भाँडामा रहेको पानीमा आँखा झिम्क्याउँदा आँखामा भएको कचेरा लगायतको फोहोर बाहिर निस्किएर आँखा सफा हुन्छ।

कलेजोमा भएको फोहोर आँखाको माध्यमबाट बाहिर निस्कन्छ। त्यसैले जन्डिस जस्तो समस्या भएको अवस्थामा पनि आँखामा त्यसको लक्षण देखिन्छ। आँखाको यस्तो व्यायाम तथा साफसफाइले आँखा दुख्ने, खरखराउने लगायतको समस्या समाधान हुन सहयोग पुग्छ।

यस्तो सानो पट नभएको अवस्थामा घरमै भएको बाटामा पानी राखेर पनि अनुहार डुबाएर आँखा सफा गर्न सकिन्छ।

स्टिम बाफ
त्यसैगरी फेसियल स्टिम पटले बाफ लिन सकिन्छ। इलेक्ट्रिबाट चल्ने फेसियल इलेक्ट्रि पट बजारमा किन्न पाइन्छ। यस्तो भाँडोमा पानी हालेर फेसियल स्टिम पटले आँखामा बाफ दिँदा आँखाबाट आँसु झर्ने भएकाले आँखाको फोहोर बाहिर निस्किन्छ। जसले आँखा हेर्न सहज हुन्छ। यी विधि आँखा सफाई गर्ने विधि (क्लिन्जिङ विधि) अन्तर्गत पर्छन्। त्यसैगरी आँखाको व्यायाम गर्ने अन्य विधि पनि छन्।

आँखा घुमाउने
आँखाको व्यायाम गर्दा शारीरिक व्यायाम (वाम अप) गरिन्छ। वाम अप गरेपछि शरीर तात्छ। शरीर तातेपछि बसेर, सुतेर वा उठेर आँखाको व्यायाम गर्न सकिन्छ। यसरी व्यायाम गर्दा आँखालाई दाँयाँ–बाँयाँ गोलो किसिमले चक्र लगाउँदै घुमाइन्छ। आँखाको नानी घुमाइन्छ। आँखा खुल्ला गरेर यसरी चारैतिर डुलाउँदा शरीर वा मुन्टो भने हल्लाउनु हुन्न। आँखा मात्रै घुमाउनु पर्छ। यस्तो व्यायाम दायाँदेखि बायाँतिर र बायाँदेखि दायाँतिर गर्दै करिब १०/१० पटक गर्नु उपयुक्त हुन्छ।

यसरी आँखा घुमाएर गरिने व्यायामले आँखाका  नसा चलायमान हुन्छन्। लचिलो हुन्छन्। जसले गर्दा आँखा फोकस आउट हुने जस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ। यसरी आँखा घुमाएर गरिने व्यायामले शिथिल भएको आँखा चारैतिर हेर्न सक्षम हुन्छ।

छड्के व्यायाम
त्यसैगरी आँखाको छड्के व्यायाम गरेर आँखा मजबुत बनाउन सकिन्छ। क्रस छड्के किसिमले आँखा तलमाथि हेर्न सकिन्छ। मुन्टो भने घुमाउन हुन्न। यसरी छड्के किसिमले व्यायाम गर्दा आँखा कमजोर हुनबाट बच्न सकिन्छ।

आँखाको व्यायाम गर्दा तलमाथि गर्दै पनि व्यायाम गर्न सकिन्छ। सिधै माथि आकाशतिर हेर्दै सिधै तल भुइँमा आँखा हेर्न सकिन्छ। त्यसैगरी दायाँ–बायाँ पनि हेर्न सकिन्छ। आँखाको यस्तो व्यायामले आँखा मजबुत हुनुका साथै आँखाको तेजिलोपनामा कमी हुन पाउँदैन।

आरामले सहजता
यसरी आँखाको व्यायाम गरिसकेपछि दुवै हात एक आपसमा रगटेर आँखा सेक्नुपर्छ। यसरी हात रगटेर आँखा सेक्दा व्यायामले सिथिल भएको आँखामा आनन्दपना आउँछ। व्यायामले तनाव तथा दबाबमा परेको आँखाको नसा सन्तुलित हुन सहयोग पुग्छ। आँखा हेर्न सहयोग पुग्छ।

आँखाका यी व्यायाम सामान्य लागे पनि आँखाका लागि  अत्यन्तै उपयोगी हुन्छन्। सामान्यतः १० वर्षभन्दा माथिका व्यक्तिले आँखाको यस्तो व्यायाम गर्नु उपयुक्त हुन्छ। योगा, ध्यानजस्ता व्यायाम गरेर पनि आँखा मजबुत बनाउन सकिन्छ।

दैनिक कामको तनावका कारण आँखा थकित भएका हुन्छन्। यस्तो अवस्थामा आँखाको व्यायाम गर्नु आवश्यक हुन्छ। आँखाको व्यायामले आँखा हेर्न सहज मात्रै हैन आँखाको समस्या हुनसमेत हुन दिँदैन। आँखाको व्यायामले माइग्रेन, टाउको दुख्नेजस्ता समस्याबाट बच्न सकिन्छ। मोबाइल तथा कम्प्युटर निरन्तर हेर्ने व्यक्तिले पनि यस्ता प्रविधिबाट आँखालाई बाहिर लैजानुपर्छ।

बाहिर हेर्दै काम गर्दै
कम्प्युटरमा काम गरिरहँदा आँखा सुख्खा हुने, आँखा पोल्ने जस्ता समस्या हुन्छन्। कम्प्युटर, मोबाइल, टिभीमा लामो समय काम गरिरहँदा कम्प्युटर भिजन सिन्ड्रोमजस्तो समस्या हुने जोखिम हुन्छ। एकोहोरो कम्प्युटरलगायतको प्रविधिमा हेरिरहँदा आँखा झिम्क्याउन बिर्सन्छ। त्यसैले आँखामा आँसु कम भई आँखा सुख्खा भएर हेर्न कठिन हुन्छ। त्यसैले कम्प्युटरलगायतको प्रविधिमा काम गरेको करिब २० मिनेटमा बाहिरी वातावरणमा हेर्नु उपयुक्त हुन्छ।

आँखाको व्यायामले मात्रै आँखा मजबुत हुँदैन। वयस्क व्यक्तिले दैनिक चार/पाँच लिटर पानी पिउनु उचित हुन्छ। प्रत्येक घण्टा पानीको चुस्किलिनाले आँखा मात्रै हैन सिंगो शरीरलाइ नै फाइदा हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का
 

 

Leave A Comment