गाडी माग्ने सांसद

शुक्रबार, १३ भदौ २०७६, १२ : ३६ शुक्रवार
गाडी माग्ने सांसद

समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले सांसदले गाडी सुविधा पाउनुपर्ने माग गरिछन्। प्रतिनिधिसभा बैठकमा सांसद गुरुङले सांसदलाई मन्त्रिसरहको गाडी सुविधा दिनुपर्ने माग गरिन्।

संघीय सांसद उच्चस्तरको जनप्रतिनिधि भएको बुझाउँदै उनले संसद् र समितिको बैठक मात्रै हैन, आफ्नो कार्यक्षेत्रको जनसरोकारको सेवामा मन्त्रीसरह रात दिन खट्नुपर्ने बाध्यता समेत पोखिन्।

सांसद सरकारको मर्यादाक्रममा आठौँ स्थानमा छन्। तर हैसियत भने गाउँपालिका अध्यक्ष जत्तिको पनि छैन। गाडीको सुविधा नपाउँदा र सार्वजनिक सवारीमा अनेकन् हण्डर र टेम्पोमा झुण्डिएर यात्रा गर्नु परेकोमा दुःखसमेत व्यक्त गरिन्। त्यति मात्र होइन, देशको सांसदको सुरक्षाको कुरा पनि छ।

उनको माग आफ्नो ठाउँमा जायज भए पनि एउटा रमाइलो पनि छ। काठमाडौँमा त सवारी पाइन्छ तर कतिपय संसदीय क्षेत्रमा गाडीसमेत नजाने ठाउँ छन्। यस्तो अवस्थामा गाडी नहुनेलाई सवारीका लागि हेलिकप्टर पनि व्यवस्था गर्नुपर्ने हुनसक्छ। सुगमका सांसदलाई गाडी र दुर्गमका सांसदलाई हेलिकप्टर माग गर्दा कसो होला ?

गाउँमा एम्बुलेन्स नपाएर कति बिरामी आज पनि डोको र डोलीको भरमा स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता छ। हेलिकप्टर पाउने सांसदले ती रोगीको सेवा गर्न पनि पाउने, चाहिएको बेला प्रचार र विविध कार्यमा प्रयोग गर्न पनि पाइने, कति जाती ! उद्देश्य नै लिएपछि गाडीमा किन अड्किने ? हेलिकप्टर र प्लेनकै माग गरौँ न ! कि कसो ?

Leave A Comment