गोडा सफाचट् नपारेकामा धम्की

शनिबार, १४ भदौ २०७६, १२ : १७ शुक्रवार
गोडा सफाचट् नपारेकामा धम्की

तपाईंले सोचेजस्तै जागिर त पाउनु भएको छ तर गोडाको रौँ सफाचट् नभएको भन्दै जागिरै खाइदिने धम्की पाउनु भयो भने कस्तो लाग्छ ? हालै बेलायतमा यस्तै घटना घटेको छ।

हालै रेडिट वेबसाइटमा यस्तै गुनासो गर्दै एक २१ वर्षीया युवतीले भनेकी छन्, ‘हामी २१ औँ शताब्दीमा त छौँ तर पनि जो जस्तो छ, त्यही रुपमा स्वीकार्न भने तयार छैनौँ।’

उनको बोसले उनको जिउमा आएका रौँका बारेमा हरेक दिन टिप्पणी गरेकाले आफू दिक्क भएर यो पोस्ट गर्नु परेको जनाएकी छन्।

‘हरेक पटक जब मेरो बोसले मेरो जिउतिर हेर्दै, ‘तिमी राम्री त छ्यौ तर अनावश्यक रौँ के पालेर बसेकी ? किन काट्दिनौ ?’ भन्ने गरेकाले मलाई बडो अप्ठेरो महसुस हुने गरेको छ,’ उनले रेडिटमा लेखेकी छन्।
रौँ लुकाउने मामिलामा आफूलाई झ्याउ लाग्ने र रौँ काट्न दिनुपर्ने समय अरु नै सिर्जनात्मक कार्यमा लगाउनुपर्ने भएकाले यसमा आफ्नो ध्यान नपुगेको भनी उनले लेखेकी छन्।

‘यो बेग्लै कुरा हो, मेरो शरीरभरि रौँ छ, जहाँ पनि आउँछ। हुँदाहुँदा जहाँ रौँ नहुनुपर्ने हो, त्यहाँ पनि उम्रने गर्छ। अब यस्तो अवस्थामा मैले कहाँ कहाँको मात्र रौँ उखेलेर फ्याँक्नु ?’ उनले आफ्नो बाध्यता सुनाउँदै लेखेकी छन्।

‘मैले मेरो गोडाको रौँ फ्यालेर मात्र हुँदैन, अन्यत्रको पनि फ्याल्नु प-यो,’ उनले लेखेकी छन्, ‘ती सबै काम गर्न मलाई फुर्सद र जाँगर दुवै छैन। हामी यदि समय नै पैसा हो भन्छौँ भने यस्तो महँगो पैसा किन रौँ जस्तो साना कुराका लागि त्याग्ने ?’

यता उनको अफिसको मालिकको समस्या के छ भने, उनी कुनै इभेन्ट म्यानेज्मेन्ट कम्पनीकी सक्रिय कामदार हुन्। हरेक दिन कसै न कसैलाई भेट्नुपर्छ र जतिले भेटे, सबैले ती महिलाबारे मालिकलाई त्यही रौँको कुरा सुनाएर हैरान पारे। यस्तो बेलामा उनलाई रौँ काट भनेर सुझाव नदिने कुरा पनि भएन।

तर उनले मानिनन्। उनले मालिकलाई भनिछन्, ‘तपाईंले मेरो क्षमता हेरेर जागिर दिनु भएको हो कि मेरो रौँ छ कि छैन भनेर जागिर दिनुभएको ?’

उनीसँग काम गर्नेहरुले पनि धेरै रौँ हुनु स्वास्थ्यका दृष्टिकोणले उति सुरक्षित नहुने भनी टिप्पणी गरिदिए।
तर उनले बोसलाई प्रश्न गरिन्, ‘गोडाका रौँ र स्वास्थ्यबीच के सम्बन्ध छ ? रौँ बढी भएका मानिस अस्वस्थ हुन्छन् कि, उनीहरुसँग प्राणघातक रोग सार्ने क्षमता हुन्छ कि ? के भन्न खोजेको हो मैले बुझिनँ।’
उनले यो टिप्पणी लेखेपछि भाइरल बन्न पुगेको थियो।

Leave A Comment