कृत्रिम जिब्रोबाट रक्सीको स्वाद

शनिबार, ३२ साउन २०७६, ११ : ५४ शुक्रवार
कृत्रिम जिब्रोबाट रक्सीको स्वाद

धेरै कुरा कृत्रिम हुन सक्छन् तर जिब्रो ? कमन यार ! यस्तो पनि हुनसक्छ ? तर बेलायतमा यस्तै भइरहेको छ। गएको मंगलबार वैज्ञानिकहरुले कृत्रिम ‘जिब्रो’ सार्वजनिक गरेका छन्। यो जिब्रोको खासियत के छ भने यसले रक्सीको स्वाद परख गर्न सक्छ।

ग्लास्गो विश्वविद्यालयका विशेषज्ञहरुले निर्माण गरेको यो कृत्रिमले ९९ प्रतिशत रक्सीको स्वाद छुट्याइदिन्छ। खासगरी कति वर्ष पुरानो रक्सी हो भन्नेमा यसको विशेषज्ञता रहने बताइएको छ।

‘यो कृत्रिम जिब्रोले १२, १५ र १८ वर्ष पुरानो ह्विस्कीलाई स्पष्ट रुपमा छुट्याइदिन्छ,’ प्रविधिमा काम गरिरहेका एलेस्डियर क्लार्कले भने, ‘यसलाई स्तर निर्धारकका रुपमा मात्र प्रयोग गर्न मिल्छ। खासगरी अति महँगा नक्कली रक्सी नियन्त्रण गर्नका लागि यो उपयोगी हुनेमा हामी विश्वस्त छौँ।’

‘हामीले यसलाई कृत्रिम जिब्रो भनी नामकरण गरेका छौँ किनभने यसले मानव जिब्रोले जस्तै काम गर्छ,’ ग्लास्गो विश्वविद्यालयस्थित स्कुल अफ इन्जिनियरिङका क्लार्कले भने, ‘हामीले स्याउको जुस, कफीको स्वाद र अन्य विभिन्न रसायनयुक्त पेयको बेग्लाबेग्लै स्वाद पत्ता लगाएर जसरी यो फलानो हो भनेर छुट्याउन सक्छौँ, यो मेसिनले पनि तिनको स्वाद पत्ता लगाउन सक्छ।’

यसको परीक्षण कसरी हुन्छ त ? क्लार्कका अनुसार, चेकबोर्डको एउटा प्याटर्नमा राखिने सुन र अल्मुनियमका साना टुक्राले जिब्रोको भूमिका निभाउँछन्। यिनले ती रक्सीको स्वाद लिन्छन् र तिनलाई संकेतमार्फत् कुन गुण र स्वाद अनि स्तरको रक्सीको भनी बताउँछन्।

खान्की सुरक्षा, स्तर नियन्त्रण, स्वास्थ्य सुरक्षा आदिका लागि यस किसिमको परीक्षण उपयोगी हुने क्लार्क बताउँछन्। ‘यो जहाँ पनि बोकेर हिँड्न मिल्छ, यसलाई बारम्बार प्रयोग गर्न मिल्छ,’ क्लार्कको भनाइ छ, ‘त्यसैले भविष्यमा यो एउटा सम्भावनायुक्त कृत्रिम जिब्रो बन्न सक्छ।’

गएको वर्ष बजारमा किनिएका ५५ वटा दुर्लभ किसिमका स्कचहरु परीक्षण गर्दा तीमध्ये २१ वटा नक्कली रहेको कुरा यही कृत्रिम जिब्रोले पत्ता लगाएको थियो। ती नक्कली स्कचलाई बजारमा ६ लाख ३५ हजार पाउन्डमा किनिएको थियो।

ह्विस्की विशेषज्ञ समाजकी निर्देशक एनाबेल मेइकलले खुसी व्यक्त गर्दै भनिन्, ‘वास्तवमा यस किसिमको प्रविधिले यो उद्योगलाई ठूलो गुन लगाउन सक्छ। हामीले नक्कली रक्सीलाई बजारबाटै निकाल्नुपर्ने आवश्यकता छ।’

व्यक्तिले नै चाखेर जाँच्ने प्रविधि झञ्झटिलो र विभिन्न पटकमा गर्नुपर्ने हुन्छ तर यस किसिमको कृत्रिम जिब्रोले भने एउटै राउन्डमा यो कार्य गर्न सक्ने भएकाले समयको वचतमा यसले ठूलो भूमिका खेल्ने मेइकलले बताइन्।

Leave A Comment