विवाह दर्ता नभए पनि सम्बन्ध विच्छेद सम्भव

बुधबार, २९ साउन २०७६, ०२ : ५८ स्वीकृति बराल
विवाह दर्ता नभए पनि सम्बन्ध विच्छेद सम्भव

हामी श्रीमान्श्रीमतीको विवाह दर्ता भएको छैन तर छोराछोरी जन्मिसकेका छन्। मेरो नागरिकतामा पनि श्रीमान्को नाम छैन। मैले श्रीमान्सँग सम्बन्धविच्छेद गर्न मिल्छ कि मिल्दैन ?
–जि एस


सम्बन्धविच्छेदको अर्थ कुनै पुरुष र महिलाबीच भएको वैवाहिक सम्बन्ध टुट्नु हो। पति र पत्नीबीच आपसी प्रेम र सद्भाव नभए वा पतिपत्नीले एक अर्कालाई सहयोग र संरक्षण नगरे वा पतिपत्नीले एक अर्कालाई इज्जत र क्षमताअनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था नगरे वा अन्य कुनै किसिमको मनमुटाव भए पतिपत्नीलाई एक अर्काबाट छुट्कारा दिलाउनका लागि सम्बन्धविच्छेद सम्बन्धी व्यवस्था मुलुकी देवानी (संहिता) ऐन २०७४ मा गरिएको छ।

यस ऐनको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेद सम्बन्धी व्यवस्था गरिएको छ। सम्बन्धविच्छेद विवाह गरेपश्चात् श्रीमान्श्रीमती सँगै बस्न नसक्ने अवस्थामा अदालतले दिने कानुनी उपचार हो।

सम्बन्ध त्यही व्यक्तिसँग टुट्छ जोसँग सम्बन्ध जोडिएको हुन्छ। त्यसैले सम्बन्ध तोड्नका लागि सम्बन्ध साँच्चिकै जोडिएको हो वा हैन पत्ता लगाउनु जरुरी हुन्छ र सो पत्ता लगाउने आधार भनेकै विवाह भएको प्रमाण हो।

कानुनले जो सुकैलाई पनि प्रमाणको आधारमा मात्र पतिपत्नी हो वा हैन विश्वास गर्छ। माथिको प्रश्नमा विवाह दर्ता नगरेको कुरा बताइएको छ। विवाह दर्ता भएको भए राम्रो हुन्थ्यो तर विवाह दर्ता नगरेकै कारण र नागरिकतामा श्रीमान्को नाम नभएको कारण सम्बन्धविच्छेद गर्न नमिल्ने अवस्था आउँदैन।

विवाह गरेको प्रमाणित हुने कागज भनेको विवाह दर्ता मात्र हैन। अन्य प्रमाणहरु खोज्न जरुरी हुन्छ। जस्तै माथिको प्रश्नमा  प्रश्नमा छोराछोरी पनि छन् भनिएको छ। छोरा र छोरी जन्मँदा अस्पतालले दिएको बर्थ सर्टिफिकेटमा पक्कै पनि बुबाको नाम लेखिएको होला। त्यो पनि प्रमाण हो। विवाहका फोटोहरु होलान्, ती फोटोहरु पनि प्रमाण हुन् विवाहको। यी केही पनि छैनन् भने पनि छोराछोरीको डि.एन.ए. परीक्षण गराउँदा पनि बुबा र छोराछोरीको नाता प्रमाणित हुन्छ।

मुलुकी देवानी संहिता, २०७४ को भाग ३ को विवाहसम्बन्धी व्यवस्थाको दफा ६७ अनुसार कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पतिपत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिने कुरा लेखिएको छ। उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट भन्ने शब्द राख्नुले ने प्रमाणको महत्व दर्शाउँछ।

सोही परिच्छेदको दफा ६९ को उपदफा २ अनुसार विवाह जुनसुकै किसिमबाट भएको भए तापनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनुपर्ने कुरा स्पष्ट रुपमा उल्लेख गरेको छ। विवाह दर्ता छैन भने पक्कै पनि बच्चाहरुको जन्मदर्ता पनि  छैन होला। अझै पनि सम्भव छ भने विवाह दर्ता गराएर छिट्टै जन्मदर्ता गराउन सकिन्छ। यो काम बाबुआमा बच्चाको अधिकारका लागि आवश्यक देखिन्छ तर विवाह दर्ता नै नभएकै कारणले मात्र सम्बन्धविच्छेद नहुने हैन।

Leave A Comment