मृगौलाको समस्या हो कि भन्या त तिम्ल्या पो !

शनिबार, ०७ भदौ २०७६, १० : ५९ शुक्रवार
मृगौलाको समस्या हो कि भन्या त तिम्ल्या पो !

अमेरिकाको साउथ डकोटाकी एउटी महिला तल्लो पेट दुखेर हैरान भइरहेकी थिइन्। उनलाई लाग्यो, पक्कै मृगौलाको समस्याले दुःख दिन थाल्यो। तसर्थ, जँचाउन अस्पताल पुगेकी थिइन्, डाक्टरले उनलाई भने, ‘बधाई छ, तपाईं तीन सन्तानकी आमा बन्न लाग्नु भएको छ।’

डनेट गिल्जलाई गएको साता तल्लो पेट दुखेर अस्पताल गएकी थिइन्। चिकित्सकहरुले पनि उनको दुखाईको अवस्था देखेर अरु नै गडबडीको आशंका गरेका थिए।

तर जब गहन जाँच शुरु भयो, चिकित्सकहरु नै छक्क परे। पहिल्यै दुई सन्तानकी आमा बनिसकेकी डनेटको पेटमा तीन सन्तान अझै संसार हेर्न तयार भएर बसेको पत्ता लागेको थियो। यससँगै डनेटको मृगौलाको आशंकालाई चिकित्सकहरुले सरासर खारेज गरिदिएका थिए।

‘म त मृगौलामा स्टोन बस्यो र दुख्यो कि भनेर सोचिरहेकी थिएँ,’ डनेटले भनिन्, ‘म आफू ३४ साताको गर्भिणी हुँ भन्ने नै बिर्सिसकेकी रहेछु।’

समस्या के भएछ भने पहिला चिकित्सकले यो दम्पतिलाई जम्ल्याहा हुने सम्भावना भएको बताएका रहेछन्। त्यसअनुसार उनीहरुले जम्ल्याहाको नाउँ सोचेर राखेका रहेछन्। तर जब तेस्रो सन्तान पनि हुने भनेर बताए, यो जोडीलाई आपत प-यो ! ‘हामीले दुई बच्चाको नाउँ मात्र सोचेका थियौँ, तेस्रो पनि थपिने भएपछि के नाम राख्ने होला भनेर आपत नै प-यो !’ डनेटले थपिन्।

पछि यिनका तीन सन्तान जन्मिए, जसमध्ये दुई छोरी र एक छोरा रहेका छन्। जिप्सी, निक्की र ब्लेज राखिएको बताइएको छ। हरेक चार मिनेटको अन्तरालमा उनीहरु यो संसारमा पदार्पण गरेका र हरेकको तौल चार पाउन्ड रहेको बताइएको छ।

‘यत्रा बड्का सन्तान बोकेर हिँडेको पत्तै पाएनछु र मलाई केही पो भएछ कि भन्ने सोचेर डराइरहेकी रहेछु,’ उनले भनिन्।

बिना सर्जरी नै सन्तान जन्मिएकामा पनि उनलाई आश्चर्य लागेको बताएकी छन्। यस्तो घटना दुर्लभै हुने गरेको भन्दै अस्पतालले समेत हो मा हो मिलाएको छ।

Leave A Comment